अफगानिस्तानमा दुई दिनको दुई दिनको ब्ल्याकआउटपछि इन्टरनेट र मोबाइल सेवा सुचारू

अफगानिस्तानमा दुई दिनको दुई दिनको ब्ल्याकआउटपछि इन्टरनेट र मोबाइल सेवा सुचारू

काबुल : अफगानिस्तानमा दुई दिन देशभर इन्टरनेट र मोबाइल सेवा बन्द भएपछि बुधबारदेखि केही स्थानमा पुनः सञ्चालनमा आएको छ।

अचानक भएको यो बन्दले देशको अर्थतन्त्र ठप्प पारेको थियो, हवाई उडानहरू रोकिएका थिए र आम नागरिकको जीवन अस्तव्यस्त बनेको थियो।

तर, तालिबान सरकारले के कारणले इन्टरनेट बन्द गर्यो र फेरि किन खोल्यो भन्नेबारे अझैसम्म केही बताएको छैन, जसले गर्दा सर्वसाधारणमा त्रास र अनिश्चितता बढेको छ।

सन् २०२१ मा तालिबानले सत्ता सम्हालेदेखि नै विभिन्न प्रतिबन्धका कारण एक्लिएको महसुस गरिरहेका लाखौं अफगानीहरूका लागि यो घटनाले थप डर र अन्योल सिर्जना गरेको छ।

सरकारी अधिकारीहरूले यसबारे कुनै जानकारी दिन मानेका छैनन्। अफगान सञ्चार मन्त्रालयका प्रवक्ता इनायतुल्लाह अलोकोजयले समेत इन्टरनेट काटिनुको कारण आफूलाई थाहा नभएको बताएका छन्।

यो घटना हुनुभन्दा केही हप्ताअघि मात्र देशका सर्वोच्च नेता शेख हैबतुल्लाह अखुन्दजादाले इन्टरनेटमाथि नियन्त्रण गर्न आदेश दिएका थिए, जसअनुसार आधा प्रान्तमा इन्टरनेटमा कडाइ गरिएको थियो। तर, सोमबारदेखि भने देशभर सबै प्रकारका सञ्चार सेवा पूर्ण रूपमा बन्द गरिएको थियो।

यो बन्दले ६० लाख जनसंख्या भएको राजधानी काबुल दुई दिन अस्तव्यस्त बन्यो। बैंकहरू बन्द रहे, सरकारी कार्यालयहरूले राहदानी र परिचयपत्र जस्ता महत्त्वपूर्ण कागजात वितरण रोके, र व्यापार-व्यवसाय पूर्ण रूपमा ठप्प भयो।

सबैभन्दा ठूलो मारमा तालिबान सरकारले विद्यालय जान प्रतिबन्ध लगाएका लाखौं छात्राहरू परेका छन्, जसले अनलाइन शिक्षाका लागि इन्टरनेटमा भर पर्नुपर्थ्यो।

बन्दले मानिसहरूको ज्यान नै जोखिममा परेको थियो। उत्तरी अफगानिस्तानका जावाद मोहम्मदी आफ्ना भाइको मिर्गौलामा भएको पत्थरीको गम्भीर समस्याका कारण उपचारका लागि काबुल आएका थिए। डाक्टरहरूले तत्काल शल्यक्रिया गर्न सुझाए पनि इन्टरनेट बन्द हुँदा उनले आफन्तबाट पैसा मगाउन सकेनन्।

‘अस्पतालले अग्रिम पैसा नतिरेसम्म शल्यक्रिया गर्न मानिरहेको छैन,’ ३७ वर्षीय मोहम्मदीले भने, ‘मसँग अरू कुनै उपाय छैन र के गर्ने भनेर मलाई थाहा छैन।’

असोज १६, २०८२ बिहीबार ०७:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।