ओली र लेखकको राहदानी रोक्कामा कांग्रेसको आपत्ति, भन्यो- ‘यो राजनीतिक प्रतिशोध हो’

काठमाडौं : नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषदका सदस्यसहितको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले यसलाई ‘राजनीतिक प्रतिशोधपूर्ण’ कदमको संज्ञा दिँदै सरकार गलत बाटोमा हिँड्न खोजेको आरोप लगाएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’का घटनामाथि छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा सरकारले उक्त निर्णय लिएको हो।
आयोगको सिफारिसअनुसार निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री, गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गरिएको छ।
उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउन राहदानी विभागलाई पत्राचार गरिएको छ भने बिनाअनुमति काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय पनि भएको छ।
बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारको यो कदमले मुलुकमा शान्ति-व्यवस्था कायम गर्नेभन्दा प्रतिशोधको राजनीतिलाई प्राथमिकता दिएको देखिएको उल्लेख छ।
‘राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र आवतजावतमा निषेध गर्ने जस्ता निर्णयले राजनीतिक प्रतिशोध प्रष्ट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो सरकार तोकिएको जिम्मेवारीभन्दा अर्कै बाटो हिँड्न खोजेको देखिन्छ।’
कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन नगर्न र प्रतिशोधपूर्ण राजनीति अन्त्य गर्न अन्तरिम सरकारलाई सचेत गराएको छ।
यसअघि मंगलबार एमालेनिकट राष्ट्रिय युवा संघले पनि निवर्तमान प्रधानमन्त्री ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध साधिए सैह्य नहुने चेतावनी दिएको थियो। संघका अध्यक्ष क्षितिज थेवेले विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला निर्णयको आलोचना गरेका थिए।
सरकारको यो निर्णयलाई लिएर कांग्रेस र एमालेका नेता-कार्यकर्ताहरूले सामाजिक सञ्जालमा समेत चर्को आलोचना गरिरहेका छन्।
असोज १५, २०८२ बुधबार ०९:१३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।