जेन-जी आन्दोलनको अनुभव : "उर्जामन्त्रीको घरको पैसा उडेर घरसम्म आइपुग्यो"

हामी बुढानीलकण्ठस्थित पार्क भिलेज नजिकैको चोकमा सात/आठ सय जनाजति जम्मा भएर नारा लगाइरहेका थियौँ। एकैपटक गल्फुटार गौडाबाट एउटा हुल आयो। त्यो हुलमा महिलाभन्दा पुरुषको संख्या धेरै थियो।
बिहान १० बजेदेखि चोकमा विरोध गर्ने भन्ने सन्देश आएको थियो। म सवा दश बजेतिर चोकमा पुगेकी थिएँ। करिब पौने एघार बजेतिर मान्छेहरूको ठूलो भीड जम्मा भइसकेको थियो।
एकैछिन हामी छिमेकीहरूसँग कुरा गर्दै थियौँ। सुमित खरेल लाइभमा गएर सबैलाई परिस्थितिबारे बुझाउँदै हुनुहुन्थ्यो। एक्कासी त्यही गल्फुटार गौडाबाट हुल आयो, जसमा पुरुषहरू धेरै थिए भने महिलाहरू कम।
म प्रदर्शनमा नारा-जुलुससँगै मोबाइलमा समाचार पनि हेरिरहेकी थिएँ। ‘यता पनि जलाइयो, उता पनि जलाइयो’ भन्ने समाचार सुनेपछि यहाँ पनि केही हुन्छ भन्ने आभास भयो र म घर फर्किएँ।
कसको के ‘इन्टेन्सन’ हो, के हो, थाहा भएन। त्यसपछि ऊर्जामन्त्री दीपक खड्काको घर जल्यो। शेरबहादुर देउवा र आरजु राणाको घर पनि जल्न थाल्यो। पैसा उडेर मेरो घरसम्मै आइपुगेको थियो।
बेलुका हामी हिँड्दै त्यहाँ पुगेका पनि थियौँ। हामी पुग्दा घर पूरै दनदनी बलिरहेको थियो। मैले देख्दा दीपक खड्काको घरको ढोका जलिरहेको थियो। त्यहाँ मान्छेहरूको थेगिनसक्नु भीड थियो। शेरबहादुर देउवा र आरजुलाई सेना र सशस्त्रले चौरमा सुरक्षित राखेका थिए।
बुढानीलकण्ठको चोकमा रहेका प्रहरी दिउँसै भागिसकेका रहेछन्। शुरूमा आगजनी त भएको थिएन, तोडफोड भएको रहेछ। पछि त आफूले चिनेजानेको सेना र प्रहरीले ‘आफ्नो सुरक्षा आफैँ गर्नुहोला’ भनेपछि मुटु चिसो भयो, झनै डर लाग्यो।
त्यो समयमा जसले जे गरे पनि हुने अवस्था थियो। केही परिहाल्यो भने कहाँ गएर के भन्नु!
सामाजिक सञ्जालमा ‘यो हुन्छ रे, त्यो हुन्छ रे, सेना बाहिरबाट आउन लागेको छ, भारतको आर्मीको गाडी देखियो’ भन्ने हल्ला उस्तै थियो। जलेका भवनहरू, मान्छे मरिरहेका दृश्यले म विक्षिप्तजस्तै भएँ।
बेलुका सुत्न पनि गाह्रो भयो
म २०४४ सालमा जन्मिएकी हुँ। म जन्मेको दुई वर्षपछि २०४६ सालको आन्दोलन भयो। मलाई त्यसबारे केही थाहा छैन, तर मेरो सासूआमाले धेरै कुरा सुनाउनुहुन्छ। उहाँले देखेको यो तेस्रो आन्दोलन हो, तर ‘यस्तो घटना कहिल्यै देखिनँ’ भनेर मलाई सुनाउनुभयो।
दिनभर कहाँ-कहाँ के-के भयो भन्ने भिडियोहरूले दिमागमा यति हान्यो कि राति सुत्न पनि गाह्रो भयो। ती बच्चाहरूले गोली खाएको देख्दा एकदमै मन दुख्यो।
कल्पनाभन्दा बाहिरको परिवर्तन
पुस्ताको हिसाबले हेर्ने हो भने म जेन-वाईमा पर्छु। हाम्रो पुस्ताले जे सपना देखेको थियो, अहिले जेन-जी पुस्ताले त्यही गरेको हो।
‘यस्तो भइदिए हुन्थ्यो, उस्तो भइदिए हुन्थ्यो’ भनेर सपना देख्ने तर परिवर्तनका लागि निष्क्रिय बस्ने पुस्ता भयौँ हामी।
जेन-जी पुस्ता हामीजस्तो सपना मात्र देखेर निष्क्रिय बसेन । यति छिटो सत्ताको पासा पल्टिन्छ, यति छिटो यो पुस्ताको टाउकोमा जिम्मेवारी आउँछ भनेर न हाम्रो पुस्ताले सोचेको थियो, न त जेन-जी पुस्ताले नै । तर ४८ घण्टामै सत्ता नै उलटपुलट भयो।
आन्दोलनको शैली राम्रो थियो। तर बीचमा धेरैको ज्यान गयो, सार्वजनिक सम्पत्ति नष्ट भयो। यसमा राज्यको दमन जिम्मेवार देखिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा इन्टेन्सन हो। जेन-जी पुस्ताको इन्टेन्सन राम्रो छ।
(भोला अधिकारीसँगको कुराकानीमा आधारित)
असोज १७, २०८२ शुक्रबार १४:०६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।