सहादतलाई सलाम

काठमाडौं : स्वतन्त्र अभिव्यक्ति, लोकतान्त्रिक अधिकार र पारदर्शितालाई जोड दिँदै युवा पुस्ताले परम्परागत राजनीतिक संरचनाप्रति देखाएको शान्तिपूर्ण आन्दोलन हेर्दाहेर्दै हिंसात्मक बन्यो । सुरक्षाकर्मीको गोली लागेर, आगलागीमा परेर र प्रदर्शनकारीको कुटपिटबाट ७३ जनाको ज्यान गयो।
घटना भएको एक हप्तापछि नेपालले अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पायो । प्रधानमन्त्री बन्नेबित्तिकै कार्कीको पहिलो मन्त्रिपरिषद्को बैठकले सोमबार, भदौ ३० गते, आन्दोलनमा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गऱ्यो।
मन्त्रिपरिषद्को निर्णयअनुसार ज्यान गुमाउने ७३ जना सबै ‘शहीद’ हुन्। यसरी शहीद हुनेमा १८ देखि ६४ वर्ष उमेरसम्मका छन् । त्यसमा विद्यार्थी, मजदुरदेखि वैदेशिक रोजगारीबाट फर्किएकासम्म देखिए।
सीमित शहीदलाई राष्ट्रिय सम्मान
मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र शहीदका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गऱ्यो। तर, शहीद घोषणा हुनुभन्दा अगाडि नै प्रायः मृतकहरूको दाहसंस्कार भइसकेको थियो । सरकारले पशुपति आर्यघाटमा ‘राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको’ भनिएको दिन, भदौ ३१ गते मंगलबार, जम्मा चार जना शहीदको मात्र शव थियो । त्यस दिन गौरव जोशी, दिपेश सुनुवार, विनोद महर्जन र रसिक खतिवडाको अन्त्येष्टि गरियो ।
शवयात्रा गर्दा जम्मा दश वटा शव रहेकोमा छ वटा सेनाको हेलिकप्टरमार्फत परिवारले आ-आफ्नो गाउँ लगेका थिए । दाहसंस्कार गरिसक्दा पनि अधिकांश परिवारले शहीदहरूको पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेका छैनन् । परिवारका सदस्यलाई पोस्टमार्टममा संलग्न चिकित्सकहरूले केवल टाउको र छातीमा गोली लागेकाले मृत्यु भएको मात्र जानकारी दिए।
नयाँ बानेश्वरमा भदौ २३ गते भएको प्रदर्शनमा संसद् भवन छिर्ने क्रममा भएको गोली प्रहारबाट त्यही दिन २१ जनाको मृत्यु भयो। २४ गते उपत्यका र बाहिरी जिल्लामा भड्किएको हिंसामा ५२ जनाको मृत्यु भयो।
दोस्रो दिन मारिनेहरूमा सुरक्षाकर्मीदेखि भाटभटेनीलगायतका आगो लगाएर जलाइएका भवनमा पर्ने र कारागारबाट बाहिर निस्कन खोज्नेहरूसमेत थिए। प्रदर्शनकारीको कुटाइबाट काठमाडौंमा तीन प्रहरीको मृत्यु भयो। काठमाडौं उपत्यकाबाहिर धादिङ, रामेछाप, इटहरी, सुनसरी, पर्सा र बाँकेमा जेन-जी आन्दोलनका क्रममा ज्यान गयो।
भाटभटेनी सुपर मार्केटको विभिन्न शाखामा मात्र १३ जनाको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटियो । जसमध्ये कोटेश्वरको भाटभटेनीमा भेटिएको २२ वर्षीय विकास रसाइलीको बाहेक अन्य १२ जनाको शवको पहिचान हुन सकेको छैन।
गोली लागेका शहिदहरु
श्रीयम चौलागाईं
सम्भवतः जेन-जी आन्दोलनमा शहीद भएकामध्ये सबैभन्दा कान्छा उमेरका हुन् श्रीयम । इटहरीका उनी ग्लोबल कलेजमा १२ कक्षामा पढ्दै थिए । आन्दोलनको पहिलो दिन पढाइ सकेपछि कलेज ड्रेसमै साथीहरूसँग आन्दोलनमा पुगेका उनलाई टाउकोमा गोली लागेको थियो ।
गोली लागेपछि उनलाई साथीहरूले नै मिलेर वीर अस्पतालको ट्रमा सेन्टर पुर्याएका थिए । तर उनको मृत्यु भइसकेको थियो । उनी मामासँग काँडाघारीमा बस्दै आएका थिए । १८ वर्षीय छोरालाई कलेज ड्रेसमै गोली लागेको थाहा भएपछि उनको परिवार काठमाडौं आएको थियो ।
दिपेश सुनुवार
दिपेश सात कक्षा पढ्दापढ्दै काम गर्न भनेर सिन्धुलीबाट काठमाडौं आएका थिए । सातदोबाटोमा डेरा लिएर बसिरहेका उनको कमाइबाट नै धेरथोर घरखर्च चल्ने गरेको थियो । घरको जेठो छोरासमेत रहेका उनी भदौ २३ गते नयाँ बानेश्वरमा के हुँदैछ भनेर सामाजिक सञ्जालबाट राम्रोसँग जानकार थिए ।
आफ्नो काम छोडेर जान नसक्ने भएपछि उनी त्यस दिन काममै थिए । तर दिउँसोदेखि कर्फ्यु शुरू भएपछि उनको काम रोकियो अनि उनी केही नसोची नयाँ बानेश्वर पुगे । नयाँ बानेश्वर पुग्नासाथ उनको छाती र कुममा गोली लाग्यो ।
उनलाई अन्तिम पटक आन्दोलनकै क्रममा रगताम्य भएको अवस्थामा सिभिल अस्पताल लगेको देखिएको थियो । छोरा हराएको भन्दै उनकी आमाले खोज्न थालेको सातौँ दिन उनको शव त्रिवि शिक्षण अस्पतालमा फेला पऱ्यो ।
निकिता गौतम
निकिता भर्खर १२ कक्षाको पढाइ सकेर बसिरहेकी थिइन् । २३ गते नयाँ बानेश्वरमा भएको आन्दोलनमा उनका सबै साथीहरू गए पनि उनी भने गएकी थिइनन् । २४ गते गौशाला चोकमा पनि ठूलो आन्दोलन चर्कियो । गौशाला प्रहरी वृत्त पनि हेर्दाहेर्दै जल्यो । उनले यी सब आन्दोलन आफू बसेकै घरको छतबाट हेरिरहेकी थिइन् ।
छतमै उनी ढलिन् । प्रहरीको गोली उनको छातीमा लागेर बाहिर निस्कियो । त्यही गोलीले उनकै पछाडि बसिरहेका कुमार उपाध्यायलाई पनि लाग्यो । उपाध्याय अहिले खतरामुक्त भए पनि निकिताले भने अस्पताल पुग्न नपाउँदै ज्यान गुमाइन् ।
माधव सारु मगर
अर्घाखाँचीका माधव दुई महिनाअघि मात्र स्नातक पढ्न काठमाडौं आएका थिए । घरको जेठो सन्तान उनी यहाँ पढ्दै साइकलमा सामान डेलिभरी गर्ने काम गर्थे । कीर्तिपुरमा डेरा लिएर बसेका उनी २३ गते आन्दोलन हेर्न साथीहरूसँग नयाँ बानेश्वर पुगेका थिए ।
संसद् भवनको दक्षिण गेटबाट पूर्वतर्फ शान्तिनगर नजिकै बाटो काट्दै गर्दा उनलाई गोली लाग्यो । साथीले बोकेर सिभिल अस्पताल पुर्याउँदा उनको निकै रगत बगिसकेको थियो । उपचार शुरू भएको आधा घण्टामै उनको मृत्यु भयो ।
उनका बुवा वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । छोराको मृत्यु भएको जानकारी पाएलगत्तै उनका बुवा कतारबाट काठमाडौं आए । उनी घरको जेठो सन्तान थिए । भदौ ३१ गते उनको शव परिवारले दाहसंस्कारका लागि सेनाको हेलिकप्टरमार्फत गाउँमै लगे।
आयुष थापा
भर्खरै १२ कक्षा पास गरेका आयुष पनि उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । स्नातक तह अध्ययनका लागि फ्रान्स जाने तयारीमा थिए उनी । घरको एक्लो छोरा उनी फ्रान्स जान कागजपत्र तयारीकै लागि काठमाडौंमा थिए । भदौ २७ गते फ्रान्स जान भिसा समेत आइसकेको थियो । तर, जेन-जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा उनलाई गोली लाग्यो । उनको शव परिवारले नेपालगन्जमा लगे।
योगबहादुर श्रेष्ठ
सिन्धुपाल्चोक का योगबहादुर तीन वर्षदेखि काठमाडौंमा बसेर स्नातक पढिरहेका थिए । रोजगारको सिलसिलामा माल्टा जाने तयारी गरिरहेका उनलाई पनि नयाँ बानेश्वरको प्रदर्शनमा पेटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि मृत्यु भइसकेका कारण उनको शव सीधै त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग लगियो।
ओजन बुढा
सानैदेखि बाजुरामा अरूको घरमा काम गरेर पढिरहेका ओजन बुढा दुई वर्षदेखि आफू छुट्टै डेरा लिएर पशुपति क्याम्पसमा स्नातक पढिरहेका थिए । बी एन्ड बी अस्पतालमा मृत भेटिएका उनलाई उनको परिवारले मृत्यु भएको चार दिनपछि मात्र थाहा पायो।
टाउकोमा गोली लागेका उनी कोसँग आन्दोलनमा गए, अस्पतालमा कसरी पुगे भन्नेबारे परिवार आफैँ बेखबर छ । उनलाई खोज्दै आमा बाजुराबाट काठमाडौं आइन् । काठमाडौंमै दाहसंस्कार गरेर परिवार रित्तो मन लिएर बाजुरा फर्कियो ।
रसिक खतिवडा
१२ कक्षा भर्खर पास गरेका रसिक उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा थिए । काभ्रेपलाञ्चोकका उनी घरको कान्छो सन्तान थिए । छातीमा दुइटा गोली लागेको र अस्पताल लैजाँदै गरेको भिडियो उनकी दिदीले अस्ट्रेलियाबाटै सामाजिक सञ्जालमा देखेकी थिइन् ।
सरकारले शहीद घोषणा गरेपछि राष्ट्रिय सम्मानका साथ एक हप्तापछि पशुपतिमा उनको दाहसंस्कार भयो ।
सुवास बोहोरा
बझाङका सुवास कानुन विषयमा स्नातक पढिरहेका थिए । आर्थिक अवस्था कमजोर भएका कारणले पछिल्लो समय पढाइ छोडेर उनी जापानी भाषा पढेर जापान जाने तयारीमा थिए । भिसा लागेपछि बुवा बेपत्ता भए । अनि उनी जापान जाने सपना त्यागेर भारतमा गएर मजदुरीसमेत गर्थे ।
छोराको इच्छा पूरा गर्न आर्थिक पुँजी आफैँ जुटाउने ध्येयले उनकी आमा केही महिनादेखि भारतमा मजदुरी गर्दै छोरालाई नेपालमै फर्काउन सफल भएकी थिइन् ।
सानो भाइसँग काठमाडौंमा बसिरहेका उनलाई २३ गते घाँटीमै गोली लागेको थियो । अस्पताल लगिसक्दा उनले प्राण त्यागिसकेका थिए।
सुलभराज श्रेष्ठ
बाँकेका सुलभ काठमाडौंमा बसेर इन्जिनियरिङ पढिरहेका थिए । उनी भेरी स्कुल, नेपालगन्जका सञ्चालक नरेन्द्र श्रेष्ठका एक मात्र सन्तान हुन् । उनी बाँके जिल्लाका खेलाडीसमेत हुन् । बानेश्वरमा गोली लागेका उनको शव बाँकेमै लगिएको थियो।
योगेन्द्र न्यौपाने
त्रिचन्द्र क्याम्पसमा स्नातक पढिरहेका योगेन्द्र निजामती कर्मचारीको सपना देखिरहेका थिए । मूलपानीमा बस्दै आएका उनी जेन-जी आन्दोलनकै लागि भनेर २३ गते घरबाट निस्किएका थिए । नयाँ बानेश्वरको पुलमुनि उनको टाउकोमा गोली लागेको थियो । जेन-जी आन्दोलनको पहिलो दिनको साढे दुई बजे उनको मृत्यु भइसकेको खबर परिवारले अस्पतालबाट थाहा पाएका थिए।
अभिषेक चौलागाईं
दोलखाका अभिषेकलाई पनि टाउकोमा गोली लागेको थियो । घरबाट निस्किएका उनको शव त्रिवि शिक्षण अस्पतालमा परिवारले भेटेका थिए ।
अभिषेक श्रेष्ठ
प्रहरीको गोली लागेर सुनसरीका अभिषेक भदौ २४ गते इटहरीमै शहीद भए । इटहरीकै होटलमा पार्टटाइम फोटोग्राफर रहेका उनी वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने तयारीमा थिए ।
बिमल बाबु भट्ट
कोटेश्वरमा मामाघर बसेर स्नातक पढिरहेका गोरखाका बिमललाई संसद् भवनभित्रबाट गोली लागेको थियो । उनको देब्रे छाती र निधारमा गोली लागेको थियो । सिभिल अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भयो ।
विनोद महर्जन
ललितपुरका विनोद जेन-जी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा आफूभन्दा साना भाइबहिनीहरूसँगै खुसी हुँदै सामेल भएका थिए । उनी संसद् भवनअगाडि पुग्दा नै गोली सीधै उनको टाउकोमा लाग्यो ।
दिउँसो तीन बजे परिवारले घटनाको बारेमा थाहा पाउँदा मुखको तल्लो भागबाट गोली छिरेर कन्चटबाट निस्किएको थाहा पाए । बुवाको मृत्युपछि आमालाई खुसी बनाइराख्ने विनोद सबैभन्दा बढी माया आफ्नो आमालाई गर्थे ।
गौरव जोशी
कैलालीका गौरव कोटेश्वरमा बसेर वैदेशिक यात्राको तयारी गर्दै थिए । जेन-जी आन्दोलनमा जाने भनेर कोठाबाट निस्किएका उनलाई नयाँ बानेश्वर संसद् भवनअगाडि टाउकोमै गोली लागेको थियो । ट्रमा सेन्टरसम्म लग्दा धड्कन चलिरहेका उनको केही समयमै धड्कन रोकियो । उनको मृत्युको खबर परिवारले टिकटक भिडियोबाट थाहा पाएका थिए ।
ईश्वत अधिकारी
तनहुँका ईश्वत नेपाली सेनाका पूर्वमेजर ईश्वरबहादुर अधिकारीका छोरा हुन् । बुवालाई भनेर नै उनी जेन-जीको आन्दोलनमा जान घरबाट निस्किएका थिए । अंग्रेजी र मनोविज्ञानमा स्नातकोत्तर पढेका उनी व्यवस्थापन पनि पढिरहेका थिए।
दिलनारायण तामाङ
काभ्रेपलाञ्चोक का दिलनारायण पेशाले डकर्मी थिए । मजदुरी काम गरेर आफ्नो परिवार पाल्दै आएका उनलाई २३ गते जेन-जी आन्दोलनको दिन नयाँ बानेश्वरमा छातीमै गोली लागेर ढलेका थिए । पाटनमा डेरामा बस्दै आएका उनको श्रीमती सरसफाइको काम गर्ने गर्छिन् । उनका दुई छोरा सानै छन् ।
बुद्धिबहादुर तामाङ
टिस्टुङ-पालुङका बुद्धिबहादुर बौद्धमा क्याफे चलाउँदै आएका थिए । अहिलेसम्म कुनै आन्दोलनमा सामेल नभएका उनको गोली लागेर मृत्यु भयो । उनकी श्रीमतीसँगै दुई सन्तान र बूढा आमाबाबु छन् ।
सौरन किशोर श्रेष्ठ
बागलुङका सौरन पनि आन्दोलनमै जाने भनेर घरबाट निस्किएका थिए । जेन-जी आन्दोलनको मुद्दालाई सामाजिक सञ्जालबाट फलो गरेका उनलाई २३ गते छातीमा गोली लागेको थियो । उनको घाँटीमा समेत गोलीको छर्रा लागेको थियो ।
सिभिल अस्पताल लग्दा त्यहाँका साथीहरूलाई आफ्नो श्रीमतीको नम्बरसमेत भनेका उनी केही बेरमै सधैँका लागि निदाए । सौरनका सानो छोरा, श्रीमती छन् । वैदेशिक रोजगारीका लागि केही समय कोरिया गएका सौरन फेरि पनि त्यहीँ जाने तयारीमा थिए।
छत्रमान कुथुमी
धनकुटाका छत्रमान सम्भवतः जेन-जी आन्दोलनमा शहीद हुने सबैभन्दा पाको उमेरका हुन् । उनी ६४ वर्षका थिए । काठमाडौंमा बसेर झारफुक गर्ने काम गरिरहेका उनका छ जना सन्तान छन् । किराँती संस्कृतिअनुसार दाहसंस्कार गर्नुपर्ने कारणले उनको शव सेनाको हेलिकप्टरबाट धनकुटा पुर्याइएको थियो ।
विजय चौधरी
सिरहाका विजय लामो समयदेखि काठमाडौंमा बिजुलीको तार मर्मत गर्ने काम गर्थे । उनी कसरी आन्दोलनमा पुगे भनेर परिवारलाई थाहा छैन । तर नयाँ बानेश्वरमा उनको छातीमा गोली लागेको खबर भने घरमा पुग्यो ।
उनकी माइजू त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागअगाडि शव बुझ्नका लागि एक हप्तादेखि बसिरहेकी थिइन् । उनका आमाबाबु गाउँमा नै भएका कारण शव गाउँमै लाने उनले बताइन् ।
उनकी श्रीमतीलाई योग्यताअनुसार लहान नगरपालिकाले रोजगार दिने र छोरीलाई १२ कक्षासम्म पढाइदिने घोषणा गरेको छ ।
सन्तोष विक
काठमाडौंको सुन पसलमा काम गर्दै आएका उदयपुरका सन्तोष जेन-जी आन्दोलनबारे निकै चासो दिन्थे । त्यही भएर उनी पनि आन्दोलनमा सामेल हुन नयाँ बानेश्वर पुगे । तर केही बेरमै गोली लागेर ढले । उनका दुई सन्तान र श्रीमती छन् ।
मोहन सरदार
सुनसरीका मोहन डकर्मी हुन् । मजदुरी गरेर परिवार पालिरहेका थिए । इटहरी उपमहानगरपालिका अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । उनको ढाडमा गोली लागेको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लानेबित्तिकै उनलाई डाक्टरले मृत्यु भइसकेको बताए । उनकी छोरी र श्रीमती छन् ।
सारकुमार राई
उदयपुरका सारकुमार राई काठमाडौंमा बसेर रङ लगाउने काम गर्थे । २४ गते साँझ गौशालामा उनको टाउकोमा गोली लागेको खबर सुनेपछि श्रीमती र छोरी कर्फ्युको हन्डर खाएर यहाँ आएका थिए ।
दुई छोरी रहेका उनको श्रीमतीले जे जस्तो भए पनि किराँत संस्कारअनुसार नै दाहसंस्कार गर्नका लागि गाउँ नै जाने बताएकी थिइन् । उनलाई सेनाको हेलिकप्टरमार्फत गाउँमा लगिएको थियो । दुई जना पढ्दै गरेका छोरीहरूको जिम्मेवारी अब सबै उनकी श्रीमतीमा पुगेको छ।
उमेश महत
सिन्धुपाल्चोक का उमेश भर्खरै १२ कक्षा पास गरेका कारण वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । साथीहरूसँग नयाँ बानेश्वर पुगेका उनलाई प्रहरीको गोली लागेको थियो । उनको फ्रन्टलाइन अस्पतालमा मृत्यु भएको थियो।
दीपक साउद
बैतडीका दीपक १२ कक्षामा पढिरहेका थिए । साथीहरूसँगै आन्दोलनमा गएका उनलाई पनि टाउकोमै गोली लागेको थियो । कालीमाटी प्रहरी चौकी नजिक भएको उक्त घटनामा उनलाई शुरूमा वयोधा अस्पताल लगिएको थियो ।
पछि ट्रमा सेन्टरमा रिफर गरिएको र त्यहीँ नै उपचारको क्रममा भदौ २७ गते उनको मृत्यु भएको थियो । भेन्टिलेटरमा राखेर उपचार भएको उनी घटना भएदेखि बोल्न सक्ने अवस्थामा थिएनन् ।
शुभराज बलामी
नुवाकोटका शुभराज पनि आन्दोलनकै लागि भनेर २४ गते ककनीबाट निस्किएका थिए । टाउकोमा गोली लागेका उनलाई ट्रमा सेन्टरमा राखिएको थियो । अर्धचेत अवस्थामा रहेका उनले भदौ २८ गते शनिबार बिहान संसार छोडेका थिए । उनी गाडी चलाउने काम गर्थे ।
भीम धामी
बझाङका भीम कीर्तिपुरमा बसेर आफैँ गाईपालन गर्दै डेरी सञ्चालन गर्दै आएका थिए । उनलाई २४ गते कालीमाटीमा गोली लागेको थियो । एक वर्षअघि मात्र विवाह भएका उनको सुत्केरी श्रीमती छन् ।
महेश बुढाथोकी
इमाडोलमा बसेर १२ कक्षामा अध्ययन गरिरहेका महेश यसअघि कुनै पनि आन्दोलनमा गएका थिएनन् । २३ गते भएको घटनापछि आक्रोशित बनेका उनी साथीहरूसँगै आन्दोलनमा जाने भनेर २४ गते घरबाट निस्किएका थिए । कोटेश्वरको प्रहरी प्रभागअगाडि घाँटीमै गोली लागेका उनी किष्ट अस्पतालमा फेला परेका थिए ।
साजन राई
भक्तपुरमा साना दुई बालकलाई पढाउँदै मजदुरी गर्दै आएका साजन २३ गतेको घटना सुनेपछि २४ गते आफू पनि आन्दोलनमा सहभागी हुने भनेर गए । थिमिकै प्रदर्शनमा उनको छातीमा गोली लागेपछि उनी ढलिहाले । दुई वर्षअघि मात्र श्रीमती गुमाएका उनका १२ वर्ष र ५ वर्षका छोरा मात्र छन् ।
प्रविन कुलुङ
संखुवासभाका प्रविन कोरिया जानका लागि कोरियन भाषा पढिरहेका थिए । २४ गते गौशालामा भएको प्रदर्शनको क्रममा उनको छातीमा गोली लागेको थियो । उनको शव पनि हेलिकप्टरमार्फत गाउँमा लगेको थियो । उनका बुवा गाउँकै स्थानीय नेतासमेत हुन् । यसअघिको स्थानीय तह निर्वाचनमा उनका बुवा वडा अध्यक्षको उम्मेदवार थिए ।
निरज पन्त
बैतडीका निरज पन्त पतञ्जलि योग समितिका केन्द्रीय सदस्यसमेत थिए । २४ गते महाराजगन्ज चोकमा भएको प्रदर्शनमा प्रहरीको गोली उनको पेटमै लागेको थियो ।
धिरज श्रेष्ठ
बालाजुमा बस्दै आएका धिरज दसैँअगाडि अस्ट्रेलिया जाने तयारीमा थिए । २३ गते साथीहरूसँग मिलेर उनी नयाँ बानेश्वरको प्रदर्शनमा पनि पुगेका थिए । त्यसबखत उनका अन्य साथीहरूलाई गोली पनि लागेको थियो । त्यसकै प्रतिरोधमा २४ गते पनि उनी घरबाट निस्किएका थिए । उनको घाँटीको नसामा नै गोली लागेकाले उनको तत्काल मृत्यु भएको थियो ।
दिनेश राजवंशी
दुई वर्षअघि कतारबाट फर्किएर झापामै मासु पसल सञ्चालन गरिरहेका दिनेश वैदेशिक रोजगारीका लागि रोमानिया जाने तयारीमा थिए । २४ गते विर्तामोडमै भएको प्रदर्शनमा उनलाई गोली लागेको थियो । उनका साना दुई सन्तान, श्रीमती र वृद्ध आमा छन् ।
ज्ञानेन्द्र (गोपाल) सेढाईं
झापाको इलाका प्रहरी कार्यालय, बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली उनको मुटुमा लागेको थियो । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी गाउँमै कृषि व्यवसाय गर्दै आइरहेका थिए । उनी आफ्नो टोलमा निकै रक्तदान गर्ने व्यक्तिमध्येका एक थिए । घरको कान्छो सन्तान उनैले बूढा आमाबाबुको रेखदेख गर्दै आइरहेका थिए ।
कमल भण्डारी
पाँचथरका कमल तीन वर्षअघि मात्र साउदीबाट घर बनाउनका लागि घर फर्किएका थिए । २४ गते बिर्तामोडमा गोली लागेका उनको २५ गते बी एन्ड सी अस्पतालमा मृत्यु भएको थियो । तीन महिनाकी गर्भवती श्रीमती र पाँच वर्षको छोरा छन् उनको।
अर्जुन भट्ट
गोरखाका अर्जुन सानैदेखि फुटबलमा निकै रुचि राख्थे । स्थानीय क्लबबाट फुटबल खेलिरहेका उनले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट खेल खेल्ने सपना देखेका थिए । तर २४ गते बिहानै कालीमाटी प्रहरी वृत्तअगाडि भएको झडपमा उनको टाउकोमा प्रहरीको गोली लाग्यो । उनको तत्काल मृत्यु भयो ।
देवबहादुर सुवेदी
सर्लाहीका देवलाई पनि कालीमाटीमा भएको झडपको क्रममा प्रहरीको गोली लागेको थियो । पेटमा लागेको उनको गोलीले सीधै आन्द्रामा प्वाल पारेको थियो । वयोधा अस्पताल लगिएका उनको अत्यधिक रक्तश्राव भएको कारण मृत्यु भएको थियो। उनका आठ वर्षीया छोरी, श्रीमती र वृद्धा आमाबाबु छन् ।
असहाव आलम ठाकुर
पर्साका असहाव तीन वर्षदेखि काठमाडौंमा पढ्दै रोजगारी गरिरहेका थिए । केही समयदेखि पठाओ चलाइरहेका उनी २४ गते यात्रुलाई गोंगबु लाने क्रममा उनको छाती र पेटमा गोली लागेको थियो । दुई महिनाअघि मात्र उनको विवाह भएको थियो।
अनिश पराजुली
लामो समय वैदेशिक रोजगारीको सिलसिलामा दुबई बसेर आएका गोरखाका अनिश काठमाडौंमा खाद्यान्न पसल सञ्चालन गरिरहेका थिए । उनको पनि छातीमा गोली लागेको थियो । उनी यहाँ श्रीमती र दुई छोराको साथमा बस्दै आएका थिए ।
तीन प्रहरी
मिलन राय
प्रहरी सहायक निरीक्षक (असई) मिलनले पनि २४ गते प्रहरी वृत्त महाराजगन्ज, आफ्नै कार्यालयअगाडि ज्यान गुमाए । उनलाई पनि भिडले ‘यो पनि पुलिस हो’ भन्दै कुटेका थिए । उनको टाउकोमा खुकुरी प्रहार भएको थियो ।
उनलाई निकै क्रूर तरिकाले हत्या गरेको भिडियोहरू सामाजिक सञ्जालमा फैलिएको थियो।
सिन्धुलीका उत्तमका बुवा सानैमा मृत्यु भएपछि काकाको सहयोगमा पढाइ अगाडि बढाएका थिए। एक वर्षअघि मात्र विवाह गरेका उनको श्रीमती कामको सिलसिलामा जापानमा छिन्।
अमृत गुरुङ
कास्कीका अमृत प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार हुन्। कार्यालयमा तोडफोड र आगजनी भएपछि भाग्न बाध्य सुरक्षाकर्मीहरूलाई भिडले लखेटी-लखेटी कुटेका थिए। त्यही बेला उनलाई पछाडिबाट धारिलो हतियार प्रहार भएको थियो। उनको शव परिवारले कास्की नै लगेका थिए। अमृतका सात महिनाको छोरा, श्रीमती र वृद्ध बुवा मात्र छन्।
उत्तम थापा
कोटेश्वर प्रहरी प्रभागमा भएको जस्तै घटना प्रहरी वृत्त महाराजगन्जमा घट्यो। उत्तमलाई पनि प्रदर्शनकारीले कुटीकुटी मारेका थिए। ‘यो डीएसपी हो’ भन्दै कुटिएको भिडियो उनकै हो। प्रहरी जवान उनी त्यस दिन सादा पोशाकमै थिए। सात महिनाअघि भाइ गुमाएका उनी घरको एक मात्र आड थिए। बुवाको पनि पहिल्यै मृत्यु भएको उनको अब दार्चुलामा बूढी आमा मात्र छन्।
असोज १६, २०८२ बिहीबार १८:२३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।