सुशीला कार्की : वीपीबाट प्रभावित, वीपीबाटै ‘निष्काशित’

सुशीला कार्की : वीपीबाट प्रभावित, वीपीबाटै ‘निष्काशित’

काठमाडौं : सामान्य परिस्थिति हुन्थ्यो भने सुशीला कार्की अहिले पूर्व प्रधानन्यायाधीशकै हैसियतमा हुन्थिन्। तर, देशको परिस्थिति असामान्य भइदियो।

जनताले निर्वाचित गरेको व्यक्ति प्रधानमन्त्री नभएर ‘सञ्जाल जेन-जी’ले छानेको व्यक्ति प्रधानमन्त्री हुने परिस्थिति सिर्जना भयो। त्यसैले त उनी नेपालकी पहिलो महिला प्रधानन्यायाधीश मात्र होइन, नेपालकी पहिलो महिला प्रधानमन्त्रीसमेत भइन्।

कलेज ड्रेसमा तीन माग राखेर भदौ २३ गतेबाट प्रदर्शनमा उत्रिएको थियो, जेन-जी पुस्ता। उनीहरूको माग खास ठूलो पनि हैन; बढ्दो भ्रष्टाचारको छानबिनका लागि आयोग गठन, निषेध गरिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने र प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने।

यिनै माग लिएर प्रदर्शनमा उत्रिएको जेन-जी पुस्ताको प्रदर्शनमा गोली चल्यो। बानेश्वर चोक र देशका अन्य स्थानमा गरेर पहिलो दिन नै १९ जना विद्यार्थीको मृत्यु भयो। तर, सरकारले चेतेन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्थालाई सामान्य रूपमा लिए। उनकै हठका कारण परिस्थिति फेरियो।

दोस्रो दिन आन्दोलनमा दुर्गा प्रसाईं र राप्रपा तथा माओवादी केन्द्रका केही विध्वंसकारी नेता-कार्यकर्ता मिसिएपछि मच्चिएको विध्वंसमा न ओलीको सत्ता टिक्यो, न उनको दम्भ नै। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, न्यायालयको प्रमुख कार्यालय सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयलगायत ठाउँ-ठाउँका प्रहरी कार्यालयसँगै दलका नेताहरूको घर निशानामा परे।

परिस्थिति असामान्य भएपछि ठूला राजनीतिक दलका नेताहरू लुक्न बाध्य भए। प्रधानमन्त्री ओली बालुवाटारको सरकारी निवासभित्रैबाट भाग्न बाध्य भए। अनि जेन-जी पुस्ताले रिक्त प्रधानमन्त्री पदमा सदनबाट होइन, डिजिटल प्लेटफर्म ‘डिस्कर्ड’बाट सुशीलालाई प्रधानमन्त्री छाने।

संसद्सहित अन्तरिम प्रधानमन्त्रीको खोजीमा राष्ट्रपति रामचन्द्र पौडेल सफल नभएपछि उनले शीतल निवासभित्रको सानो कोठामा कार्कीलाई शपथ खुवाएर भने, “जनता बचून्, लोकतन्त्र बचोस्।”

बुबाकी ‘बेटा’
सुशीलाका बुबाको पुर्ख्यौली घर भोजपुर भए पनि उनको परिवार धनकुटा हुँदै विराटनगर पुग्यो। विराटनगरमा आमा लीलादेवी कार्की र बुबा डिल्लीबहादुर कार्कीको जेठी सन्तानका रूपमा २००९ जेठ २५ गते उनी जन्मिइन्। उनीपछि दुई भाइ र चार बहिनी जन्मिए। सुशीलाको आत्मकथा ‘न्याय’ अनुसार उनको घरमा छोराछोरी भनेर विभेद थिएन। उनले छोरी भएर जन्मँदा घरभित्रैबाट खोसिने अधिकारको अनुभव गर्नु परेन।

सुशीला हुर्कँदा विराटनगरको शङ्करपुर बजार गुलजार थिएन। त्यही शंकरपुरमा उनका बुबाको पौने एक बिघा जग्गामा घर थियो। त्यो बेला टिनको छाना वा छत हालेर घर बनाउने चलन थिएन। सुशीलाको पनि फुसको छाना भएका चार वटा ठूला घर थिए।

सुशीला जन्मनुअघि नै उनको घरमा बिजुलीबत्ती आइसकेको थियो। उनको घरमा भात पकाउने ‘भान्से बज्यै’ पनि थिइन्। घरमा रेडियो पनि थियो।

‘अल इन्डिया रेडियो बज्थ्यो, त्यसमा आउने गीत खुब सुनिन्थ्यो। अरूले सिलोङबाट समाचार सुन्थे,’ सुशीलाले आफ्नो आत्मकथामा उल्लेख गरेकी छन्।

उनको परिवारको मुख्य पेसा नै कृषि थियो। घरको मुख्य आयस्रोत खेतीपाती थियो। लत्ताकपडा, नुन र जिराबाहेक सुशीलाको परिवारले सबैथोक घरमै उत्पादन गर्दथ्यो।

सुशीला सानैदेखि हक्की स्वभावकी थिइन्। उनी बोल्न हिच्किचाउँदैनथिन्। उनका बुबा पनि राजनीतिक व्यक्ति थिए, २००७ सालका योद्धा। मुक्ति सेनाका रूपमा लडेका उनका बुबा नेपाली कांग्रेसमा आबद्ध थिए।

उनले आफ्नो बाल्यकालको राजनीतिक वातावरण सम्झिँदै भनेकी छन्, “मुक्ति सेना हुनुभएका मेरो बुबाले कहिल्यै राजनीति त्याग्नुभएन। नेपाली कांग्रेसप्रति सधैँ उहाँको आस्था रहिरह्यो। २०१७ सालपछि प्रतिबन्धित अवस्थामा पनि उहाँ राजनीतिमा सक्रिय हुनुभयो। त्यस्तो अवस्थामा पनि हाम्रो घरमा पार्टीको बैठक, छलफल, भेला भइरहन्थ्यो। पञ्चायत, प्रजातन्त्र, राजाको निरंकुशता आदि शब्द मैले सानैमा सुनेकी थिएँ। त्यतिबेलादेखि नै हामीले राजनीतिबारे केही सिक्ने अवसर पाएका थियौँ। गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) आइरहनुहुन्थ्यो।”

सुशीला उनका बुबाका निम्ति ‘बेटा’ थिइन्। उनलाई बुबाले कहिल्यै ‘छोरी’ जस्तो व्यवहार गरेनन्। हाफ पेन्ट, गन्जी र सर्ट लगाउने गर्थिन्। सानैदेखि उनी बुबासँग घुम्ने, डुल्ने, अरूका कुरा सुन्ने गर्थिन्।

रामचन्द्रबाटै पार्टीको सदस्यता
सुशीला जन्मेको बेला नेपाली समाजमा छोरीलाई पढाउने चलन फस्टाइसकेको थिएन। तर, सुशीलाका बुबाले भने उनलाई पढाए, घरमै कखरा सिकाए।

पछि उनी विराटनगरको जनता स्कुलमा पढिन्। पढाइमा उनी अब्बल थिइन्। दिनहुँ स्कुल जाने, पढ्ने, होमवर्क गर्ने काम नियमित गर्थिन्। उनका बुबाले सानैदेखि जीवनमा केही बन्नुपर्छ भनेर सिकाए।

उनका बुबाले पत्रपत्रिका पढाउने गर्थे। ‘धर्मयुग’ नामक पत्रिकामा एक भारतीय राजस्वसम्बन्धी अदालतकी महिला न्यायाधीशको ठूलो फोटो र उनको बारेमा समाचार छापिएको थियो। उनका बुबाले ‘हेर बेटा, यस्तो हुनुपर्छ’ भनेर त्यो फोटो देखाए। उनी कानुनी क्षेत्रमा आउनुमा त्यही प्रेरणा बन्यो।

पढ्न मात्रै होइन, उनका बुबाले जमघटमा छोरीलाई समसामयिक विषयमा बोल्न पनि लगाउँथे। शुरूमा सुशीलालाई डर लागे पनि पछि बानी पर्दै गयो। उनका बुबाले आत्मविश्वास, स्वाभिमान र स्वावलम्बनका कुरा सिकाए; निर्धक्क कसरी बोल्ने भनेर समेत सिकाए। त्यसको छाप अहिलेसम्म पनि उनमा देखिन्छ।

२०२४ सालमा उनले एसएलसी दिइन्। दोस्रो श्रेणीमा उत्तीर्ण भएकी उनी उच्च शिक्षाका लागि विराटनगरकै महेन्द्र मोरङ कलेजमा भर्ना भइन्।

उनका क्लासमेट पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायत थिए। केटीहरूको संख्या पनि धेरै नै थियो। उनले क्याम्पसमा पढ्ने मात्र होइन, राजनीतिक कार्यक्रममा पनि सहभागी हुन थालिन्। उनी विराटनगरमा रहेको पूर्वप्रधानमन्त्री वीपी कोइरालाको घर गइरहन्थिन्। त्यहाँ महिला संघको भेला भइरहन्थ्यो। त्यतिबेला महेन्द्र मोरङमा पनि स्वतन्त्र विद्यार्थी युनियन थियो। उनी कांग्रेसमा लागिन्।

सुशीलाको आत्मकथाअनुसार पञ्चायत सरकारले कम्युनिस्टहरूलाई खासै धरपकड गर्दैनथ्यो, कांग्रेसलाई भने बढी नै गर्दथ्यो। उनी पनि त्यही पञ्चायतले नरुचाएको कांग्रेसको भ्रातृ संगठनमा लागिन्। त्यतिबेला अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य थिए। उनी संगठन विस्तारका लागि २०२७ सालमा विराटनगर पुगेका थिए।

नेपाल विद्यार्थी संघको औपचारिक सदस्यता सुशीलालाई पौडेलले नै दिए। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको शपथ खुवाएपछि बधाई दिने क्रममा कार्कीलाई ‘तपाईंलाई राम्रो होस्, लोकतन्त्र बचोस्, जनता बचून्’ भने। सायद शपथ खुवाउँदा पौडेललाई कुनै बेला आफ्नै विद्यार्थी संगठनकी कार्यकर्ता रहेकी उनीबाट लोकतन्त्रमाथि कुठाराघात हुँदैन भन्ने लाग्यो होला।

अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएकी कार्कीले २०३० सालमा बीए उत्तीर्ण गरिन्। त्यतिबेला आईए र बीए दुवै दुई-दुई वर्षे हुन्थ्यो। स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आउने सोचमा रहेकी सुशीला पञ्चायतविरुद्ध लागेकाले सरकारको तारो भइसकेकी थिइन्। त्यसपछि उनी थप अध्ययनका लागि २०३१ सालमा भारतको इलाहावाद गइन्।

वीपीबाट प्रभावित, वीपीबाटै ‘निष्काशित’
भारतमा स्नातकोत्तर पढ्न गएकी सुशीला बनारस हिन्दू विश्वविद्यालयमा मनोविज्ञान पढ्ने सोचमा थिइन्, तर त्यहाँ भर्नाको समय सकिसकेको थियो। वीपी कोइराला निवास पुगेकी कार्कीलाई वीपीले अर्थशास्त्र पढ्न सुझाए। उनले अर्थशास्त्र होइन, राजनीतिशास्त्र पढिन्। भर्ना मिलाउन वीपीले उपकुलपतिलाई फोन गरिदिए। होस्टलमा कोठा नपाउँदासम्म उनी वीपी बसेकै सारनाथमा बसिन्।

वीपीबाट निकै प्रभावित भएकी कार्की उनको पढ्ने बानीबाट अति नै प्रभावित भएको आत्मकथामा उल्लेख गरेकी छन्।

“सान्दाजुको सबैभन्दा ठूलो अध्ययन र ध्यान अर्थशास्त्रमा थियो। जुन विषयमा विशेषज्ञता हासिल गरे पनि अर्थशास्त्रको ज्ञान नभई हुँदैन भन्ने उहाँको मान्यता थियो,” उनले पुस्तकमा लेखेकी छन्, “मलाई त अर्थशास्त्रका किताब दिएपछि कति पढ्यौ, के बुझ्यौ भनेर सोध्नुहुन्थ्यो। उहाँले गर्दा मैले पनि अर्थशास्त्रका सिद्धान्त जान्ने-बुझ्ने भएकी थिएँ।”

कोइराला परिवारमा बस्दा उनले त्यहाँको पढ्ने वातावरण र महिलाको स्वतन्त्रता देखेर प्रभावित भइन्। वीपी यति उदार थिए कि श्रीमतीको लुगासमेत नछुने त्यो समयमा उनले धोइदिन्थे पनि। समानताको ज्ञान सुशीलाले कोइराला निवासमै सिकिन्।

स्नातकोत्तर पढ्दै गर्दा सुशीलालाई कानुनमा रुचि बढ्यो। काठमाडौंमा प्राइभेट बीएल भरिन्। पीएचडी गर्ने उद्देश्यले दिल्ली घुमेर वीपीलाई भेट्न जाँदा उनलाई वीपीले भने, 'तिमी दूतावास गयौ रे, हामीविरुद्ध सूचना दिने काम गर्यौ।'

सुशीलालाई देशमा ‘अराष्ट्रिय तत्त्व’ भनिन्थ्यो, कांग्रेसले ‘सीआईडी’ ठानेपछि विरक्तिएर उनी नेपाल फर्किइन्। काठमाडौं आएपछि खाद्य संस्थानमा काम शुरू गरेकी सुशीलाले २०३५ साल माघ १७ गते अधिवक्ताको लाइसेन्स पनि लिइन्। खाद्य संस्थानको जागिरभन्दा वकालत गरेरै जनतासँग जोडिन सकिने ठानेर उनले राजनीतिको रस छाड्दै वकालत रोजिन्।

आफैँ घर बनाइन्, आफैँ सिन्दूर किनेर विवाह गरिन्
२०३५ माघ महिनामा खाद्य संस्थानको जागिर छोडेर उनी वकालत गर्न विराटनगर गइन्। आफ्नै ठूलोबुबाको ल फर्ममा काम गरेकी सुशीलाले २०३७ सालमा पुष्पबहादुर राउतको ल फर्ममा अभ्यास गर्न थालिन्। धरानमा बसेर काम गरेकी उनले विस्तारै मुद्दा पाउन थालिन्। शुरूमा बिना पैसा बहस गर्न थालेकी सुशीलाले पछि मात्रै शुल्क लिन थालिन्।

कमाई राम्रै भएपछि सुशीलाले ११ धुर जग्गा किनेर घर बनाउन थालिन्। चारकोठे घर बनाउँदा पैसा अभाव भएपछि काम रोकियो। पछि उनले केही ऋण लिएर घर पूरा गरिन्। पछि त्यो घर बेचेर उनले १० कट्ठा जग्गा किनेर धरानमा अर्को घर बनाइन्।

उनले कुनै बेला आफू स्कुल पढ्दा प्रधानाध्यापक रहेका दुर्गा सुवेदीसँग विवाह गर्ने भइन्। उनी जनता माविमा पढ्दा नेपाली कांग्रेसका नेतासमेत रहेका सुवेदी पञ्चायतविरुद्धको लडाइँका क्रममा विमान अपहरणमा समेत संलग्न थिए।

धनसम्पत्तिमा कुनै लोभमोह नभएका उनीहरूको विवाहमा मंगलसूत्र र सिन्दूरसमेत सुशीलाले नै किनिन्। उनीहरूको विवाह गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसमेतको उपस्थितिमा सामान्य तरिकाले भयो। दुर्गा, सुशीलाले नै बनाएको घरमा बसे। उनीहरूका एक छोरा छन्।

सुशीला पछि न्यायाधीश भइन्। उनी भ्रष्टाचार नगर्ने र घुस नखाने न्यायाधीशका रूपमा दरिँदै गइन्। सुशीलालाई बुबाले भारतीय न्यायाधीश देखाउँदै ‘यस्तै बन्नुपर्छ’ त भनेका थिए, समयक्रमले उनी पनि न्यायाधीश बनिन्, तर त्यो देख्न उनका बुबा बितिसकेका थिए। उनी न्यायाधीश हुँदा शक्तिशाली पूर्वमन्त्रीहरूसमेत जेल परे, जसले उनको भ्रष्टाचारविरोधी छवि थप बलियो बनायो।

२०७३ सालमा सुशीला प्रधानन्यायाधीश बनिन्। उनी नेपालकी पहिलो महिला प्रधानन्यायाधीशसमेत थिइन्। उनले ८० जना न्यायाधीशको नियुक्ति गर्दा निकै विरोध पनि भएको थियो। पार्टीहरूको दबाब आए पनि आफूले इन्कार गरेको उनले पुस्तकमा उल्लेख गरेकी छन्। उनले जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गराइन्।

त्यस्तै, सुडान घोटाला काण्डका मुद्दा पनि उनले हेरेकी थिइन्। यही बीचमा सुशीलालाई महाअभियोग लगाइयो। आईजीपी नियुक्ति प्रकरणमा तत्कालीन अतिरिक्त महानिरीक्षक नवराज सिलवालले जयबहादुर चन्दलाई महानिरीक्षक पदमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध रिट दायर गरेका थिए। सिलवाल योग्य रहेको भन्दै उनको फैसलाले सरकार तर्सिएपछि महाअभियोग दर्ता भएको थियो।

त्यति मात्र होइन, सुशीला र न्यायाधीश वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले २०७० जेठ २७ मा सरकारका नाममा परमादेश जारी गर्दै तेस्रोलिङ्गीलाई पहिचानसहितको राहदानी दिलाउन नियम नै संशोधन गर्न आदेश दियो।

विवादरहित भने होइनन्
सुशीला कार्कीले डीएनएको आधारमा भन्दा ‘आमा सत्य हो, बाबु विश्वास हो’ भन्ने आधारमा छोराछोरीको बाबु को हो भन्ने टुंगो लाग्ने फैसला गरेकी थिइन्। यो फैसला पनि विवादास्पद मानिन्छ, जसलाई पछि अदालतले उल्टाइसकेको छ। यति मात्र होइन, पूर्वअतिरिक्त महानिरीक्षक नवराज सिलवालले किर्ते स्वमूल्याङ्कन गरेको र फरक फन्ट प्रयोग भएको प्रमाण हुँदाहुँदै अदालतले त्यसलाई नहेरेको आरोप पनि लाग्ने गर्छ।

सुशीला कार्की स्वभावैले हक्की र भ्रष्टाचारविरोधी हुन्। उनी गरिब जनता र आम मानिसको जीवन बुझ्ने व्यक्ति पनि हुन्। तर, उनी सबै गुणले भरिपूर्ण भने होइनन्। उनका नजिक हुनेहरूले उनलाई अलि जिद्दी भएको आरोप लगाउँछन्।

सुशीला कठोर मिहिनेत र निरन्तरको अध्ययनले प्रधानन्यायाधीश बनिन्। मिहिनेत गरेर स्वच्छ छवि बनाउन सफल भइन्। सामान्य दैनिकी गुजार्ने उनी पदमा पुगेर रवाफ कहिल्यै देखाइनन्। विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताअनुसार उनको दाम्पत्य जीवन सुखमय छ। विपश्यना ध्यानकी साधिका सुशीला प्रधानन्यायाधीश पदबाट बाहिरिए पनि समाजका भ्रष्टाचार र अत्याचारबारे निरन्तर बोलिरहन्छिन्।

उमेरले ७० कटे पनि २८ वर्षभन्दा उमेरका जेन-जीको मन जित्नु, त्यो पनि पदमा बसेर, सानो ‘इमान’ होइन। किनभने, उनका समकालीन राजनीतिक दलका नेता मात्र होइनन्, कुनै पनि नेताको नाम नेपाली युवापुस्ताले लिनै मान्दैनन्; उनीहरू सुन्नै चाहँदैनन्। लोकतन्त्रका लागि निरंकुश पञ्चायतकालमा पक्राउसमेत परेकी सुशीला जनताबाट निर्वाचित भएर होइन, सडकले उनलाई प्रधानमन्त्रीका रूपमा देख्न चाह्यो।

जीवनभर आफ्नो जिम्मेवारी पूरा गरेकी सुशीला ६ महिनाभित्रै चुनाव गराउनैपर्ने बाध्यात्मक अवस्थामा छिन्। आन्दोलनका क्रममा खर्बभन्दा बढीको क्षति भएको छ। सामान्य अवस्थामा राज्यको अधिकतम साधन र स्रोत प्रयोग गर्दा समेत २०७९ सालको चुनावमा ७ अर्ब खर्च भएको थियो। अहिले शून्यबाट शुरू गर्नुपर्ने जिम्मेवारी सुशीलामा छ।

हुन त यसअघि चुनाव गराउन बनेका ५ वटा अन्तरिम सरकारले केही समय थपेर सफलतापूर्वक चुनाव गराउन सकेका थिए। उनले सक्छिन् कि सक्दिनन् भन्ने चुनौती त छँदैछ, दलहरूप्रति रहेको नकारात्मक धारणालाई बदलेर ‘राम्रा मान्छे भए लोकतन्त्रमा दलहरू सुन्दर फूल हुन्’ भन्ने आम धारणा पुनर्स्थापित गर्नुपर्ने स्थिति छ। 

जीवनभर प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा रहेकी कार्कीले मुलुकलाई भू-राजनीतिक चलखेलको क्रीडास्थल हुन नदिने, समयमै चुनाव गराउने, दलहरूलाई चुनावमा भाग लिन सक्ने वातावरण बनाउने, बलियो प्रजातन्त्र स्थापना गर्ने र देश पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी कसरी पूरा गर्छिन्, हेर्न भने बाँकी नै छ।

असोज २०, २०८२ सोमबार १३:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।