तीन वटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा रहन प्राधिकरणको निर्देशन, अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई अपील

तीन वटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा रहन प्राधिकरणको निर्देशन, अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई अपील

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दशैंको मुखमा भारी वर्षाको पूर्वानुमान आएको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई अपील गरेको छ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेसँगै प्राधिकरणले सर्वसाधारण तथा सम्बन्धित निकायलाई विशेष सतर्क रहन आग्रह गरेको हो।

प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको बढी प्रभाव देखिने जनाएको छ। पूर्वानुमान अनुसार नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतराको तह आसपास पुग्न सक्ने चेतावनी दिइएको छ।

विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; तथा मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना उच्च रहेकाले विशेष ध्यान दिन आग्रह गरिएको छ।

दशैंको समयमा मानिसहरूको आवतजावत बढी हुने भएकाले प्राधिकरणले अत्यावश्यक काम बाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

पहिरोको जोखिममा रहेका तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अग्लो र सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक परेमा सर्न तयार रहन समेत प्राधिकरणले आग्रह गरेको छ।

यसका अलावा जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र बाटोको अवस्था हेरेर सवारी साधन सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिन भनिएको छ।

साथै तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सबै सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा जोखिमयुक्त राजमार्ग र सडकहरूमा अवरोध भए तत्काल खुलाउन डोजर, एक्स्काभेटर जस्ता साधनहरू तयारी अवस्थामा राख्न भनिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा हस्ताक्षरित विज्ञप्तिमा पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्न सबैलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय निकायसँग सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ।

असोज १६, २०८२ बिहीबार ०८:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।