दसैँमा तीन नेपाली चलचित्रको बक्सअफिस भिडन्त : कसको कमाइ कति ?

काठमाडौं : यस वर्षको दसैँलाई लक्षित गर्दै तीन नेपाली चलचित्र फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएका छन्। प्रदर्शनमा आएका चलचित्रहरू हुन्- हरिबहादुरको जुत्ता, माइतीघर र बलिदान।
तर, बिदाको मौसम भए पनि तीनै चलचित्रले अपेक्षाअनुसारको व्यापार भने गर्न सकेका छैनन्। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपका तथ्याङ्कअनुसार सुरुवाती दुई दिनमा बलिदानले सबैभन्दा धेरै कमाइ गरेको छ।
सन्तोष सेनको निर्देशनमा बनेको बलिदानले दुई दिनमा रु १ करोड ५ लाख ६५ हजार ग्रस कलेक्सन गरेको छ। पहिलो दिन २४४ शोबाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन २१३ शोबाट रु ४८ लाख ४६ हजार कमाइ गरेको तथ्याङ्कमा देखिन्छ। यसमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ।
त्यस्तै, दीपेन्द्रकुमार खनालको निर्देशनमा बनेको हरिबहादुरको जुत्ता ले दुई दिनमा रु ५९ लाख ५८ हजार कमाइ गरेको छ। पहिलो दिन १३४ शोबाट रु २४ लाख ८५ हजार ६४ र दोस्रो दिन रु ३४ लाख ७३ हजारको व्यापार भएको छ। चर्चित हास्य कलाकार हरिवंश आचार्यको ‘हरिबहादुर’ पात्रलाई यस पटक चलचित्रमा उतारिएको छ। आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन्।
यस्तै, तेस्रो चलचित्र माइतीघर ले दुई दिनमा रु ३८ लाख ६३ हजार कमाइ गरेको छ। पहिलो दिन १४४ शोबाट रु १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० शोबाट रु १९ लाख ६७ हजार कमाइ भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ। मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित यस चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन्।
पछिल्ला वर्षहरूमा दसैँका बिदामा नेपाली चलचित्रले उल्लेखनीय व्यापार गर्ने क्रम बढेको छ। यही कारण यस वर्ष पनि तीन चलचित्रले एउटै समयमा प्रदर्शन मिति रोजेका हुन्। चलचित्रकर्मीहरूका अनुसार चाडपर्वका दिन दर्शकहरूको प्रतिक्रिया सकारात्मक भएमा व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ।
असोज १५, २०८२ बुधबार १२:३४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।