दशैं कस्काे चाड?

दशैं कस्काे चाड?

धनीकाे घर रङ पाेतेर चिटिक्क छ 
दैलाे अगाडि 
माेटाे दाम्लाेले 
बाधिएका छन् बाेका
सकियाे दशैंकाे किनमेल
रेडियाे 
टिभीमा 
मालश्री धुन 
गुन्जिरहेछन्
दशैंका गीतहरू 
निरन्तर बजिरहेछन्
तर
किसानलाई अहिले 
धान काट्ने
थन्काे लाउने चटाराे छ 
दैनिक कमाएर 
खाने मजदुरलाई 
काम नपाएकाे चिन्ता छ
त्यसैले म भन्छु 
याे दशैं कसकाे चाड हाे?

हरेक वर्ष दशैं
गरिबका लागि दशा बनेर आउँछ,
ऋणकाे बोझ
जसरी पनि 
दशैं मनाउनुपर्ने 
सामाजिक डर
धनीका घरमा
नयाँ नाेट
नयाँ लुगा
नयाँ भाँडा
नयाँ परिकार 
गरिबकाे झुपडीमा
सपना च्यातिएको नोट जस्तै
साहुकाे ऋणकाे तमसुक

त्यसैले म भन्छु
याे हुँदा खानेकाे होइन,
हुनेखाने धनीहरूकाे चाड हाे।
धनी र गरिब छुट्याउने
याे चाडलाई
कसरी ‘महान’ भनौं ?
महान त त्याे हाे
जाे सबैकाे बन्छ

असोज १५, २०८२ बुधबार ०९:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।