अबको पूर्ण ध्यान विश्वकप छनोटमा ध्यान केन्द्रित गर्छौँ : कप्तान पौडेल

अबको पूर्ण ध्यान विश्वकप छनोटमा ध्यान केन्द्रित गर्छौँ : कप्तान पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको सिरिज जितलाई आफ्नो कप्तानीको अहिलेसम्मकै शीर्ष उपलब्धि मानेका छन्।

उनले विश्वकप छनोटअघि सबै खेलाडीलाई अवसर दिनु र ‘गेम टाइम’ प्रदान गर्नु टोलीको मुख्य योजना रहेको पनि स्पष्ट पारेका छन्।

युनिटी कपको अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सिरिज जितको महत्त्व र आगामी योजनाबारे बोलेका हुन्।

टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक द्विपक्षीय सिरिज जित्नुको महत्त्वबारे सोधिएको प्रश्नमा कप्तान पौडेलले भने, ‘यो सफलतालाई म शीर्ष स्थानमा राख्छु। वेस्ट इन्डिज जस्तो बलियो क्रिकेट इतिहास भएको टोलीविरुद्ध पहिलो पटक सिरिज खेल्नु र जित्नु विशेष हो।’

उनले आफ्नो कप्तानीको सफलताको श्रेय टोलीलाई दिँदै भने, ‘जब टोलीले जित्छ, तब कप्तान राम्रो देखिन्छ। मलाई राम्रो देखाउनुमा टोलीको महत्त्वपूर्ण भूमिका छ। यसको सम्पूर्ण श्रेय टिमलाई जान्छ।’

अन्तिम खेलमा भएको हार र टोलीमा गरिएको परिवर्तनबारे कप्तान पौडेलले विश्वकप छनोटको तयारीलाई प्राथमिकतामा राखेको बताए।

‘हाम्रो योजना विश्वकप छनोटअघि सबै खेलाडीलाई अवसर दिनु थियो। कोही पनि लामो समयपछि सिधै छनोटको महत्त्वपूर्ण खेलमा नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘सबैले गेम टाइम पाऊन् भनेर नै हामीले खेलाडी परिवर्तन गरेका थियौँ।’

उनले खेलमा साझेदारी बन्न नसक्दा ब्याटिङ कमजोर भएको स्वीकार गरे।

‘पछिल्ला दुई खेलमा हाम्रो बलियो पक्ष साझेदारी थियो, जुन आज हुन सकेन। नियमित अन्तरालमा विकेट गुमाउँदा हामीले सोचेजस्तो स्कोर बनाउन सकेनौँ’, उनले थपे।

कप्तान पौडेलले यो सिरिजले विश्वकप छनोटका लागि टोलीको आत्मविश्वास बढाएको बताए।

‘विगतमा ओमानमा के भयो, त्यसले अब फरक पार्दैन। अब हामी के गर्छौं भन्ने महत्त्वपूर्ण हो। पछिल्ला २-३ महिनाको कडा परिश्रम र यो सिरिजको अनुभवले हामी राम्रोसँग तयार भएका छौँ,’ उनले भने, ‘अब ओमानमा हाम्रो तयारीलाई मैदानमा उतार्ने बेला आएको छ।’

पत्रकार सम्मेलनमा उनले टोलीका केही प्रमुख खेलाडीको अवस्थाबारे पनि जानकारी दिए। सन्दीप लामिछाने वेस्ट इन्डिज विरुद्धको सिरिजका लागि उपलब्ध नभएको बताउँदै रोहितले विश्वकप छनोटमा उनको सहभागिताबारे बुधबारसम्म निर्णय हुने बताए।

यस्तै वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा चोटिल नन्दन यादव अहिले पूर्ण रूपमा फिट रहेको बताए।

‘विश्वकप छनोट महत्त्वपूर्ण भएकाले हामीले आन उहाँलाई खेलाएर जोखिम नलिएका हौँ। उहाँ छनोटका लागि उपलब्ध हुनुहुनेछ’, रोहितले भने।

असोज १५, २०८२ बुधबार ०७:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।