चिकित्सकको दशैं : आकस्मिक कक्षको बास,मासुभातको सट्टा चाउचाउको साथ

दशैं आउँदा नेपाली समाजमा एउटा विशेष किसिमको रौनक फैलिन्छ। वर्षभरि थकित अनुहारमा उज्यालो मुस्कान आउँछ, शहरदेखि गाउँसम्म गजबको चहलपहल देखिन्छ। आँगनमा बोटबिरुवा काटेर सफा पारिन्छ, घर रङरोगन गरिन्छ। यसबेला बजारमा भिड बढ्छ, पसलमा नयाँ कपडा झुन्डिन्छ।
बालबालिकाले आफ्नो मनपर्ने जुत्ता–लुगा माग्छन्, युवाले मोटरसाइकल वा मोबाइलमा आँखा लगाउँछन्, महिलाले सुन–चाँदी वा भाँडाकुँडामा रुचि देखाउँछन्। दशैंको बिदा भनेको नेपाली समाजमा एउटा सामूहिक उत्सव हो-जहाँ सबैको अनुहारमा “घर फर्कने” रहर हुन्छ।
विद्यार्थीलाई लामो बिदा मिल्छ। टाढा विदेशमा रहेका कामदार वा पढाइमा व्यस्त विद्यार्थीलाई त अझ दशैं घर फर्कने अवसर बनिदिन्छ। सबैको लागि दशैं भनेको फुर्सद र परिवारसँगको भेटघाट हो।
तर यो रौनक, यो उत्साह, यो भिडभाड सबैका लागि समान हुँदैन। केही पेसा यस्ता छन् जसका लागि दशैं भनेको थप जिम्मेवारी, थप खटाइ र थप परिश्रम गर्नुपर्ने समय हो।
प्रहरी, सेना, ट्राफिक, पत्रकार र चिकित्सक-यी सबैलाई दशैंमा पनि विश्राम नहुन सक्छ। अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई भने यस्तो सहज फुर्सद कहिल्यै हुँदैन। उनीहरूको दशैं घरभन्दा टाढा, परिवारभन्दा टाढा, तर बिरामीसँग नजिक भएर बित्छ।
दशैं भन्नासाथ धेरैलाई मासु-भातको थाल सम्झना आउँछ। खसी काट्ने, मासु पोल्ने, विभिन्न किसिमका अचारहरू बनाउने परम्परा अझै पनि धेरै घरमा चलिरहेकै छ।
ग्रामीण भेगमा त दशैंकै लागि खसी वा बोका हुर्काउने परम्परा अझै हराएको छैन। आकाशमा उड्ने चङ्गा, आँगनमा खेलिने पिङ, र भान्सामा पाकिरहेको मासुको सुगन्ध-यी नै त दशैंका रंग हुन्। यिनै रंगले दशैंलाई रमाइलो बनाउँछन्।
तर चिकित्सकलाई प्रायः यी स्वादबाट टाढा रहनुपर्छ। दशैंकै दिन अस्पतालमा ड्युटी परेको कारण खसीको मासु चाख्न नपाएको याद मलाई अझै ताजा छ। सन् २००८, काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा इन्टर्नसिप गर्दै थिएँ।
महानवमीको दिन, सिनामङ्गल क्षेत्रमा होटेल नै होटेल, तर त्यसदिन अस्पताल वरिपरिका सबै होटेल र क्यान्टिन बन्द भए। भित्र आकस्मिक कक्षमा बिरामी रोकिएको थिएन, तर पेट पोल्ने भोकलाई मेटाउने केही थिएन। अन्ततः, म र अरू मेडिकल अधिकृत दाइहरूले एउटै विकल्प पायौँ-चाउचाउ।
दशैंको भोज जहाँसुकै चलिरहेको थियो, तर हामी चिकित्सकलाई त्यो भोजभन्दा ठूलो जिम्मेवारी थमाइयो-बिरामीको जीवन। त्यो रातको चाउचाउ अझै मेरो स्मृतिमा गहिरो छाप बनेर बसेको छ।
दशैंको समयमा सरकारी कार्यालय, बैंक, विद्यालय सबै बन्द हुन्छन्। तर अस्पताल भने पूर्ण बन्द हुँदैन। केही नियमित सेवा रोकिन्छन्, तर आकस्मिक सेवा २४ घण्टा खुला रहन्छ।
यही कारण दशैंमा आकस्मिक कक्षमा भीड झन् बढ्छ। अधिकांश सिनियर डाक्टरहरू बिदामा जान्छन्, तर काम त रोकिँदैन। मेडिकल अधिकृत र इन्टर्न चिकित्सकहरूले बढी जिम्मेवारी लिनुपर्छ।
प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स-रेजस्ता सेवा धेरैजसो सेवा प्रभावित भएका हुन्छन्। त्यसैले चिकित्सकहरूले न्यून साधनमा बिरामीको आकस्मिक उपचार गर्नुपर्छ।
कहिलेकाहीँ त आकस्मिक बिरामीसँगै महामारी नियन्त्रणजस्ता काम पनि चिकित्सकको काँधमा आउँछ। दशैंताका स्वास्थ्य कार्यालय बन्द हुने भएकाले, त्यो जिम्मेवारी पनि अस्पतालकै चिकित्सकलाई आउँछ।
मलाई अझै सम्झना छ-मेची अञ्चल अस्पतालमा कार्यरत रहेको बेला अष्टमीको राति अचानक खबर आयो-कुमरखोद गाविसमा झाडापखालाको महामारी फैलिएको छ। भद्रपुरबाट करिब ५५ किलोमिटर टाढा रातारात पुग्नुपर्यो। बाटो अँध्यारो थियो, शरीर थकित थियो, तर जिम्मेवारीले थकानलाई पन्छाइदियो।
समुदायलाई रोगको चपेटाबाट बचाउन सकिन्छ भन्ने सङ्कल्पले नै हामी अघि बढ्यौँ। कसैलाई अस्पताल पठायौ, तर धेरैलाई त्यही जीवनजल र आवश्यक औषधिहरू दिएर फर्कियौ।
दशैंमा अस्पतालमा हुने अर्को ठूलो चुनौती शल्यक्रियासँग जोडिएको हुन्छ। सामान्यतया, शल्यक्रिया भन्नासाथ मानिसको मनमा शल्यचिकित्सक (सर्जन) मात्र आउने गर्छ।
तर वास्तविकतामा शल्यक्रिया एउटा टिमवर्क हो। शल्यचिकित्सक मात्र भएर हुँदैन-अनिवार्य रूपमा ऐनेस्थेसिया चिकित्सक चाहिन्छ, स्क्रब नर्स चाहिन्छ, उपकरण तयार गर्ने प्राविधिक चाहिन्छ।
ती सबै बिना शल्यक्रिया सम्भव हुँदैन। दशैंमा जब सबैजना बिदामा हुन्छन्, शल्यक्रियाको लागि आवश्यक टिम जुटाउन कठिन हुन्छ। कतिपय आकस्मिक अवस्थामा त बिरामीले ठूलो जोखिम बेहोर्नुपर्ने स्थिति पनि आउँछ।
मलाई एउटा विशेष प्रसङ्ग अझै ताजा छ। त्यो महाअष्टमीको दिन थियो। म आफ्नै गाउँ, डुम्राहा गइसकेको थिएँ। तर त्यही दिन खबर आयो-मेरा नजिकैका पारिवारिक सदस्यलाई आकस्मिक रूपमा सिजेरियन (शल्यक्रिया गरेर प्रसव) गर्नुपर्ने भयो।
त्यसबेला म इनरुवा अस्पतालमा पनि सेवा दिइरहेको थिएँ। अस्पताल पुगेँ तर समस्या ठुला थिए-शल्यक्रिया गर्न सर्जन त म थिएँ, तर ऐनेस्थेसिया चिकित्सक, स्क्रब सिस्टर सबै बिदामा। एक छिन त लाग्यो, “आज त सम्भव छैन जस्तो छ”।
तर मैले फोन सम्पर्क गरेँ। आशा त्यागिसकेको थिएँ, तर चमत्कार झैँ लाग्यो-सबै जना आइसक्ने खबर आयो। एक-एक गर्दै सबै टोलीका सदस्य उपस्थित भए।
त्यो दिनको राहत म शब्दमा भन्न सक्दिनँ। सिजेरियन सफलतापूर्वक सम्पन्न भयो, आमाले सुरक्षित रूपमा बच्चा जन्माइन्। त्यो बच्चाको पहिलो रुवाइले मात्र होइन, त्यसमा संलग्न हरेक अनुहारको खुसीले दशैंको त्यो क्षणलाई अनौठो बनाइदियो।
त्यो मेरो जीवनको सबैभन्दा स्मरणीय दशैंमध्ये एक हो। यस घटनाले मलाई अझै प्रस्ट बुझायो-स्वास्थ्य सेवा कुनै व्यक्तिको मात्र होइन, सम्पूर्ण टिमको सामूहिकता हो। अनि त्यो सामूहिकता दशैंमा पनि बिरामीको जीवन बचाउन जुट्न सक्छ। त्यो अनुभवपछि मैले आफ्नो अभ्यासमै नयाँ बानी बसालेँ।
प्रसवको अनुमानित मिति दशैं, तिहार, छठ वा कुनै ठूलो पर्वमा पर्छ भने ती गर्भवतीहरूलाई नियमित परामर्शमा नै सचेत गराउँछु। यी पर्वमा धेरैजसो अस्पतालमा नियमित सेवा प्रभावित हुन्छ।
त्यसैले आपत्कालीन अवस्थामा कुन अस्पताल जान सकिन्छ, र अन्य वैकल्पिक उपायहरूबारे गर्भवती महिला र परिवारसँग छलफल गर्ने गरेको छु।
दशैंको रमाइलो सबका लागि हो। तर स्वास्थ्य सेवामा लागेका मानिसका लागि अझ ठूलो प्रश्न हुन्छ, “यस रमाइलोको बिचमा कसरी जिम्मेवारी पूरा गर्ने ?” त्यो दिन इनरुवामा भएको सिजेरियन मेरो लागि एउटा उत्तर जस्तै हो-जिम्मेवारीलाई प्राथमिकता दिन सकिन्छ भने, रमाइलो अर्को क्षणमा पनि गर्न सकिन्छ। तर जीवन बचाउने क्षण भने पुनः दोहोरिँदैन।
सामान्यतया, मानिस दशैंमा रमाइरहेका हुन्छन्। कसैले नयाँ लुगा देखाउँछन्, कसैले भोज भतेरमा रमाउँछन्। तर त्यही बेला आकस्मिक कक्षमा बसेका डाक्टरलाई कोही सम्झिँदैन।
बरु कहिलेकाहीँ बिरामीको आफन्तले नै आवेगमा आएर गाली गर्छन्, दुर्व्यवहार गर्छन्। यो विरोधाभासले कहिलेकाहीँ मन दुखाउँछ। दशैंमा रमाइरहेका अनुहारहरू अस्पतालको ढोका हुँदै पस्दा हठात् रिसले भरिन्छन्, र त्यसको निसाना चिकित्सक बन्छन्।
तर उनीहरूले बुझ्दैनन्-त्यो क्षणमा चिकित्सक आफ्नो परिवार छाडेर, आफ्ना बच्चाको हाँसो छाडेर, अरूको परिवारको सदस्यलाई बचाउन खटिएको हुन्छ।
समय गतिशील छ। दशैं मनाउने तरिकामा पनि परिवर्तन आएको छ। अहिले धेरैले दशैं घरमा मात्र होइन, बाहिर “होलिडे प्याकेज” मनाउन थालिसकेका छन्। समुद्र किनारमा, पहाडी रिसोर्टमा, वा विदेशकै मलमा दशैंको रमाइलो खोज्ने चलन बढेको छ।
तर चिकित्सकको दशैं अझै पनि पुरानै छ-ड्युटी मिलाउने, आकस्मिक सेवा सम्हाल्ने, र बिरामीसँगै दशैं बिताउने।
नयाँ पुस्ताका चिकित्सकले पनि यही परम्परा दोहोर्याइरहेका छन्। धेरैलाई लाग्छ-डाक्टरले दशैं मनाउन पाउँदैनन्। तर मेरो अनुभवमा, हामी चिकित्सकले दशैं अर्कै तरिकाले मनाउँछौँ।
हाम्रो दशैं मासु-भातको स्वादमा मात्र होइन, निको भएर घर फर्किएका बिरामीको अनुहारमा हुन्छ। जब आकस्मिक कक्षमा भर्ना भएको बिरामी निको भएर आफ्नो परिवारको काखमा फर्किन्छ, त्यो मुस्कान नै चिकित्सकको दशैं हो। त्यो आशीर्वाद नै हाम्रो टीका हो।
असोज १५, २०८२ बुधबार १४:३९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।