आज बडादशैं : मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै, उत्तम साइत ११:५३ मा

आज बडादशैं : मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै, उत्तम साइत ११:५३ मा

काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी। देशभर दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ।

आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्वमा घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको घडाबाट अभिषेक गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ।

आज गुरु पुरोहित, हजुरबुबा-हजुरआमा, बुवा-आमा तथा अन्य मान्यजनबाट टीका थाप्दा यश, ऐश्वर्य, उन्नति र दीर्घायुको आशीर्वाद लिइन्छ।

टीकाको उत्तम साइत र विधि
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ।

यद्यपि, विजयादशमीको दिन आफैंमा शुभ भएकाले साइत नभ्याउने सर्वसाधारणले दिनभरि नै टीका ग्रहण गर्न सक्ने समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।

उनी भन्छन्, ‘दशैं आफैंमा शुभ दिन हो, त्यसैले प्रसाद ग्रहण गर्न सर्वसाधारणले साइत कुर्नु पर्दैन। तर, राज्य सञ्चालक तथा विशिष्ट व्यक्तिहरूले भने उत्तम साइतमै टीका लगाउनु शास्त्रीय मान्यताअनुसार राम्रो मानिन्छ।’

टीका लगाउनुअघि बिहान देवी विसर्जन गर्नुपर्ने शास्त्रीय नियम छ। यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ।

तर, काम विशेष वा यात्राका लागि चाँडै निस्कनुपर्नेहरूले झुल्के घाममै दुर्गा विसर्जन गरेर टीका लगाउन सक्ने सुविधा रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

टीका लगाउँदा लगाइदिने व्यक्ति पश्चिम फर्किएर र टीका थाप्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने शास्त्रीय मान्यता छ। दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित भएकाले दशैंको टीका लगाउँदा पूर्व-पश्चिम फर्कनुलाई उत्तम मानिन्छ।

कोजाग्रत पूर्णिमासम्म टीका
आजदेखि शुरू भएको टीका लगाउने र आशीर्वाद थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

विभिन्न कारणले आज टीका लगाउन नभ्याउने वा टाढा रहेका आफन्तजनले पूर्णिमासम्म मान्यजनको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गर्न सक्नेछन्। घटस्थापनामा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूपमा ग्रहण गर्ने गरिन्छ।

यो पर्व नेपालभर र विदेशमा रहेका नेपालीहरूले समेत आफ्नो परम्परा र संस्कृतिअनुसार हर्षोल्लासपूर्वक मनाउने गर्छन्। कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना गरेपछि दशैं पर्व विधिवत् रूपमा समापन हुन्छ।

असोज १६, २०८२ बिहीबार ०७:०८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।