मनसुन सक्रिय : आज दिउँसो र राती देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायु र स्थानीय वायुको दोहोरो प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
विभागले आज दिउँसो र राती देशका विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भू-भाग तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, लुम्बिनी प्रदेशको तराई क्षेत्र, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ।
आज राती पनि देशभरको मौसममा बदली कायमै रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले रातीको समयमा कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभावका कारण मौसम अस्थिर बनेको हो।
भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
असोज १७, २०८२ शुक्रबार ०७:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।