सन्दीप लामिछानेको ‘ल्याङल्याङ’ अनि क्यानको लाचारी

सन्दीप लामिछानेको ‘ल्याङल्याङ’ अनि क्यानको लाचारी

नेपाली क्रिकेटमा सन्दीप लामिछाने एक स्टार खेलाडीका रूपमा उदाए। चितवनको एउटा सानो एकेडेमीदेखि विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सम्मको उनको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन।

सन्दीपको ‘लेग स्पिन’को जादूले नेपाललाई विश्व क्रिकेटको नक्सामा एउटा छुट्टै पहिचान दिएको सत्य हो। उनको प्रतिभा निर्विवाद छ, तर यही प्रतिभाको आडमा उनले क्रिकेट संस्थालाई जसरी घुँडा टेकाएका छन्, त्यो नेपाली क्रिकेटको सबैभन्दा ठूलो दुर्भाग्य हो।

नेपाल क्रिकेट संघ (क्यान)को पक्षपातपूर्ण व्यवहारको सबैभन्दा ज्वलन्त उदाहरण हो-मोहम्मद आदिल आलम र सन्दीप लामिछानेमाथिको फरक व्यवहार। स्पट फिक्सिङ आरोपमा अदालतले सफाइ दिएपछि पनि आदिल आलमले लामो समयसम्म निलम्बन भोग्नुपर्यो। उनलाई राष्ट्रिय मात्र होइन, घरेलु क्रिकेट खेल्नबाट समेत वञ्चित गरियो।

तर, सन्दीप लामिछानेलाई भने नाबालिग बलात्कारजस्तो जघन्य मुद्दा चलिरहेकै अवस्थामा पनि निलम्बन फुकुवा गराएर खेलमा फर्काइयो। फरार भएर अमेरिकामा लुकिरहेको बेलामा इन्टरपोलबाट जारी भएको नोटिसका आधारमा नेपाल फर्कन बाध्य भएपछि २०७९ असोजमा उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परे, र कात्तिक १४ गते उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भयो। काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्यो।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिए। पुस १८ गते उच्च अदालतले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गर्यो। तर, त्यतिबेलासम्म सन्दीप दोषी हुन् वा होइनन् भन्ने फैसला जिल्ला अदालतले सुनाइसकेको थिएन।

आरोप लागेकै अवस्थामा २०७९ माघ १७ गते क्यानको बोर्ड बैठकले उनको निलम्बन फुकुवा गर्दै टोलीमा स्थान दियो। जबकि उनी विरुद्ध जाहेरी पर्नेबित्तिकै क्यानले उनलाई निलम्बन गरेको थियो। जाहेरी पर्दा तत्काल निलम्बन गर्नु र मुद्दाको टुङ्गो नलाग्दै फुकुवा गर्नुले क्यानको सन्दीप-प्रेम कति गहिरो छ भन्ने छर्लङ्ग हुन्छ।

यो घटनाले के देखाउँछ भने क्यानको नजरमा नियम र नैतिकता सबैका लागि बराबर छैन। ‘स्टार’ खेलाडीका लागि एउटा नियम छ र साधारण खेलाडीका लागि अर्को। यो संस्थागत कायरताको पराकाष्ठा हो।

सन्दीपको अनुशासनहीनताको शृङ्खला पनि त्यहीँबाट सुरु भयो। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका देशको कप्तान क्याम्प छाडेर मध्यरातमा एक युवतीसँग नगरकोट ‘डेटिङ’ गए, तर उनीमाथि अनुशासनको सामान्य कारबाहीसमेत भएन। यो कुनै पनि व्यावसायिक खेलकुद संस्थाका लागि अक्षम्य हो।

तर, तत्कालीन क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव दुर्गाराज पाठकको नेतृत्वले उनीमाथि कुनै कारबाही गरेन। उनीहरू लगायत तत्कालीन बोर्ड नै मौन बसेर दण्डहीनताको साक्षी बन्यो। त्यही मौनता सन्दीपका लागि ‘ग्रिन सिग्नल’ बन्यो र उनलाई आफू क्यानका पदाधिकारी र नियमभन्दा माथि छु भन्ने भान पर्यो।

यसको ठीकविपरीत, अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीजस्ता स्टार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो। २०७६ कात्तिक २९ गते राति ठमेलको डिस्कोमा रमाइरहेको पाइएपछि मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहमा एन्फाले उनीहरूलाई टोलीबाट हटाएर भुटान भ्रमणमा जानबाट समेत रोकेको थियो। तर, क्यानले राष्ट्रिय टोलीको क्याम्पबाटै भाग्ने कप्तानलाई सामान्य सोधपुछ गर्ने आँटसमेत गरेन।

यसका अलावा, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा पनि बलात्कार मुद्दाकै कारण अमेरिकाले उनलाई भिसा दिएन। उनलाई अमेरिका पठाउन क्यानले अमेरिकी दूतावासदेखि आईसीसीसम्म गुहार लगायो।

खेलाडीको प्रशिक्षण र व्यवस्थापनमा केन्द्रित हुनुपर्ने क्यानको पूरै संयन्त्र उनको भिसा लगाउने दौडधुपमा लाग्यो। यसले विश्वकपका लागि अमेरिका पुगिसकेको टोलीमा पनि मनोवैज्ञानिक असर पार्यो। अमेरिकाले भिसा नदिएपछि वेस्ट इन्डिजमा भएका दुई खेलमा भने उनी सहभागी भए।

यति हुँदाहुँदै पनि उनी आफ्ना समर्थकहरूलाई उचाल्न र ‘इमोसनल ब्ल्याकमेल’ गर्न पछि पर्दैनन्। सन्दीप सामाजिक सञ्जाललाई आफ्नो हतियार बनाउँछन् र आफ्ना लाखौँ समर्थकलाई भ्रमित पारेर आफूलाई ‘पीडित’का रूपमा प्रस्तुत गर्छन्।

गत वर्ष वीरगन्ज र जनकपुरमा भएको रेड बल प्रतियोगिता ‘जय ट्रफी’मा बागमती प्रदेशबाट खेल्दा उनले अम्पायरको निर्णयमाथि सार्वजनिक रूपमा सामाजिक सञ्जालमा प्रश्न उठाए। अम्पायरको विषयमा गुनासो गर्नका लागि हरेक खेलपछि फारम भर्ने प्रावधान हुँदाहुँदै उनले सोझै सामाजिक सञ्जालमा नेपालको अम्पायरिङको स्तरमाथि प्रश्न उठाउँदै क्यानको संस्थागत प्रणालीकै धज्जी उडाए।

त्यसबापत क्यानले उनलाई खेलाडी आचारसंहिताको आर्टिकल २.७ अनुसार कारबाही गर्दै एक खेलमा प्रतिबन्ध लगायो। उनले फेसबुकमा लेखेका थिए, ‘मैले भन्न त नहुने हो, तर नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधारको आवश्यकता छ। यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण धेरै खेलाडीहरू प्रभावित हुनेछन्।’

यसो गर्नु अनुशासनविपरीतको कार्य हो। पटक-पटक अनुशासन तोड्दा पनि क्यानले उनीमाथि सामान्य कारबाही मात्रै गरिरहेको छ, किनभने क्यानका पदाधिकारीहरू उनका समर्थकको ‘साइबर बुलिङ’मा पर्ने त्रासमा छन्। उनीहरूलाई थाहा छ, सन्दीपविरुद्ध कुनै कठोर कदम चाल्नेबित्तिकै उनको ‘साइबर सेना’बाट आफू र आफ्नो परिवारले भोग्नुपर्ने चरित्रहत्याको त्रासमा उनीहरू निर्णय लिन डराउँछन्।

केन्द्रीय सम्झौतामा नबस्ने उनको निर्णय ‘अलिकति फ्रि हुन चाहन्छु’ भन्ने तर्कमा आधारित थियो। तर, यो ‘फ्रिडम’को अर्थ हो- दायित्वबिनाको अधिकार। उनी आफूलाई मन लागेको बेला टोलीमा आउने र मन नलागेको बेला ‘व्यक्तिगत कारण’ देखाएर पन्छिने ‘विशेष सुविधा’ चाहन्छन्। तर, राष्ट्रिय टोलीको सदस्य भइसकेपछि यति गैरजिम्मेवार बन्दा त्यसले सिङ्गो टोलीमा नै असर पार्छ।

केही समयअघि वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्र उनले आफूले नखेल्ने जानकारी गराए। यसका लागि क्यानले उनलाई बाँकी दुई खेलमा निलम्बनको सामान्य कारबाही गर्यो।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबीच मिति सेप्टेम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी-२० आई सिरिज प्रतियोगिताको पहिलो खेल शुुरू हुनुभन्दा ४५ मिनेटअघि सन्दीप लामिछानेले स्वयम्ले उक्त खेल नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवं समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा... बाँकी २ खेलका लागि निजलाई निलम्बन गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छु।’

तर, त्यो जानकारी पनि क्यानले सिरिज सकिएको भोलिपल्ट मात्र सार्वजनिक गरेर उनैको पक्षपोषण गर्यो। क्यानले सन्दीपलाई यो ‘विशेष व्यवहार’ गरेर हरेक नियम र प्रक्रिया पालना गर्दै टिममा स्थान बनाउन संघर्ष गर्ने अन्य मिहिनेत खेलाडीहरूको अपमान गरिरहेको छ।

नेपाली क्रिकेट जगतमा अधिकांश खेलाडी केन्द्रीय सम्झौतामा पर्न आतुर हुन्छन्, तर उनलाई दिइएको सम्झौता पनि उनी अस्वीकार गरिरहेका छन्। क्यानले उनलाई फकाउन जति समय लगाइरहेको छ, त्यति नै समय अर्को कुनै प्रतिभावान खेलाडीमा लगानी गरे त्यसले नेपाली क्रिकेटलाई बढी फाइदा पुर्याउँछ।

क्यानले सन्दीपलाई ‘ज्यू-हजुर’ गरेर तत्कालका केही खेल त जित्न सक्ला, तर उसले नेपाली क्रिकेटको आत्मा, संस्कृति र भविष्यलाई दीर्घकालीन रूपमा क्षति पुऱ्याइरहेको छ। जबसम्म संस्थाले कुनै पनि खेलाडी खेल र देश-भन्दा माथि छैन भन्ने सन्देश दिँदैन, तबसम्म नेपाली क्रिकेट यस्तै ‘ल्याङल्याङ’ र लाचारीको दलदलमा फसिरहनेछ।

विकल्प तयार गर्ने र संस्थाको सर्वोच्चता स्थापित गर्ने साहस नगर्ने हो भने, भोलि हरेक प्रतिभाशाली खेलाडीले आफूलाई ‘सन्दीप लामिछाने’ ठान्न थाल्नेछन्, र त्यो दिन नेपाली क्रिकेटको वास्तविक पतनको सुरुवात हुनेछ।

असोज १५, २०८२ बुधबार २३:१७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।