सम्पादकीय : जेन-जी पुस्ता, अब संविधानको रक्षा गर

जेन-जी पुस्ताको आन्दोलन केवल सडकको नाराबाजीमा सीमित घटना मात्र रहेन । दुई दिनमै यसले ल्याएको परिवर्तनले समकालीन राजनीतिका लागि यो एक गम्भीर सन्देश बोकेको आन्दोलनमा रूपान्तरित भयो।
सूचना प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी परिवेशसँग जोडिएको यो पुस्ता अब पुराना शैलीका नाराले मात्र सन्तुष्ट हुने स्थितिमा छैन। उनीहरू प्रत्यक्ष पारदर्शिता, जवाफदेहिता र जीवनसँग जोडिएका व्यावहारिक मुद्दाहरूमा ठोस परिणाम खोजिरहेका छन् भन्ने तथ्य आन्दोलनबाट स्थापित भएको छ।
यो आन्दोलन सफल भएसँगै नागरिक सरकार बनेको छ, संसद् विघटन भएर नयाँ निर्वाचनको मितिसमेत तोकिएको छ। जेन-जी आन्दोलनको सफलतासँगै नेपालको संविधान २०७२ नै खारेज गराउने षड्यन्त्रसमेत भए। तर, राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझ र जेन-जी पुस्ताको चेतनाले संविधानमाथि चोट पुगे पनि त्यो सक्रिय नै छ।
नेपालको संविधानले निरंकुशताको परिकल्पना गरेको छैन। यसले समावेशी र लोकतान्त्रिक राज्य निर्माणको चरित्र बोकेको छ। यसकै जगमा टेकेर युवा पुस्ताले चाहेको राज्य संयन्त्रको निर्माण गर्न सकिन्छ।
समस्या संविधानमा होइन, त्यसलाई कार्यान्वयन गर्ने शासकहरूको शैलीमा हो। नेताहरूको स्वार्थ, भ्रष्टाचार र गैरजवाफदेहीपनकै कारण देश असफलतातिर धकेलिएको हो।
पुराना पुस्ताले बारम्बार ‘लोकतन्त्रका उपलब्धि’को गुणगान गाए, तर व्यवहारमा कार्यान्वयन गरेनन्। उनीहरूले बदलिएको व्यवस्थाको जस लिइरहे तर अवस्था बदल्ने प्रयास गरेनन्। त्यसैले जेन-जी पुस्ताले आफू त्यसमा समावेश भएको महसुस गर्न सकेन र त्यसले विद्रोहको रूप लियो।
आन्दोलनले अर्को कुरा पनि देखाएको छ-नयाँ पुस्ता कुनै नेताको चाकडी वा पार्टीगत आस्थाभन्दा पनि आफ्नो भविष्य र मूल्य-मान्यतामा केन्द्रित छ।
उनीहरूलाई असल शासन, अवसरको समान वितरण र जवाफदेही सत्ता चाहिएको छ । यही कारणले यो आन्दोलन दलहरूको पारम्परिक समीकरणभन्दा बाहिरको, स्वतःस्फूर्त तर शक्तिशाली अभियानका रूपमा देखा पऱ्यो।
तर, टेक्नका लागि जमिन चाहिन्छ। जेन-जी पुस्ताले चाहेको परिवर्तनका लागि टेक्ने आधार भनेको यही संविधान हो। त्यसैले अब आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै आफूले चाहेअनुसारको राज्य संयन्त्र र शासनशैली स्थापना गर्ने हो भने जेन-जी पुस्ताले नै नेपालको संविधान २०७२ को रक्षाको जिम्मेवारी लिनुपर्छ। किनभने, संविधान असफल भयो भने देश उम्कनै नसक्ने असफलताको बाटोमा जान सक्छ।
अर्को पक्ष, अब राजनीतिक नेतृत्वले यो आन्दोलनलाई ‘भावनात्मक उच्छृङ्खलता’ भनेर हेर्ने गल्ती दोहोर्याउनु हुँदैन। किनभने यो पुस्ता प्रविधि र सूचनाले सशक्त भएको पुस्ता हो, जसलाई परम्परागत प्रचार-प्रसारले भ्रममा पार्न सम्भव छैन।
जेन-जी पुस्ताको आन्दोलनले दिएको मुख्य सन्देश स्पष्ट छ: अब नागरिकले मात्र होइन, नयाँ पुस्ताले पनि इमानदार नेतृत्व, जवाफदेही शासन, संविधानको रक्षा र व्यावहारिक समाधान मागिरहेको छ।
दल र नेताहरूले अब पनि पुरानै शैलीमा राजनीति गर्ने प्रयास गरे भने नागरिकबाट धेरै टाढा धकेलिने पक्का छ। दलहरूले आफ्ना कमजोरी सच्याउँदै पार्टीको नेतृत्व, नीति र शैली बदलेर जेन-जी पुस्ताको आवाजलाई सम्बोधन गरी राष्ट्रिय एजेन्डामा परिणत गर्न सकेमा यसले नेपालको लोकतन्त्रलाई थप बलियो बनाउनेछ। नत्र, यो असन्तोषले व्यवस्था नै संकटमा पार्न सक्छ।
दलको विकल्प छ। नयाँ दल उदाउन सक्छन्। तर लोकतन्त्रको विकल्प छैन। लोकतन्त्रमा कुनै पनि आवरणको निरंकुशता स्वीकार्य हुन्न।
त्यसैले दुर्गा भवानी देशको संकट समाधानको बाटो पहिल्याउन जेन-जीसहित सबै पुस्तालाई बाटो देखाउन सफल हुन्। २०८२ को बडा दशैँको सबैलाई शुभकामना।
असोज १६, २०८२ बिहीबार १०:०६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।