भदौ आन्दोलनमा भाइरल भएका ध्रुव जसले आफ्नो लागि गीत लेखे, जेन-जीले क्रान्तिको बनाइदिए

‘नारायणी सेना छोडी कृष्ण रोज्ने पार्थ म- अर्जुन दृष्टि रणभूमिमा ब्रम्हास्त्र साथमा-अगि लगा रथ मेरो सङ्ख बजा- युद्धस्व युद्धस्वको नारा लगा’
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन हुनुमा सामाजिक सञ्जालको महत्त्वपूर्ण प्रभाव रह्यो। अझ त्यसमा पनि विशेष टिकटकको। आगोसमान फैलिएको ‘नेपोबेबी’ अभियानसँगै आन्दोलनका भिडियोक्लिपहरुमा “राजधानी” बोलको गीतको ‘नारायणी सेना’ भन्ने अन्तरा पनि उसैगरि फैलियो।
काठमाडौँका मेयर बालेन्द्र शाहको ‘मलाई बोल्न दे सरकार’, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’, नेपथ्य ब्यान्डको ‘हातमा कलम हुनेहरू कलम लिएर उठ’, १९७४ एडी ब्यान्डको ‘सम्बोधन तिमीलाई गर्दैछु म’ लगायतका गीतका लयहरू आन्दोलनसँग सम्बन्धित प्राय भिडियोमा प्रयोग भए। यी पुरानै आवाज हुन्। यसको बिचमा गायक ध्रुव श्रेष्ठको ‘राजधानी’ गीतले धेरैको ध्यान तान्यो। गीतको टाइटल ‘राजधानी’ रहे पनि यो टिकटकमा नारायणी सेनाको रूपमा चर्चित छ।
नयाँ आवाज र नयाँ गीत भएकै कारणले धेरैले यसलाई ‘जेन-जी आन्दोलन लक्षित’ हो कि ! भन्ने अनुमान समेत गरे। तर यो ‘कोइन्सीडेन्ट’ मात्र भएको बताउँछन् ध्रुव।
यो गीतको शब्द, भाव र रचना उनैको हो। तीन महिना अघि आफ्नो युट्युब च्यानलबाट उनले एकै पटक ‘राजधानी’ र ‘ओम शान्ति शान्ति शान्ति’ बोलको गीत सार्वजनिक गरेका थिए।
‘यो गीत मैले मेरो आफ्नै व्यक्तिगत युट्युब च्यानलबाट तीन महिना अघि सार्वजनिक गरेको हुँ । आन्दोलनसँग यसको कुनै सम्बन्ध छैन। कोइन्सीडेन्ट मात्र हो,’ गायक ध्रुव भन्छन्, ‘प्रोटेस्टको भिडियोहरूमा प्रयोग भएको रहेछ। टिकटकबाट खोजेर धेरैले युट्युबमै खोज्दै आउनु भएको पाएँ। धेरैले निकै प्रशंसा गरिरहनुभएको छ।’
यी दुई बाहेक अन्य कुनै गीत उनको सार्वजनिक भएको थिएन। सीमित साथीभाइ माझ नै घुमिरहेको यो गीत भदौ अन्तिम साताबाट भाइरल भयो। उनले कल्पनै गरेको प्रतिक्रियाहरू पाइरहेका छन्।
‘प्रोटेस्टको क्रममा राजधानी गीतको मार्केटमा चहलपहल भएछ। नयाँ र पुरानो साथीहरू माझ म चिनिनँ थाले। संगीत मन पराउनेले ढिलाचाँडो मन पराउँछन् भन्ने त लागेकै थियो। तर यस्तो अवस्थामा परिचित होला भनेर सोचेको थिइनँ, ’ गीतको प्रतिक्रिया सुनाउँदै उनले भने, ‘शब्द र भावहरू कनेक्ट भयो होला। टिकटकमा अहिलेसम्म यस गीतलाई मिलियन भन्दा बढीले रुचाउनु भएको छ।’
यो गीतको अन्तरा प्रयोग भएर टिकटकमा अहिलेसम्म १६ हजार भन्दा बढी भिडियो बनिसकेका छन्। टिकटकमा उनको गीतको सुरुको केही अंश धेरै रुचाइएको पाइयो। गीतमा शब्द अनुसार फरक फरक भाव सुनिन्छ। राजगद्दी, सेना जस्ता शब्दले हुनसक्छ कमेन्टमा केहीले ‘राजावादी’ गीत समेत भनेको देखिन्छ।
तर यो कुनै ‘राजावादी’ वा आन्दोलनसँग सम्बन्धित नभएर आफू भित्रको युद्धको गीत भन्ने गर्छन् उनी।
उनी भन्छन्, ‘गीतको पुरै भाव फरक छ। धेरैले गीत सुनेर गुजबम्ब्स आयो, आङनै सिरीङ भयो, शब्द र आवाज शक्तिशाली छ भन्ने जस्ता प्रतिक्रियाहरू दिइरहनु भएको छ। प्राय गीतहरूमा मै राजा, तिमि रानी भन्ने शब्दहरू त सुनिरहेकै हैन र?’
मैले दिलको राजा भनेर आफू स्वयम्लाई नै भनेको र कुनै दरबारको राजाको नभनेको बताए। आन्दोलनको समयमा भिडियोहरू शेयर भए पनि अहिले जिममा जाँदा, बाइक चलाउँदा र प्रहरीहरूले समेत टिकटक बनाइरहेको देख्दा उनी खुसी छन्।
आफू माथिको जीतको गीत
लामो समय विदेशमा बसेका उनी तीन वर्ष अघि मात्र नेपाल आएका रहेछन्। काठमाडौँमा जन्मिएका र यतै हुर्किएका उनको बल्ल आफ्नो अस्तित्व भेटेको बताउँछन्।
आमाबाबाको डिभोर्स पछि होस्टेल बस्ने देखि विभिन्न स्कुलहरूमा उनको सरुवा भइरहन्थ्यो। गीत लेख्न र गाउन निकै रहर लाग्ने उनको इच्छा होस्टेलको कोठाहरूमै गुम्सिन्थ्यो।
पढाइमा पनि उनी निकै अब्बल थिए। विज्ञानदेखि अध्यात्मसम्ममा उनको ध्यान र मन जान्थ्यो। तर किशोरावस्थामा जाँदै गर्दा उनी कुलतमा फसे। त्यसले गर्दा केही समय सुधार केन्द्र आउने र जानेमै उनको दिनहरू बित्न थाल्यो। त्यही बेला उनले महाभारतको कथाहरू झन् गहिरिएर बुझेका रहेछन्।
उनले पछि गीता पनि पढे। विज्ञान र अध्यात्मसँगै उनले संगीतको रहरलाई पनि मर्न दिएनन्। साथीभाइहरू माझ गीत गाउँदा आफैले लेखेको गीत सुनाउने गर्थे उनी। त्यही बेला उनी अरबदेखि पोर्चुगलसम्म पनि पुगे। सार्वजनिक भएको दुवै गीत उनले एक वर्ष अघि देखि सँगसँगै लेखेका रहेछन्।
“अहिलेसम्म प्रोफेसनल रूपमै आउँछु भन्ने थिएन। तर नेपाल फर्किए पछि मेरो परिचयात्मक गीत भनेर मैले यो सार्वजनिक गरेको हुँ। मेरो इन्ट्रडक्सन गीत-राजधानी कमिङ। म अब यो सांगीतिक क्षेत्रमा आए है भन्ने गीत पनि हो यो,” उनले भने।
आफ्नो बाल्यकाल, किशोरावस्था र वयस्क अवस्थासम्मको अन्तरद्वन्दको भावलाई गीत मार्फत प्रस्तुत गरेको बताउँछन् उनी। आफ्नो जीवनको उतारचढावलाई नै शब्दहरूमा उनेर संगीत भर्न पाउँदा त्यति धेरै अप्ठ्यारो भने महसुस गरेनन् रे उनले।
“मैले के पढेँ, अनुभव गरेँ र भोगेँ त्यसैलाई नै अभिव्यक्त गरेर गीतमा प्रस्तुत गरेको हुँ,” उनी भन्छन्।
“नारायणी सेना छोडी कृष्ण रोज्ने पार्थ म- अर्जुन दृष्टि रणभूमिमा ब्रम्हास्त्र साथमा-अगि लगा रथ मेरो सङ्ख बजा- युद्धस्व युद्धस्वको नारा लगा,” गीत गाउँदै उनी भन्छन्, “हामी सबैले बच्चा बेलामा महाभारत हेर्दै आएका हौँ। पछि केही समय लगाएर मैले भागवत गीताको अध्ययन पनि गरेँ। यी युद्धहरू र मेरो मन भित्रको युद्धहरूलाई मैले जोडेको हुँ। अस्तिको प्रोटेस्टलाई पनि युद्धकै रूपमा हेरिएकाले भाव कनेक्ट भएको हुन सक्छ।”
आफू भित्रको आन्तरिक द्वन्द्व, डर, शङ्का र कमीकमजोरीहरू पार गर्दै बाहिर आए। अब संगीतमानै रमाउने भनेर निर्णय गर्न धेरै लामो यात्रा गर्नु परेको उनी बताउँछन्। १५/२० वटा नयाँ गीतहरू उनले लेखिसके रे। सार्वजनिक गर्ने तयारीमा उनी जुटिसके।
अहिले ठमेलमा बस्ने उनी साथीभाईहरुसँग जक्सन बस्दा बजाउने र गाउने गर्छन्।
“काठमाडौँमा जन्मिएको म। लामो समयपछि आफू हुन पाएँ। आफ्नो घर फर्किन पाएँ। मेरो आफ्नो व्यक्तिगत जीवनको अधिपति लिएँ। राज लिएँ भनेर भनेको हुँ। कुनै राज्य वा राजनीतिक व्यवस्थाको राज्यगद्दी होइन,” उनले आफ्नो राजधानी बोलको गीतको अर्थ खुलाए।
उनको आधा भन्दा बढी दर्शक श्रोता युवाहरू नै छन्। ‘राजधानी गीत सुन्दा क्रान्तिको गीत झैँ सुनिए पनि यो नितान्त प्रेम गीत रहेको बताउँछन् उनी।
उनी यसलाई क्रान्तिसँग जोड्ने नै भए बरु मनोक्रान्ति भन्न मिल्ने तर्क गर्छन्। बाल्यकालको ध्रुव, परिवार, साथीभाइ, समाज र कला क्षेत्रमा आफ्नो आगमनको गीत अनि विश्वमा शान्ति रही रहोस् भनेर उनले ‘मनोक्रान्ति र शान्ति’ भावलाई समेटेर गीत रचेका रहेछन्।
अध्यात्म, दर्शन र संस्कृतमा समेत उनको विशेष रुचि भएको कारण उनको गीतहरूमा ईश्वर, ब्रह्माण्ड, मिथहरूको भाव पनि प्रस्ट देखिन्छ ।
संगीतको नयाँ ध्रुव !
उनको स्वर भिन्न छ, भिडमा ठ्याक्कै छुट्टिने। अझ त्यसमा प्रयोग हुने शब्दहरू निकै नयाँ खालका छन्। कतैकतै र्याप पो हो कि भन्ने भान नपर्ने पनि हैन।
तर उनी कुनै जनरामा सीमित भएको भन्दा पनि गीतको भाव र शब्द अनुसारको धेरै जनरामा रमाउने बनाए।
“यो गीत त उपहार जस्तै आएको गीत नै हो। केही शब्दहरू फुर्यो। लेख्दै गएँ” उनले राजधानी गीतको रचनागर्भ खोल्न थाले “भावसँग मिलाएँ। आफ्नो यात्राहरूसँग रिलेट गर्दै गएँ, त्यही अनुसारले साउन्ड सिर्जना गरेँ। त्यै भएर मेरो अब आउने नयाँ गीतहरू पनि यही जनराको हो भन्ने गरेर ठ्याक्कै छैन।”
अब उनी सार्वजनिक भइसकेको दुई गीतको भिडियो बनाउने योजनामा रहेछन्। धेरैले ‘क्रान्तिकारी भिडियो बनाउन पर्छ, राजा आएको, गद्दीमा बसेको भिडियो बनाउन पर्छ’ भनेर उनलाई सल्लाह आएको रहेछ। तर उनले आफ्नो परिचयात्मक गीत नै देखाउन चाहेका रहेछन्।
“मेरो गीतको भाव त्यो होइन। म मेरो थिम आफू अडियन्ससँग कनेक्ट हुने नै बनाउँछु। एकदम सामान्य बनाउने सोच छ। बाँकी कसले कसरी प्रयोग गर्छ भनेर त मैले हेर्न पर्छ जस्तो लाग्दैन,” उनले भने।
तुलनात्मक रूपमा प्रविधिको कारणले अहिले सांगीतिक क्षेत्रमा काम गर्न धेरै सजिलो भएको उनी बताउँछन्। उनको गीत अन्य केही युट्युब च्यानलले अनुमति नलिई राखेका रहेछन्। यसको लागि कानुनी पाटो र युट्युबबाट नै ‘स्ट्राइक’ हान्न अहिले उनले बुझिरहेका छन्।
एकदम विन्दास भएर घुम्ने, हिँड्ने र रमाउने उनी संगीतमा भने त्यतिकै सिरियस छन्। यही क्षेत्रको साथीहरू माझ पनि उनी भर्खर घुलमिल हुन थालेका छन्।
“अब त उमेर अनुसारले पनि परिपक्वता आयो होला। मेरो प्रकृति, मेरो रहर, मेरो गुण र म संगीतमानै रम्न आइपुगेको छु। धेरै कुराहरूले स्पष्टता पनि दिने रहेछ,” उनले भने।
असोज १४, २०८२ मंगलबार १८:४९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।