अन्तिम खेलमा पराजित भए पनि नेपालले जित्यो वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज

काठमाडौं : अन्तिम खेलमा १० विकेटको फराकिलो हार बेहोरे पनि नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको युनिटी कप सिरिज २-१ ले जितेको छ। यो नेपाली क्रिकेट इतिहासमा कुनै पनि टेस्ट राष्ट्रविरुद्धको पहिलो सिरिज जित हो।
शारजाह क्रिकेट रंगशालामा भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा ब्याटिङ र बलिङ दुवैमा चल्न नसक्दा नेपाल पराजित हुन पुग्यो।
नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो।
वेस्ट इन्डिजको सानदार जितमा ओपनर आमिर जांगोले अविजित ७४ रनको विष्फोटक इनिङ खेले। उनले ४५ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर अकिम अगस्टले २९ बलमा ४ चौका र २ छक्कासहित अविजित ४१ रन बनाउँदै जित सुनिश्चित गरे।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। भुर्तेलले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
कप्तान रोहित पौडेलले १७, कुशल मल्लले १२, गुल्शन झाले १० र सन्दीप जोराले १४ रन जोडे। आरिफ शेख (६), आदिल आलम (३) र सोमपाल कामी (४) सस्तैमा समेटिए भने करण केसी शून्य रनमा आउट भए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका बलर रेमन सिमोन्ड्सले घातक बलिङ गरे। उनले ३ ओभरमा १५ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, जेडिडा ब्लेड्सले ३.५ ओभरमा २० रन दिएर २ विकेट हात पारे।
सिरिजको पहिलो खेल नेपालले १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो। यही जितका आधारमा नेपालले ऐतिहासिक सिरिज आफ्नो नाममा गरेको हो।
ओमानमा आगामी सातादेखि सुरु हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरुप नेपालले यो सिरिज खेलेको हो। टेस्ट टोलीविरुद्धको यो जितले विश्वकप छनोटअघि नेपाली टोलीको मनोबल उच्च बनाएको छ।
असोज १५, २०८२ बुधबार ०७:१६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।