सुरक्षाकर्मी कि बुख्याचा  !

सुरक्षाकर्मी कि बुख्याचा  !

झमक्क साँझ परिसकेको थियो। सडकमा बत्ती बलेका थिएनन्। म लाजिम्पाटबाट नारायणहिटीको छेउ हुँदै नक्सालतिर हिँड्दै थिएँ। गस्ती गरिरहेका, ठूला बन्दुक बोकेका सुरक्षाकर्मी मेरै छेउमा थिए। अनायासै मनमा एउटा शब्द आयो- बुख्याचा !

कामविशेषले राति ९-१० बजे बत्ती बलेको बाटोमा हिँड्दा प्रायः डर लाग्दैनथ्यो। कहिलेकाहीँ डर लागे पनि सुरक्षाकर्मी देखेपछि ढुक्क हुन्थ्यो। तर यस पटक अँध्यारोको ‘डर’ले मन थामिएन, झन् बढ्दै गयो। यो बेला आफ्नो सुरक्षा आफैँले गर्ने हो भन्दै पाइला छिटो-छिटो बढाएँ।

बुख्याचाको कथा !

यो पटक पनि दशैं आयो। कुरा अहिलेको होइन, १० वर्षअघिको दशैंको हो, ठ्याक्कै संविधान जारी भएको वर्ष- २०७२ सालको दशैं। संविधान लिएर आएको त्यो दशैंमा सधैँ झैँ दिदी, बहिनी र म घर गयौँ। घर गएपछि दुई काम गर्नैपर्ने: पहिलो, डाँडाको बारीको बोडी टिप्ने र दोस्रो, देवीथान र मनकामनाथान गएर पूजा गर्ने।

त्यो महाअष्टमीको दिन थियो। कालरात्रिमा हुने बलिपूजा छोडेर दशैंमा नरिवल चढाउन थालेको धेरै भएको थिएन। दुई दिदीको विवाहपछि घटेर पाँच जना भएको हाम्रो परिवारमा कसैले मासु खाँदैनथ्यो।

डाँडामा थियो मनकामना थान। देवीथानको पूजा गरेपछि मनकामना थान जानैपर्ने। नौ-नौ वटा टुप्का वा सेलरोटी चढाउनैपर्ने। पूजामा त मलाई रुचि थिएन, तर पूजा सकिएपछिको टुप्का घर आइपुग्दानपुग्दै सकिन्थ्यो। त्यही टुप्का खाने लोभ र डाँडाको पाखोमा भएको बोडी टिप्न हामी मनकामना थान गयौँ। घरदेखि आधा घण्टा लाग्थ्यो, तर त्यो मनकामना थानबाट हाम्रो घर देखिन्थ्यो। जति टाढा गए पनि आफ्नो घर देखिन्छ कि देखिँदैन भनेर हेर्नु स्वभाव नै हो। त्यस दिन पनि मैले फरक्क फर्केर घर हेरेँ।

मनकामना थानमा दिदीले पूजा गरिन्। बहिनी र म मनकामना थान घुम्यौँ। तीन फेर घुमेपछि चौतारामा बसेर टुप्का खाने भन्दै अलिक बेर हिँडेर चौतारामा पुग्यौँ। त्यहाँ कालो बाँदर औधी लाग्थ्यो। ममीले ‘धेरै बेर नबस्नू, आइहाल्नू’ भन्नुभएकै थियो। तर तीन दिदीबहिनी भएपछि संसार जितेजस्तो लाग्ने हामीले कसलाई पो टेर्थ्यौँ र !

टुप्का खाँदै थियौँ। अलि पर अरूको बारी थियो। बारीमा बाँदरले बोडी नखाओस् भनेर बुख्याचा राखिएको रहेछ। ममीले भनेजस्तो कालो होइन, रातो बाँदर आयो। एक्लै आएको बाँदर बुख्याचा देखेपछि तर्सियो। ऊ बुख्याचा नजिक जाँदै, फर्कंदै गर्न थाल्यो। फेरि नजिक गएर चड्याम्म बुख्याचाको गालामा एक चड्कन लगायो अनि फरक्क फर्केर हेर्यो।

त्यो एक्लो बाँदरको रमिता देखेर हामी तीन दिदीबहिनीको हाँसो खपिनसक्नु भयो। डाँडो नै थर्किने गरी हाँस्यौँ। त्यो बाँदरले तीन-चार पटक बुख्याचालाई पड्काउने अनि फर्कने गर्दा पनि केही नभएपछि उसको आत्मविश्वास ह्वात्तै बढेछ क्या हो, नजिकै गएर त्यो बुख्याचालाई नाङ्गैझार पारेर भत्काइदियो। एक्लो बाँदरले एउटा बुख्याचालाई गन्दै गनेन।

अलि पर फेरि अर्को दृश्य देखियो। गह्रापिच्छे अरू पनि बुख्याचाहरू थिए। एक हुल बाँदर आयो, उनीहरू हच्किएनन्। बुख्याचाहरूलाई भुत्लाइदिए अनि बोडी खानुसम्म खाएर गए। यो रमिता हेरिरहेका हामी बाँदरले खाएर बचेको बोडी लिएर घर गयौँ। घर नपुग्दै हामीले टिपेर लगेको बोडी देखेर बाबा-ममी दुवैजना हल्का रिसाउँदै भन्नुभयो, ‘तीन जना गएपछि बाँदर लखेट्नुपर्दैन ? के गरी खान्छन् यिनले !’

अब सुरक्षाकर्मीको कथा !

२०८२ साल ! जनताको संविधान आएको १० वर्ष पुगेको थियो। सुशासन र निषेध गरिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने माग लिएर भदौ २३ गते सडकमा उत्रिएका जेन-जी समूहलाई सरकारले ताकी-ताकी घातक हतियार प्रयोग गरेर ‘हत्या’ गऱ्यो। सामाजिक सञ्जाल निषेध मन्त्रिपरिषद्ले गरे पनि त्यसको नेतृत्व मेरै जिल्लाका प्रतिनिधि पृथ्वीसुब्बा गुरुङले गरेका थिए।

उनको बोली छुद्र त थियो नै, व्यवहार पनि सामन्ती देखियो। मिडिया हेरेरै त हो, जनताले नेताप्रति धारणा बनाउने। ‘आईजीपीको जिब्रो थुत्नुपर्छ’ भन्नेजस्ता शब्द बोल्न समेत पछि परेनन् उनी। हुन त उनलाई लमजुङमा २०६४ सालअघि ‘बाहुनलाई काशी, क्षेत्रीलाई फाँसी’ भनेर नारा लगाएको भनेर अहिले पनि कुरा काटिन्छ। तर पदको अगाडि यस्ता नाथे विरोधले के गर्छ र !

भदौ २३ गते नै १९ युवा मारिए। त्यसपछिको माहोल साम्य भएन। २४ गते जल्न बाँकी केही रहेन। सिंहदरबार, सर्वोच्च अदालतदेखि निजी व्यवसायीका पसलसमेत जले। तर अचम्म, गणतन्त्रका प्रतीकहरू जल्दै गर्दा पूर्वराजपरिवारका समर्थकहरूका केही जलेनन्।

उनीहरूलाई साथ दिने व्यक्तिदेखि निकायसम्म केही जलेनन्। यसको अर्थ जल्नुपर्थ्यो भन्ने होइन, तर प्रश्न त उठ्छ नि ! जेन-जीको नाउँमा कसले जलायो गणतन्त्रका यी धरोहरहरू ? केही गल्ती नै नगरेका नेताका घरमा समेत आगो झोसियो। द्वन्द्वकालमा आत्मसमर्पण गरेपछि त विद्रोही पक्षले समेत सहानुभूति राख्छ, तर यहाँ निरीह अवस्थामा देखिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बहालवाला परराष्ट्रमन्त्री आरजु देउवामाथि सुरक्षा घेराभित्रै मरणासन्न हुने गरी कुटपिट गरियो।

उनीहरूको गल्ती थियो होला, तर घरैमा बसेका बेला सुरक्षाकर्मीको घेरामै कुटिने र हातमा कानुन लिने वातावरण कसले सिर्जना गऱ्यो ? सेना र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहेका बहालवाला मन्त्री र पूर्वप्रधानमन्त्री एक-डेढ सयको भीडबाट जोगिएनन्। हतियारसहित खैरो अनि हरियो पोशाक लगाएका सुरक्षाकर्मी त्यही बारीको बुख्याचासरह साबित भए।

नेपाली शब्दकोशअनुसार, बुख्याचा र सुरक्षाकर्मीको अर्थबीच ठूलो अन्तर छ। बुख्याचाको अर्थ ‘खेतबारीको बालीनालीका बीचमा राखिने, मान्छेको छाँटको तर्साउने वस्तु, जुलुङ्गो’ हो। ‘सुरक्षा’को अर्थ राम्रो बचाउ वा समुचित रक्षा हो भने ‘कर्मी’को अर्थ दत्तचित्त भएर काममा खट्ने कर्मठ व्यक्ति हो।

शब्दको अर्थमा धेरै भिन्नता भए पनि भदौ २४ गतेको विध्वंसमा नेपाली सुरक्षाकर्मी बुख्याचाकै भूमिकामा देखिए। जसरी बुख्याचाले एक्लै हिँडेको बाँदरलाई मात्रै तर्साएर बाली बचाउँछ, नेपालका सुरक्षाकर्मी पनि अप्ठ्यारो नपरेको बेला मात्रै देशका मुख्य निकायका ढोकामा बसेर नागरिकलाई तर्साउँछन्।

बाँदरहरू हुल बाँधेर आए पनि, एक्लै आए पनि बुख्याचाले बाली जोगाउन सक्दैन। त्यसैगरी, सुरक्षाकर्मीले पनि ठूलो भीडलाई तितरबितर पारेर राज्यका प्रमुख अंग जोगाउन सक्दैनन् भन्ने भदौ २४ ले देखायो।

गाउँतिर अहिले भन्छन्, ‘पहिले बुख्याचा देखेर बाँदर तर्सिन्थे, अहिले तर्सिँदैनन्।’ केही गाउँपालिकाले त बन्दुकको जस्तो आवाज निकाल्ने मेसिन नै किनेर लगे। थाहा छैन, नक्कली बन्दुकले कहिलेसम्म बाँदर तर्सिएलान्।

यता सिंहदरबारको सुरक्षा दिनेको हातमा पनि राइफल छ, तर सिंहदरबार जलाउनेलाई त्यो बन्दुक गुलेलीजस्तो पनि लागेन। उनीहरू सरसर्ती भित्र पसे, जलाउनुपर्ने भवन जलाए अनि निस्किए। ‘बुख्याचा’हरू भागे।

हातमा राइफल छ भन्दैमा ड्याम्मै ठोक्ने भनेको होइन, तर त्यसका पनि चरण हुन्छन् होला। देश नै खरानी हुँदा पनि मूकदर्शक बन्न जनताको करबाट उनीहरूलाई ब्यारेकमा पालेको त पक्कै होइन। बानेश्वरको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने तर दंगाको शैलीमा सिंहदरबार जलाउँदा ट्वाँ परेर बस्ने ती सुरक्षाकर्मी हुन् कि बुख्याचा?

असोज १६, २०८२ बिहीबार १३:४९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।