भोलिदेखि चार दिन भारी वर्षाको पूर्वानुमान, यी जिल्लामा बाढी र पहिरोको उच्च जोखिम

भोलिदेखि चार दिन भारी वर्षाको पूर्वानुमान, यी जिल्लामा बाढी र पहिरोको उच्च जोखिम
फाइल तस्बिर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालमा पुनः मनसुनी गतिविधि सक्रिय हुने जनाएको छ।

विभागका अनुसार भोलिदेखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले शुक्रबार साँझ एक विशेष विज्ञप्ति जारी गर्दै भारतको ओडिसाबाट मध्य भारततर्फ सरिरहेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी मनसुन सक्रिय हुन लागेको बताएको हो। यसको प्रभाव खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिने पूर्वानुमान छ।

विश्लेषणअनुसार, उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र केही स्थानमा खतराको तहसम्म पुग्न सक्ने देखिएको छ।

साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रबाट बहने साना नदीहरूमा आकस्मिक बाढीको समेत सम्भावना रहेको छ।

विभागले विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लाका साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेकोले असोज १८ देखि २० गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

भारी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो र भू-क्षय जस्ता विपद्का साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्न आग्रह गरिएको छ।

विभागले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई हार्दिक अपिल गरेको छ।

विभागले आफूले मौसम र बाढीको अवस्थाको नियमित अनुगमन गरिरहेको र अद्यावधिक जानकारी आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल-फ्री नम्बर ११५५ तथा एसएमएसमार्फत प्राप्त गर्न सकिने जनाएको छ।

असोज १६, २०८२ बिहीबार ०७:२०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।