पुनः पतन

काठमाडौं : १० वर्षको सशस्त्र संघर्षबाट उदाएका प्रचण्ड जब संसदीय अभ्यासमा सक्रिय भए, तब उनले भूमिगत कालको आफ्नो क्रान्तिकारी र परिवर्तनकारी चरित्र जोगाउन सकेनन्। क्रान्तिको आवरणमा उनीभित्र लुकेको अवसरवादी चरित्र उदांगो भयो।
अवसरवादीको सबैभन्दा पहिलो चरित्र हो- सिद्धान्तहीनता। उसका लागि विचार, नीति, पार्टी वा आदर्शमा कुनै स्थायित्व हुँदैन। जसले मौका दिन्छ, उसकै पक्षमा उभिनु नै उसको मूल चरित्र हो। यो विशेषतालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चरित्रसँग दाँज्दा उनको सक्कली अनुहार देखिन्छ।
धैरै पर जानु पनि पर्दैन, २०७९ सालको निर्वाचनपछिको उनको चरित्र हेरे पुग्छ। ३२ सिटसहित प्रतिनिधिसभाको तेस्रो शक्तिमा खुम्चिएका उनले प्रधानमन्त्री हुने लोभकै लागि कहिले एमालेसँग गठबन्धन गरे त कहिले कांग्रेससँग। करिब दुई वर्ष प्रधानमन्त्री हुँदा उनले तीन पटक गठबन्धन बदले।
एमालेसँग गठबन्धन बनाएर प्रधानमन्त्री बनेका उनले दुई महिनामै गठबन्धन तोडेर नेपाली कांग्रेससँग मिली प्रधानमन्त्री पद जोगाए। गठबन्धन तोड्नुको निहुँ उनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको चयनलाई बनाए।
राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौला कि माओवादीका नारायण दाहाल भन्ने विवादमा २०८० फागुनको अन्त्यतिर पुनः माओवादी र कांग्रेसको गठबन्धन टुट्यो। प्रचण्ड पुनः एमालेको समर्थनमा प्रधानमन्त्री पद जोगाउन सफल भए।
अन्ततः कांग्रेस र एमाले मिलेर २०८१ असारमा प्रचण्डलाई सत्ताबाट बाहिर पठाए र कार्यकाल बाँडफाँट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए।
अवसरवादको अर्को चरित्र हो-आन्दोलनमा हुँदा क्रान्तिकारी, सत्ता पाउँदा शासक; विपक्षमा हुँदा आलोचक, सत्ता नजिक पुग्दा सम्झौतावादी। यो ठ्याक्कै उनको चरित्रसँग मेल खान्छ।
सशस्त्र संघर्षको समयमा उनको छवि चमत्कारी थियो, तर जब-जब उनी सत्तामा लुटपुटिन थाले, उनको सक्कली चरित्र उदांगो हुँदै गयो। प्रतिपक्षी हुँदा क्रान्तिकारी देखिने प्रचण्ड सरकारमा जान जुनसुकै हदसम्म पनि जान सक्ने चरित्रमा बदलिए। उनी र उनका परिवारका सदस्यहरू व्यक्तिगत लाभ, पद वा शक्तिको अवसरका लागि जुनसुकै हद पार गर्न पछि परेनन्।
व्यक्तिगत सम्पत्तिसमेत पार्टीलाई दान दिएको दाबी गर्ने नेताको जीवनशैली अति विलासी भयो। उनी परिवारका लागि राज्यस्रोतको चरम दोहन गर्न पछि परेनन्। छोरा प्रकाश दाहाल जीवित रहुन्जेल उनले सत्तामा हालिमुहाली गरे। उनको मृत्युपछि प्रचण्डकी छोरी गंगा दाहाल बिचौलियाका रूपमा उदाएको आरोप लाग्यो।
अवसरवादी नेताहरूका सहकर्मी निश्चित हुँदैनन्। कहिले एउटासँग, कहिले अर्कासँग हात मिलाउने र दीर्घकालीन प्रतिबद्धताभन्दा तत्कालको फाइदालाई प्राथमिकता दिने उनको छवि छरपस्टै भयो।
नागरिकमाझ उनी भ्रष्टाचारका कडा विरोधी देखिन्थे, तर जब सत्तामा पुग्थे, अनियमिततामा चुर्लुम्मै डुब्थे। आवश्यकताका आधारमा मित्र र शत्रु चयन गर्ने र परेका बेला आफ्ना समर्थकलाई समेत धोका दिँदा उनी पार्टीमा एक्लिँदै गए।
सहकर्मी, साथी वा गठबन्धनलाई मौका पाउनासाथ जुनसुकै बेला धोका दिन पछि नपर्ने उनको विश्वासघाती छविका कारण नै सशस्त्र संघर्षकालका सहयात्री डा. बाबुराम भट्टराईदेखि पछि रामबहादुर थापा ‘बादल’सम्मले उनको साथ छाडे। आफ्नै गुरु मोहन वैद्यसमेत उनीसँग रहन सकेनन्।
अवसर पाएपछि चुनावी वाचा गर्ने, नागरिकलाई विकासको आश्वासन दिने तर व्यवहारमा पूरा नगर्ने अवसरवादकै चरित्र हो। सत्तामा रहँदाका प्रचण्डको बोली र उनी प्रतिपक्षी हुँदाको बोली दाँज्दा नै उनको यो चरित्र पुष्टि हुन्छ। जेन-जी पुस्ताको आन्दोलनताका प्रचण्ड सत्तामा थिएनन्, तर सत्ता बदल्ने खेल भने छाडेका थिएनन्।
भदौ २३ गते नयाँबानेश्वरको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर १९ जना मारिएको विवरण सार्वजनिक हुँदासमेत उनी केपी ओलीको सरकार ढालेर कांग्रेससँगको गठबन्धनमा माओवादीसहितको सरकार बनाउन सक्रिय थिए।
तर, युवा पुस्ताको आक्रोश कुनै नेता वा पार्टी विशेषविरुद्ध मात्र थिएन। उनी पनि यो आक्रोशबाट जोगिन सकेनन्। १० वर्षको सशस्त्र संघर्षमा समेत सुरक्षित रहेका प्रचण्ड युवा पुस्ताको आक्रोशबाट जोगिन सिंहदरबारबाट भागेर सेनाको गणमा पुग्न बाध्य भए। चितवन र काठमाडौंका घर खरानी भए। यो आक्रोशको आगोमा सरकारी सम्पत्ति मात्र होइन, प्रचण्डको नक्कली क्रान्तिकारी छवि पनि खरानी भयो।
आफ्नो अवसरका लागि जस्तोसुकै निर्णय गर्न पनि पछि नहट्ने प्रचण्ड राजनीतिक खेलमा पटक-पटक पतन भइरहेका थिए। जेन-जी पुस्ताको आन्दोलनले उनलाई पुनः पतन गरायो।
१० वर्षको सशस्त्र संघर्षबाट उदाएका प्रचण्ड जब संसदीय अभ्यासमा सक्रिय भए, तब उनले भूमिगत कालको आफ्नो क्रान्तिकारी र परिवर्तनकारी चरित्र जोगाउन सकेनन्। क्रान्तिको आवरणमा उनीभित्र लुकेको अवसरवादी चरित्र उदांगो भयो।
अवसरवादीको सबैभन्दा पहिलो चरित्र हो- सिद्धान्तहीनता। उसका लागि विचार, नीति, पार्टी वा आदर्शमा कुनै स्थायित्व हुँदैन। जसले मौका दिन्छ, उसकै पक्षमा उभिनु नै उसको मूल चरित्र हो। यो विशेषतालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चरित्रसँग दाँज्दा उनको सक्कली अनुहार देखिन्छ।
धैरै पर जानु पनि पर्दैन, २०७९ सालको निर्वाचनपछिको उनको चरित्र हेरे पुग्छ। ३२ सिटसहित प्रतिनिधिसभाको तेस्रो शक्तिमा खुम्चिएका उनले प्रधानमन्त्री हुने लोभकै लागि कहिले एमालेसँग गठबन्धन गरे त कहिले कांग्रेससँग। करिब दुई वर्ष प्रधानमन्त्री हुँदा उनले तीन पटक गठबन्धन बदले।
एमालेसँग गठबन्धन बनाएर प्रधानमन्त्री बनेका उनले दुई महिनामै गठबन्धन तोडेर नेपाली कांग्रेससँग मिली प्रधानमन्त्री पद जोगाए। गठबन्धन तोड्नुको निहुँ उनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको चयनलाई बनाए।
राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौला कि माओवादीका नारायण दाहाल भन्ने विवादमा २०८० फागुनको अन्त्यतिर पुनः माओवादी र कांग्रेसको गठबन्धन टुट्यो। प्रचण्ड पुनः एमालेको समर्थनमा प्रधानमन्त्री पद जोगाउन सफल भए।
अन्ततः कांग्रेस र एमाले मिलेर २०८१ असारमा प्रचण्डलाई सत्ताबाट बाहिर पठाए र कार्यकाल बाँडफाँट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए।
अवसरवादको अर्को चरित्र हो- आन्दोलनमा हुँदा क्रान्तिकारी, सत्ता पाउँदा शासक; विपक्षमा हुँदा आलोचक, सत्ता नजिक पुग्दा सम्झौतावादी । यो ठ्याक्कै उनको चरित्रसँग मेल खान्छ।
सशस्त्र संघर्षको समयमा उनको छवि चमत्कारी थियो, तर जब-जब उनी सत्तामा लुटपुटिन थाले, उनको सक्कली चरित्र उदांगो हुँदै गयो। प्रतिपक्षी हुँदा क्रान्तिकारी देखिने प्रचण्ड सरकारमा जान जुनसुकै हदसम्म पनि जान सक्ने चरित्रमा बदलिए। उनी र उनका परिवारका सदस्यहरू व्यक्तिगत लाभ, पद वा शक्तिको अवसरका लागि जुनसुकै हद पार गर्न पछि परेनन्।
व्यक्तिगत सम्पत्तिसमेत पार्टीलाई दान दिएको दाबी गर्ने नेताको जीवनशैली अति विलासी भयो। उनी परिवारका लागि राज्यस्रोतको चरम दोहन गर्न पछि परेनन्। छोरा प्रकाश दाहाल जीवित रहुन्जेल उनले सत्तामा हालिमुहाली गरे। उनको मृत्युपछि प्रचण्डकी छोरी गंगा दाहाल बिचौलियाका रूपमा उदाएको आरोप लाग्यो।
अवसरवादी नेताहरूका सहकर्मी निश्चित हुँदैनन्। कहिले एउटासँग, कहिले अर्कासँग हात मिलाउने र दीर्घकालीन प्रतिबद्धताभन्दा तत्कालको फाइदालाई प्राथमिकता दिने उनको छवि छरपस्टै भयो।
नागरिकमाझ उनी भ्रष्टाचारका कडा विरोधी देखिन्थे, तर जब सत्तामा पुग्थे, अनियमिततामा चुर्लुम्मै डुब्थे। आवश्यकताका आधारमा मित्र र शत्रु चयन गर्ने र परेका बेला आफ्ना समर्थकलाई समेत धोका दिँदा उनी पार्टीमा एक्लिँदै गए।
सहकर्मी, साथी वा गठबन्धनलाई मौका पाउनासाथ जुनसुकै बेला धोका दिन पछि नपर्ने उनको विश्वासघाती छविका कारण नै सशस्त्र संघर्षकालका सहयात्री डा. बाबुराम भट्टराईदेखि पछि रामबहादुर थापा ‘बादल’सम्मले उनको साथ छाडे। आफ्नै गुरु मोहन वैद्यसमेत उनीसँग रहन सकेनन्।
अवसर पाएपछि चुनावी वाचा गर्ने, नागरिकलाई विकासको आश्वासन दिने तर व्यवहारमा पूरा नगर्ने अवसरवादकै चरित्र हो। सत्तामा रहँदाका प्रचण्डको बोली र उनी प्रतिपक्षी हुँदाको बोली दाँज्दा नै उनको यो चरित्र पुष्टि हुन्छ। जेन-जी पुस्ताको आन्दोलनताका प्रचण्ड सत्तामा थिएनन्, तर सत्ता बदल्ने खेल भने छाडेका थिएनन्।
भदौ २३ गते नयाँबानेश्वरको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर १९ जना मारिएको विवरण सार्वजनिक हुँदासमेत उनी केपी ओलीको सरकार ढालेर कांग्रेससँगको गठबन्धनमा माओवादीसहितको सरकार बनाउन सक्रिय थिए।
तर, युवा पुस्ताको आक्रोश कुनै नेता वा पार्टी विशेषविरुद्ध मात्र थिएन। उनी पनि यो आक्रोशबाट जोगिन सकेनन्। १० वर्षको सशस्त्र संघर्षमा समेत सुरक्षित रहेका प्रचण्ड युवा पुस्ताको आक्रोशबाट जोगिन सिंहदरबारबाट भागेर सेनाको गणमा पुग्न बाध्य भए। चितवन र काठमाडौंका घर खरानी भए। यो आक्रोशको आगोमा सरकारी सम्पत्ति मात्र होइन, प्रचण्डको नक्कली क्रान्तिकारी छवि पनि खरानी भयो।
आफ्नो अवसरका लागि जस्तोसुकै निर्णय गर्न पनि पछि नहट्ने प्रचण्ड राजनीतिक खेलमा पटक-पटक पतन भइरहेका थिए। जेन-जी पुस्ताको आन्दोलनले उनलाई पुनः पतन गरायो।
असोज १९, २०८२ आइतबार ०७:१९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।