फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको मृत्यु, सयौँ घाइते

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी : मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति पुर्याएको छ। बुधबारसम्म मृत्यु हुनेको संख्या ६० पुगेको छ भने सयौँ घाइते भएका छन्। अस्पतालहरू भरिएपछि घाइतेलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनु परेको स्थानीय अधिकारीहरूले बताएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। करिब ९० हजार जनसंख्या भएको यस सहरमा भूकम्पपछि सयौँ पटक परकम्प आएपछि स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले केन्द्रीय टापुहरूमा कम्तीमा २२ भवन क्षतिग्रस्त भएको र १४७ जना घाइते भएको पुष्टि गरेको छ। “हताहतको विवरण अझै आइरहेको छ, परिस्थिति संवेदनशील छ,” परिषद्का उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले भने।

बोगोस्थित अस्पताल भरिएपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको सेबु सहरका अस्पतालमा सारिएको छ। प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले गम्भीर घाइतेको उपचारका लागि बाहिरै आपत्कालीन क्याम्प खडा गर्नुपरेको जानकारी दिएकी छिन्।

भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ। बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश मानवीय क्षति भने भएन। स्थानीय टेलिभिजनमा सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेका दृश्य देखिएको छ।

प्रत्यक्षदर्शी जेफोर्ड मारङ्गा (२१) ले भने, “हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर हल्लियो। मलको छत खस्ने डरले हामी टेबलमुनि लुक्यौँ।” उनका साथी सामान्य घाइते भएका थिए।

प्रान्तीय सरकारले उद्धारमा सहयोगका लागि चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ। उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र लगातार परकम्पले कार्य कठिन बनेको छ। भूकम्पपछि ३७९ पटक परकम्प आइसकेको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ।

बान्टायनमा व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति भएको छ। टाबोगन सहरका सडकमा पाँच सेन्टिमिटरसम्म दरार देखिएको छ। सुरुमा युएसजिएसले ७.० म्याग्निच्युड भएको बताइए पनि पछि ६.९ मा परिमार्जन गरिएको छ। प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने सुनामीको खतरा नभएको स्पष्ट पारेको छ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले यहाँ प्रायः दैनिक हल्का भूकम्प आउँछन्। तर यसपटकको जस्तो शक्तिशाली र विध्वंसकारी भूकम्प कहिले र कहाँ हुने भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन।

असोज १५, २०८२ बुधबार ११:२९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।