२४ घण्टामा भीषण वर्षा : महोत्तरीको गौशालामा २३८ मिमि पानी, तराईमा डुबानको जोखिम

२४ घण्टामा भीषण वर्षा : महोत्तरीको गौशालामा २३८ मिमि पानी, तराईमा डुबानको जोखिम

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा, विशेषगरी तराईका भू-भागमा, भीषण वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी महोत्तरीको गौशालामा २३८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

विभागको वर्षा मापन नक्सा (रेनफल वाच म्याप) अनुसार, गौशालापछि सबैभन्दा बढी पानी पर्ने स्थानमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कौली रहेको छ, जहाँ १५०.८ मिलिमिटर वर्षा मापन भएको छ।

यसैगरी, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका तराई तथा चुरे क्षेत्रका अन्य थुप्रै स्थानहरूमा पनि भारी वर्षा भएको छ।

यसका अलावा सिन्धुली, सर्लाही, रौतहट, बारा, चितवन लगायतका जिल्लाका विभिन्न केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

एकैदिन यति ठूलो मात्रामा वर्षा हुँदा तराईका होचा भू-भागमा डुबानको जोखिम बढेको छ भने नदी तथा खहरे खोलाहरूमा पानीको बहाव बढेको छ।

विभागले भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

असोज १६, २०८२ बिहीबार ०७:३९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।