मनसुन सक्रिय : देशभर वर्षा, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार, देशभर मनसुनी र स्थानीय वायुको दोहोरो प्रभावले मौसममा बदली आएको हो। यसले गर्दा दिनभर र राती दुवै समयमा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षाको सम्भावना छ।
बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा पनि यस्तै वर्षाको सम्भावना रहेको छ। यसका साथै, कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती पनि देशभर साधारणतया बदली रही वर्षाको क्रम जारी रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्नेछ। यसले दैनिक जनजीवन, कृषि, पर्यटन तथा यातायात क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारीमा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
असोज १५, २०८२ बुधबार ०७:०९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।