पहिरो र वर्षाले कोशी र बागमतीका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात ठप्प

पहिरो र वर्षाले कोशी र बागमतीका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात ठप्प
फाइल तस्बिर

काठमाडौं : देशका विभिन्न स्थानमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरूका विभिन्न खण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज बिहान ७ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा ठप्प भएको छ।

प्रहरीका अनुसार, कोशी प्रदेशको संखुवासभामा अविरल वर्षाका कारण कोशी राजमार्गका दुई स्थानमा यातायात अवरुद्ध भएको छ।

भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका-३, एकुवामा राजमार्ग पूर्ण रूपमा बन्द छ, जसका कारण त्यस क्षेत्रका बासिन्दाहरूलाई आवतजावतमा कठिनाइ भएको छ।

यस्तै, बागमती प्रदेशका दुई जिल्लामा बाढी र पहिरोले राजमार्गमा क्षति पुर्याएको छ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका-२ मा बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुल अवरुद्ध भएको छ।

सोही वडामा पहिरो खस्दा पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। यसले चीनसँगको व्यापारिक नाकासँगको सम्पर्क विच्छेद भएको छ।

सिन्धुपाल्चोक जिल्लाको भोटकोशी गाउँपालिका-४, चारकिलोमा पहिरो खसेका कारण अरनिको राजमार्गमा यातायात पूर्ण रूपमा रोकिएको छ।

मुख्य राजमार्गहरू अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावतका साथै अत्यावश्यक सामग्री ढुवानीमा समेत गम्भीर असर परेको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सबैलाई अनुरोध गरेको छ।

असोज १७, २०८२ शुक्रबार ०८:०६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।