एलन मस्कको सम्पत्ति पाँच सय अर्ब डलर नाघ्यो, विश्वकै धनी व्यक्तिको नयाँ रेकर्ड

काठमाडौं : टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको कुल सम्पत्ति (नेटवर्थ) ५०० अर्ब डलर नाघेको छ।
उनका कम्पनीहरू टेस्ला, एक्सएआई र स्पेसएक्सको सेयर मूल्यमा भएको वृद्धिका कारण उनले यो ऐतिहासिक सफलता हासिल गरेका हुन्।
‘फोर्ब्स इन्डेक्स’का अनुसार, बुधबार केही समयका लागि मस्कको सम्पत्ति ५००.१ अर्ब डलर पुगेको थियो। त्यसपछि थोरै घटेर ४९९ अर्ब डलरभन्दा माथि स्थिर रह्यो।
विश्वका धनीहरूको सूचीमा ओरेकल कम्पनीका ल्यारी एलिसन ३५०.७ अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। मस्क उनीभन्दा धेरै अगाडि निस्किएका छन्।
मस्कको सम्पत्तिको मुख्य स्रोत टेस्ला कम्पनीमा रहेको उनको १२ प्रतिशत हिस्सेदारी हो। बुधबार टेस्लाको सेयर ३.३ प्रतिशतले बढेको थियो भने यो वर्ष अहिलेसम्म यसको सेयर मूल्य १४ प्रतिशतले उकालो लागिसकेको छ।
मस्कले गत महिना मात्रै करिब १ अर्ब डलर बराबरको टेस्लाको थप सेयर किनेका थिए। विश्लेषकहरूले यसलाई कम्पनीप्रति उनको बलियो भरोसाको सङ्केतका रूपमा लिएका छन्।
यति ठूलो सफलताका बाबजुद टेस्लाका सामु चुनौतीहरू भने कम छैनन्। विश्वभर विद्युतीय सवारीसाधनको बजारमा प्रतिस्पर्धा तीव्र भइरहेको छ। विशेषगरी चीनको ‘बीवाईडी’जस्ता कम्पनीहरूले टेस्लालाई कडा टक्कर दिइरहेका छन्।
असोज १६, २०८२ बिहीबार ०९:२२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।