शहीद परिवार : छोरो राष्ट्रको भइगयो

शहीद परिवार : छोरो राष्ट्रको भइगयो

काठमाडौं : पशुपतिको किरियाघरको कोठा नम्बर ६ मा सेतो कपडा बेरिएर टोलाइरहेका मणिपाल बुढाको दिमागमा छोराले ‘सिमेन्टको घर’ भनेको शब्द गुन्जिरहन्छ । छोराले भनिरहन्थे, ‘सधैँ यस्तै घरमा नबस्ने बा ! मेरो सपना पूरा भएपछि सिमेन्टको घर बनाएर बस्नुपर्छ ।’

भिजेका आँखा पुछ्दै किरियाघरको भित्ता हेर्दै उनले भने, ‘त्यसले भनेको सिमेन्टको घर त यो किरियाघर पो रहेछ ।’ उनको आवाज रोकियो । बोल्न सकेनन् ।

उनलाई सान्त्वना दिन आउनेहरू छोराको फोटो हेरेर ‘कस्तो हेन्डसम मान्छे मर्यो बिचरा’ भन्दा उनलाई भइरहेको मनको औडाहा लुकाउन सकेका थिएनन् । उनी ओजन बुढालाई सम्झिरहेका थिए ।

भदौ २३ र २४ गते काठमाडौंको नयाँ बानेश्वरमा ‘जेन-जी’ पुस्ताको आन्दोलन भयो । सधैँ परिवारसँग कुरा गरिरहने माहिलो सन्तान ओजन त्यही दिन परिवारको सम्पर्कमा आएनन् । यता सामाजिक सञ्जालमा बानेश्वरको आन्दोलनमा मृत्यु भएकाहरूको संख्या बढेको बढ्यै थियो ।

परिवारको मनमा चिसो पस्यो । सोमबारको आन्दोलन मंगलबार झन् हिंसात्मक भयो । आन्दोलनको प्रभावले प्रधानमन्त्रीले राजीनामा दिएर भागे । काठमाडौंमा नयाँ सरकारको नेतृत्वको खोजी शुरू भइसकेको थियो । उता उनी, २७ गते शुक्रबार बिहानसम्म आफ्नो छोरा खोज्दै थिए । कहिले मिडिया हेर्थे, कहिले फेसबुकमा खोज्थे ।

शुक्रबार साँझ बी एन्ड बी अस्पतालले आफ्नो फेसबुक पेजमा ‘अस्पताल आउने बेलामा हल्का बोलिरहेको, बचाउने हरकोशिस गर्दा पनि बचाउन नसकेको’ भन्दै परिवारलाई सम्पर्कमा आउन आग्रह गर्दै एक तस्बिर राख्यो । उनी बेखबर थिए । गाउँलेमार्फत त्यो खबर बाजुराको गाउँमा पुगिहाल्यो ।

के गर्ने, के नगर्ने? उनी जिल्ल परे । उनले केही सोच्नै सकेनन् । उनी जेठो छोरा र श्रीमती लिएर गाउँपालिकाका अध्यक्षलाई भेट्न गए । उता पनि कर्फ्यु थियो । कतै हिँड्दै त कतै गाडी चढ्दै उनी बल्लतल्ल सुर्खेत झरे ।

धन्न प्लेनको टिकट पाए अनि सुर्खेतबाट सीधै काठमाडौंको विमानस्थलमा झरे । सुनेको समाचार सत्य नहोस् भनेर भगवान् पुकार्दै अस्पतालको शवगृहमा गएर जब अनुहार हेरे, उनको शरीर गल्यो ।

‘आमा, तपाईंलाई पनि काठमाडौं घुमाउँछु भन्थ्यो । म पहिलो पटक काठमाडौं त आएँ, तर उसलाई जिउँदो देख्न पाइनँ’, पहिलो पटक काठमाडौं आएकी उनकी आमा चौपता बुढाले भनिन् ।

विदेश जाने सपना

सोमबारबाटै उनी परिवारको सम्पर्कमा नभए पनि ‘आन्दोलनमा गयो होला’ भन्ने उनीहरूले सोच्दै सोचेनन् । उनलाई लागेछ, ‘मोबाइल हरायो कि क्या हो !’ तर मोबाइल होइन, उनको जीवन नै हराइसकेको थियो ।

‘हामीले त त्यसको मोबाइल हराइगयो होला, भेटिहाल्छ भन्ने सोचेका थियौँ । तर मरिगयो,’ ओजनका दाइ कपुर बुढा भन्छन्, ‘चार दिनपछि बी एन्ड बी अस्पतालले पोस्ट हान्यो । हामी सबै त्यहाँ जाँदा लास मात्र भेट्यौँ । आन्दोलनमा पुर्याउने र अस्पतालमा पुर्याउने को थियो भन्ने थाहै छैन ।’

कपुरका अनुसार ओजन काठमाडौंमा बसेदेखि आफूसँग भन्दा बढी आमाबाबुसँग र कान्छो भाइसँग फोनमा कुरा गर्थे । दुई वर्षदेखि दशैंमा ओजन घर पनि आएका थिएनन् । रोजगारीका लागि पहिला खाडीमा जाने अनि पछि ठूलाे देश जाने भन्थे ।

विदेश जाने कुरामा ओजनको घरमा मनमुटाव पनि भएको रहेछ । उनले दुबई जाने इच्छा राखे पनि मणिपालले भने १६ कक्षा (स्नातक) सकाएपछि कोरिया जान सुझाव दिएका रहेछन् ।

‘विदेश जान एक लाख ७० हजार चाहियो भन्थ्यो । पहिला एक देश गएर अर्को देश जाने भन्थ्यो । मलाई चिन्ता भयो । जाने भए जापान वा कोरिया जा भनेको हुँ,’ मणिपाल भन्छन्, ‘अहिले त्यस्तो सपना किन देख्ने? भनेर मसँग रुष्ट भयो । एक लाख मात्र भए पनि दिनु भनेको हो उसले । आमाबाबुले जन्माउन सक्ने, पाल्न सक्ने, पैसा खर्च गर्न नसक्ने? भनेको हो ।’

पछि उनले थाहा पाएअनुसार म्यानपावर कम्पनीहरूले पनि घरमा फोन गरेका रहेछन् । विदेश जाने भनेर ओजनले मेडिकल टेस्ट पनि गरिसकेका रहेछन् । तर कहिले, कहाँ, कसरी जाँदै थिए भन्ने परिवारलाई थाहा छैन ।

‘त्यसपछि कति फोन हानेको हान्यै गरेको, उठाएको होइन । कान्छो भाइसँग कुरा गरेको रहेछ । मसँग बोल्दै बोलेन । आन्दोलन हुनुभन्दा केही दिनअघि मात्र फोन हानेको हान्यै । किन गर्नुपऱ्यो भनेर कराएर फोन गरेको थियो,’ उनले गला अवरुद्ध पार्दै भने, ‘मैले दशैंमा घर आइज अनि कुरा गरौँला भनेको पनि हुँ । तर अब आउँदिनँ कहिल्यै पनि भन्थ्यो । त्यसपछि त फोन पनि स्विच अफ भइहाल्यो । आखिर भयो पनि त्यस्तै, कहिल्यै आएन।’

अरूको घरमा बाल्यकाल बित्यो

बाजुरा जिल्लाको स्वामिकार्तिक-खापर गाउँपालिकाको कर्णालीपारि मणिपालको परिवार बसोबास गर्छ । उनका चार भाइ छोरामध्ये साइँलो सानैमा बितेका रहेछन् । गरिबीका कारणले ओजनलाई उनले तीन कक्षापछि कोल्टी विमानस्थल नजिकै अरूको घरमा काम गरेर पढ्न राखिदिए ।

गाउँमा तीन कक्षासम्म मात्र पढाइ हुने विद्यालय भएकाले बजारबाट ‘म्याडम’ले आफूसँगै राख्ने र पढाउने भनेपछि उनले ‘नाइँ’ भनेनन् । गाउँकै शिक्षिकाले घरको काममा सघाए आफ्नो दुई सन्तानसँगै उनलाई पनि पढाइदिने भनिन् । परिवार राजी भयो ।

उनी आठ कक्षासम्म बाजुरामै पढे । शिक्षिकाका छोराहरूको पढाइ सकिएपछि उनीहरू थप पढ्न काठमाडौं आए । उनी पनि उनीहरूको रेखदेख गर्ने जिम्मेवारीसहित काठमाडौं आए । तर, उनी काठमाडौंको कुन ठाउँमा पढ्दै छन्? कहाँ, कसरी बसिरहेका छन् भन्ने घरमा पनि थाहा थिएन । परिवार ‘छोरा काठमाडौंमा पढ्छ, काम गर्छ’ भनेरै खुसी थिए ।

दश जोड दुईपछि भने उनी काठमाडौंको चाबहिलमा डेरा लिएर बस्न थाले । पशुपति क्याम्पसमा कानुनमा स्नातक पढिरहेका थिए । उनले परिवारलाई आफू ‘छुट्टै बसेको र अफिसमा काम गर्ने गरेको’ सम्म भनेका थिए । फोन भने पातलिँदै गएको थियो ।

परिवारले कहाँ बसेको, के काम गरेको भनेर सोधेनन् । उनले पनि बताएनन् । उनका बुबा पटक-पटक काठमाडौं आउँदा उनले काठमाडौं घुमाइदिन्थे, होटलमा राखेर केही पैसा दिएर घर पठाउँथे ।

अहिले पनि ओजन चाबहिलमा बस्दै आएको, पशुपति क्याम्पसमा ‘१४ कक्षा पढिरहेको’ भन्नेबाहेक उनको बारेमा परिवारलाई थप केही थाहा छैन । ‘पहिला खाता खोलेको छु बाउ भन्थ्यो । उसको खातामा पनि पैसा होला । अफिसमा जान्छु, खान-बस्न खर्च हुन्छ भन्थ्यो । अल्लारे उमेर, घुम्ने-रमाउने भन्ने समयमा पैसा धेरै खर्च गर्ने पनि बानी थियो’, मणिपालले भने ।

परिवारको सबैभन्दा शिक्षित

नागरिकताअनुसार २० वर्ष भएका उनी खासमा २३ वर्षका भए रे । सानैदेखि गाउँघरभन्दा पर बसेका उनी अन्य दाजुभाइभन्दा बढी सपना देख्ने गर्थे । परिवारमा पढेका पनि उनी मात्रै ।

‘केही गर्छु भन्ने विचार थियो उसको । पढाइमा पनि सानैदेखि ट्यालेन्ट हो । हाम्रो परिवारमा १४ कक्षा पढ्ने अहिलेसम्म कोही छैन । हेर्दा पनि हाम्रो पहाडमा जन्मेको जस्तो देखिँदैन । एकदम हेन्डसम थियो’, उनले छोराबारे खररर भने ।

‘जेन-जी’ आन्दोलनको खबर मणिपालले लेकमा मोबाइलको रेडियोबाट सुनेका रहेछन् । युवाहरूले आयोजना गरेको आन्दोलन भन्नेबित्तिकै उनले ओजन पनि त्यहाँ जाला भनेर शंका भने गरेका रहेछन् ।

२३ गते उनले ओजनलाई फोन गरेका पनि रहेछन् । तर दुई पटक फोन गएपछि फोन लाग्न छोड्यो । अनि उनी रातारात लेकबाट बजार पुगे । उनले सहयोगीलाई फेसबुकमा आफ्नो छोरा हराएकोबारे लेखिदिन लगाए । जब खबर आयो, बल्लतल्ल बी एन्ड बी अस्पताल पुगे । उनको मोबाइल साथमा रहेनछ । अनुहार सग्लो भएकाले छोरा चिनिहाले ।

‘उसको अनुहार बिग्रिएको छैन। मुख्य चोट टाउको पछाडि लागेको छ। दाहिने हातको जोर्नी भाँचिएको छ। अनि खुट्टामा घाउ छ। मुखबाट रगत निस्किएको थियो,’ परिवारसँगै काठमाडौं आएका स्वामिकार्तिक-खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले भने, ‘अस्पतालले केही भन्न मानेन। हामीले हेर्दा पछाडि टाउकोमा गोली लागेर अगाडि मुखबाट रगत बगेको जस्तो देखिन्थ्यो। हामीले पोस्टमार्टम रिपोर्ट पाएका छैनौँ।’

उनका अनुसार अस्पतालमा शव बुझ्दा कालो रङको भेस्ट, पाइन्ट र जुत्ता लगाएका थिए ओजनले। पाइन्ट पूरै छियाछिया परेको अनि भेस्ट पनि च्यातिएको र रगतले लतपत भएको थियो। पाइन्टको एउटा खल्तीमा एक हजार बीस रुपैयाँ र अर्को खल्तीमा तीन सय ६० रुपैयाँ थियो। त्यो रकम उनले मणिपालको हातमा थमाइदिए।

बी एन्ड बीबाट ओजनको शव त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागमा लगियो। त्यहीँबाट शनिबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरियो। उनका बुबा पशुपतिमै किरिया बसे।

‘अब त गरिबको छोरा शहीद भइगयो’

मणिपालले आफ्नो छोरा शहीद घोषणा भएको समाचारबाटै थाहा पाए । शहीद घोषणा भएपछि के हुन्छ, आफूले के गर्नुपर्छ भन्ने उनलाई केही थाहा छैन । छोरा खोज्दै काठमाडौं आइपुगेका उनी किरियाघरमा बसुन्जेलसम्म सरकार पक्षबाट कसैले पनि उनलाई भेटेका छैनन् । तर, व्यक्तिगत र विभिन्न संस्थाबाट उनले सहयोग पाए ।

शहीदलाई सरकारले १५ लाख दिने निर्णय गरे पनि उनले पाएका छैनन्। उनलाई पैसाको लोभ पनि छैन । पैसाको साटो बरु जेठो छोरालाई जागिर वा कान्छो छोरालाई पढाइदिए हुने भन्ने चाहना रहेछ उनको।

‘मेरो छोरा र अरू छोराहरू मरेर त देशले अर्को सरकार पायो। त्यो सरकारले राम्रो गरेर देश राम्रो भयो भने त शहीद भएकोमा उसलाई र शहीदको परिवार भएकोमा हामीलाई पनि खुसी लाग्नेछ। अब ऊ यो गरिब बाउआमाको मात्र छोरो रहेन, राष्ट्रको छोरो भयो’, उनले भने।

असोज १८, २०८२ शनिबार १४:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।