असोज १७ देखि मनसुन सक्रिय हुने, बालीनालीको उचित व्यवस्थापन गर्न किसानलाई सुझाव

असोज १७ देखि मनसुन सक्रिय हुने, बालीनालीको उचित व्यवस्थापन गर्न किसानलाई सुझाव

काठमाडौं : असोज १७ गतेदेखि मनसुन थप सक्रिय हुने पूर्वानुमानपछि सरकारले किसानलाई सतर्क रहन विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको संयुक्त बुलेटिनमा भारीदेखि अति भारी वर्षाको समयमा कृषि तथा पशुपालनमा विशेष ध्यान दिन किसानलाई आग्रह गरिएको छ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार धान, तरकारीबाली र फलफूललाई सुरक्षित गर्न किसानले तत्कालीन मौसम पूर्वानुमान हेरेर व्यवस्थापन गर्नुपर्ने छ। “धान काटिसकिएको भए भित्र्याउनुपर्छ, नकाटिएको भए पानीको निकासको प्रबन्ध गर्नुपर्छ,” रिमालले भने। 

बुलेटिनमा धानबाली बाहेक तरकारीको नर्सरीमा पानी जम्न नदिने, विषादी छर्क्ने काम तत्काल रोकिने, नदी–खोलाछेउका संरचनाहरूलाई सुरक्षित स्थानमा सार्ने लगायतका सिफारिस गरिएको छ।

यस्तै, मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनीको चास्नी खुवाउन, पशुबस्तुलाई पानीमा भिज्न नदिने, दाना वा पराल ओभानो ठाउँमा मात्र भण्डारण गर्ने सल्लाह दिइएको छ। भिजेको वा ढुसी लागेको दाना–पराल खुवाउँदा पशुबस्तु बिरामी मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सरसम्म हुन सक्ने चेतावनी पनि बुलेटिनमा गरिएको छ।

कुखुराको खोर चिसो र हिलो हुन नदिने, जुम्रा र परजीवी देखिए प्राविधिक सल्लाह लिनुपर्ने, माछापोखरीमा धमिलो पानी मिसिन नदिने र उचित निकासको व्यवस्था गर्नुपर्ने पनि बुलेटिनमा भनिएको छ।

मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अहिले देशभर बदली छ भने शुक्रबारदेखि न्यून चापीय प्रणाली सक्रिय भई धेरै स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ। त्यसैले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

असोज १६, २०८२ बिहीबार ११:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।