बेलायतको म्यानचेस्टरमा आतंकवादी हमला, सिनेगग नजिक दुई जनाको हत्या

बेलायतको म्यानचेस्टरमा आतंकवादी हमला, सिनेगग नजिक दुई जनाको हत्या

लन्डन : बेलायतको म्यानचेस्टर शहरमा रहेको एक सिनेगग (यहुदी प्रार्थना स्थल) नजिक कारले ठक्कर दिएर र चक्कु प्रहार गरी दुई जनाको हत्या गरिएको छ।

प्रधानमन्त्री किएर स्टार्मरले यस घटनालाई ‘आतंकवादी हमला’को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेका छन्।

यो आक्रमण यहुदी क्यालेन्डरको सबैभन्दा पवित्र दिन मानिने ‘योम किप्पुर’को दिन भएको हो, जसले घटनाको गम्भीरतालाई थप बढाएको छ।

बिहीबार साँझ एक सम्बोधनमा प्रधानमन्त्री स्टार्मरले भने, ‘यो यहुदीहरूमाथि भएको एक घिनलाग्दो आतंकवादी हमला थियो। उनीहरू यहुदी भएकै कारण निशाना बनाइयो। यहुदी-विरोधी भावना एक यस्तो घृणा हो, जुन फेरि एकपटक बढिरहेको छ।’

उनले बेलायतले फेरि एकपटक यहुदी-विरोधी भावनालाई परास्त गर्नुपर्नेमा जोड दिए। आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले यहुदी समुदायलाई सुरक्षाको प्रत्याभूति दिँदै एक वाचा पनि गरे।

उनले भने, ‘म देशका सबै यहुदीहरूलाई वाचा गर्दछु कि म तपाईंहरू सबैलाई त्यो सुरक्षा दिन हरसम्भव प्रयास गर्नेछु, जसको तपाईंहरू हकदार हुनुहुन्छ।’

घटनाको जानकारी पाउनेबित्तिकै प्रधानमन्त्री स्टार्मर डेनमार्कको राजधानी कोपेनहेगनमा जारी नेताहरूको शिखर सम्मेलन बीचमै छोडेर बेलायत फर्किएका थिए।

असोज १७, २०८२ शुक्रबार ०७:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।