लोभले विलाप

हिँड्न पनि सहारा चाहिने अवस्थामा पुगिसके पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री हुने तयारीमा थिए। माओवादी र एमालेको गठबन्धन भत्काएर नयाँ समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनी ‘पर्खाइका’ प्रधानमन्त्रीका रूपमा बसेका थिए।
पाँच पटक प्रधानमन्त्री बनेको इतिहास बनाइसकेका उनी शारीरिक रूपमा हिँड्न पनि अरूले सघाउनुपर्ने अवस्थामा पुगिसकेका थिए। तर, ज्योतिषले छैटौँ पटक प्रधानमन्त्री हुने योग छ भनेको आधारमा उनी पुनः प्रधानमन्त्री हुने दाउमा थिए।
तर, युवा पुस्ताको आन्दोलनले उनको छैटौँ पटक बालुवाटारस्थित प्रधानमन्त्री निवास जाने बाटो मात्र बन्द गरिदिएन, उनी आक्रोशित नागरिकबाट आफ्नै निवासमा कुटिने पूर्वप्रधानमन्त्रीसमेत बने । धन्न सेनाले बेलैमा हस्तक्षेप गरेकाले उनको ज्यान भने जोगियो।
अब सत्तालोभी नेताका केही चरित्रबारे उल्लेख गरौँ। यस्ता नेताका लागि सिद्धान्तभन्दा पद र शक्ति प्राप्ति नै प्रमुख ध्येय हुन्छ। देउवाले पहिलो पटक प्रधानमन्त्री बन्दा नै २०४६ सालको आन्दोलनबाट पाखा लगाइएको राजावादी शक्तिको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा २०५२ सालमा प्रधानमन्त्रीको पद सम्हालेका थिए।
लोभी नेताको अर्को चरित्र हो, परिस्थिति हेरेर पार्टीको प्राथमिकता बदल्न पछि नपर्नु। देउवाले यही चरित्र पुष्टि गरे। सेना परिचालनबारे तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग मतभेद भएपछि गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए । त्यसपछि २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री बनेका देउवाले संसद् विघटन गराए।
लोभी नेताको अर्को विशेषता हो- गुटबन्दीप्रतिको मोह। पार्टीमा उनी कृष्णप्रसाद भट्टराईजस्ता सन्त नेताका उत्तराधिकारीका रूपमा सक्रिय थिए र गिरिजाप्रसादको पेलाहा व्यवहारका बीच पनि पार्टीमा टिकिरहेका थिए। तर जब उनले संसद् विघटन गरे, नेपाली कांग्रेसले उनलाई पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गऱ्यो। त्यसपछि आफ्नो गुटलाई समेटेर ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ गठन गरेका उनलाई ज्ञानेन्द्रले प्रधानमन्त्री बन्न बोलाए । लगत्तै ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भन्दै उनी तेस्रो पटक प्रधानमन्त्री बने, तर पछि उनैबाट बर्खास्त भए।
लोभी नेताका लागि आन्दोलन, राष्ट्रवाद, धर्म, जाति वा विकास प्राथमिकतामा पर्दैनन्। देउवाको चरित्र पनि यस्तै देखियो। २०७४ सालमा उनी राप्रपासहितको समर्थनमा पुनः प्रधानमन्त्री नियुक्त भए, तर उनको सरकार लामो समय चल्न सकेन।
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै दुवै दलको बहुमत आयो र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलमा खुम्चियो। तर नेकपामा आन्तरिक द्वन्द्व चर्किएसँगै केपी ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले विपक्षी दलको नेताका रूपमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय नै तोकिदिएपछि उनी २०७८ सालमा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भए।
२०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल भए पनि कांग्रेसले सरकार बनाउन आवश्यक बहुमत पाएन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पहिलो कार्यकालमा को प्रधानमन्त्री बन्ने भन्ने विवाद चर्किएसँगै प्रचण्ड एमालेसँग मिलेर सरकार बनाउन गए।
पछि, राष्ट्रपति निर्वाचनको विषयमा एमाले अध्यक्ष केपी ओलीसँग प्रचण्डको विवादमा खेल्दै देउवाले पुनः उनलाई फकाएर आफ्नो गठबन्धनमा ल्याई प्रधानमन्त्री बनाए। तर, राष्ट्रिय सभा अध्यक्ष चयनको विषयमा प्रचण्डले फेरि धोका दिएर एमालेसँगै मिलेपछि लोकतान्त्रिक अभ्यासमा बिरलै देखिने गरी संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बन्यो। ओलीसँग बाँकी कार्यकाल बाँडेर उनी छैटौँ पटक प्रधानमन्त्री हुने समय कुरेर बसेका थिए।
लोभी नेताको अर्को चरित्र हो, पदमा रहँदा व्यक्तिगत सम्पत्ति, परिवार र नजिकका व्यक्तिको लाभलाई प्राथमिकता दिने । देउवाको परिवार यसमा सबैभन्दा धेरै बदनाम भयो। श्रीमती आरजु राणा नजोडिएको आर्थिक विवाद कमै भए। पछि त उनका छोरा जयवीर पनि आर्थिक विवादमा तानिन थाले।
कुशासन र भ्रष्टाचारले वाक्क भएको नयाँ पुस्ता सडकमा आएर प्रधानमन्त्री बन्ने दिनको प्रतीक्षामा रहेका देउवालाई बुढानीलकण्ठबाट बालुवाटार जाने बाटो बन्द गराउँदै सैनिक अस्पताल, छाउनी पुऱ्यायो।
नेपाल विद्यार्थी संघको पहिलो अध्यक्ष हुँदै राजनीतिमा उदाएका उनी २०५२ सालमै प्रधानमन्त्री भएका थिए। तर, प्रधानमन्त्री भएको ३० वर्षपछि पनि त्यो लोभ त्याग्न सकेनन्। पार्टीमा पुस्तान्तरणको बहस चर्किए पनि गुटको बलमा उनी बलियो बनिरहे । तर २०८२ भदौ २४ को जेन-जी पुस्ताको आन्दोलन थेग्न सकेनन् उनले। आफ्नै घरमा कुटिएर ज्यान जोगाउन सुरक्षाकर्मीको सहारा लिन बाध्य भए।
असोज १८, २०८२ शनिबार ०९:५४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।