पहिलो महिला प्रधानमन्त्री पाउँदै जापान, पाँच उम्मेदवारमध्ये आइरन लेडी साने ताकेची सबैभन्दा बलियो

पहिलो महिला प्रधानमन्त्री पाउँदै जापान, पाँच उम्मेदवारमध्ये आइरन लेडी साने ताकेची सबैभन्दा बलियो

एजेन्सी : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले गत सेप्टेम्बर ७, २०२५ मा पदबाट राजीनामा दिएपछि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)भित्र नयाँ नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा शुरू भएको छ।

भोलि हुने पार्टी अध्यक्षको चुनावले जापानको भावी प्रधानमन्त्रीको टुंगो लगाउनेछ, किनकि जापानमा बहुमत प्राप्त दलको अध्यक्ष नै प्रधानमन्त्री बन्ने परम्परा छ।

यो दौडमा पाँच उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा पूर्व आर्थिक सुरक्षामन्त्री सानाए ताइची र कृषिमन्त्री शिन्जिरो कोइजुमीबीच देखिएको छ।

यदि ताइचीले चुनाव जितेमा उनी जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् भने कोइजुमी विजयी भएमा देशको सबैभन्दा युवा (४५ वर्ष) प्रधानमन्त्रीको कीर्तिमान बनाउनेछन्।

प्रतिस्पर्धामा को अगाडि?
आइतबार सार्वजनिक क्योडो न्युजको सर्वेक्षणअनुसार, ३४.४ प्रतिशत समर्थनका साथ सानाए ताइची सबैभन्दा अगाडि छिन्। उनलाई २९.३ प्रतिशत समर्थनसहित शिन्जिरो कोइजुमीले पछ्याइरहेका छन्।

इशिबाको उत्तराधिकारी बन्न पाँच दाबेदार
१. सानाए ताइची: एलडीपीकी दक्षिणपन्थी कन्जरभेटिभ नेतृ र पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट मानिन्छिन्। उनी संविधान संशोधन र राष्ट्रिय सुरक्षाका मुद्दामा प्रखर छिन्। सन् २०२४ को चुनावमा दोस्रो स्थानमा आएकी ताइची पहिलो महिला प्रधानमन्त्री बन्ने बलियो दाबेदार हुन्।

२. शिन्जिरो कोइजुमी: पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा, युवा र मिडिया-मैत्री नेता हुन्। उनी समलिङ्गी विवाह र लैङ्गिक समानता जस्ता विषयमा उदार मानिन्छन्। सन् २०२४ को चुनावमा तेस्रो स्थानमा रहेका उनी विजयी भएमा सबैभन्दा युवा प्रधानमन्त्री बन्नेछन्।

३. योशिमासा हयाशी: विभिन्न क्याबिनेट पदमा काम गरेको अनुभव छ। उनको मुख्य एजेन्डा पार्टी एकता र आर्थिक स्थिरता हो।

४. तोशिमित्सु मोटेगी: अर्थव्यवस्था र व्यापार विशेषज्ञ मानिन्छन्। उनले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) सुधारको जी४ प्रयासमा समर्थन गरेका छन्।

५. ताकायुकी कोबायाशी: हार्वर्डबाट स्नातक गरेका र अर्थ मन्त्रालयमा काम गरेको अनुभव भएका नेता हुन्। उनले क्वाड फ्रेमवर्कमा भारतलाई महत्त्वपूर्ण मान्छन्।

प्रधानमन्त्री इशिबाले किन दिए राजीनामा?
सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेका शिगेरु इशिबा पार्टीमा ‘आउटसाइडर’ मानिन्थे। उनले मूल्यवृद्धि र आर्थिक समस्या समाधान गर्ने वाचा गरे पनि उनको कार्यकाल चुनौतीपूर्ण रह्यो।

अक्टोबर २०२४ को तल्लो सदन र जुलाई २०२५ को माथिल्लो सदनको चुनावमा एलडीपी कोमेइतो गठबन्धनले बहुमत गुमायो। सन् १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएको थियो।

चुनावी हारपछि पार्टीभित्रैबाट उनीमाथि राजीनामाको दबाब बढ्यो। इशिबा 'धेरै उदार' भएको र पार्टीलाई कन्जरभेटिभ नेता चाहिएको भन्दै आलोचना भयो। अन्ततः ‘पार्टीमा विभाजन चाहन्नँ, अब नयाँ पुस्तालाई मौका दिन्छु’भन्दै उनले राजीनामा दिए।

शिन्जो आबेको पार्टी किन कमजोर हुँदैछ?
जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका शिन्जो आबेको सन् २०२२ मा हत्या भएपछि एलडीपी कमजोर हुँदै गएको छ।

फन्डिङ स्क्यान्डल (२०२३-२४): पार्टीका गुटहरूले चन्दाबाट उठेको लाखौं येन गोप्य खातामा राखेको खुलासा भयो। यसमा ८२ सांसद मुछिएपछि जनताको विश्वास गुम्यो।

चुनावी असफलता: मूल्यवृद्धि, चामलको मूल्य र कमजोर मुद्राबाट मतदाताहरू निराश छन्, जसको असर चुनावमा देखियो।

आन्तरिक कलह: आबेपछि पार्टीभित्र कन्जरभेटिभ र सुधारवादी गुटबीच झगडा बढेको छ। यही कारणले एलडीपी पहिलो पटक अल्पमतको सरकार चलाइरहेको छ र विपक्ष बलियो बन्दै गएको छ।

असोज १७, २०८२ शुक्रबार ०८:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।