सन्दीपले विश्वकप छनोट खेल्ने वा नखेल्ने भन्नेबारे आज निर्णय आउने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी हुने वा नहुने भन्ने विषयमा आज टुङ्गो लाग्ने भएको छ।
राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले बुधबार दुबईमा आयोजित पत्रकार सम्मेलनमा यसबारे आज निर्णय आउने संकेत गरेका हुन्।
वेस्ट इन्डिजविरुद्धको युनिटी कप सिरिजको अन्तिम खेलपछि पत्रकारहरूले सोधेको प्रश्नमा कप्तान पौडेलले लामिछानेको उपलब्धता बारेको अनिश्चितता छिट्टै हट्ने बताए।
‘उनी (सन्दीप) यो सिरिजका लागि उपलब्ध थिएनन्। विश्वकप छनोटमा उनको सहभागिताबारे भोलिसम्म केही खबर आउन सक्छ,’ पौडेलले हिजो पत्रकार सम्मेलनमा भने, ‘भोलि समाचार आएपछि सबैलाई थाहा भइहाल्छ।’
वेस्ट इन्डिजविरुद्धको खेल उनी आफैँले नखेल्ने भनेको टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले पहिलो खेलपछिको पत्रकार सम्मेलनमा बताएका थिए। उनले व्यक्तिगत कारणले नखेल्ने भनेको बताउँदै व्यक्तिगत कारणबारे आफू जानकार नरहेको उल्लेख गरेका थिए।
नेपालले युएईको ओमानमा हुने टी-२० विश्वकप एसिया र इन्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप वेस्ट इन्डिजसँग सिरिज खेलेको हो।
असोज १५, २०८२ बुधबार ०७:४९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।