चाडबाडको मौकामा यात्रुबाट मनपरी भाडा असुली

खोटाङ : जिल्लामा सञ्चालित यातायात व्यवसायीहरूले चाडपर्वको भीडभाडलाई मौका बनाएर यात्रुबाट मनपरी भाडा असुल गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालयले भाडा समायोजन बैठकमार्फत चाडपर्वमा पनि साबिककै भाडादर लागू गर्ने सहमति भए पनि व्यवसायीहरूले प्रतिव्यक्ति ५०० देखि १ हजार रुपैयाँसम्म बढी असुलेको पाइएको छ।
दिक्तेल–काठमाडौँ र काठमाडौँ–दिक्तेल मार्गका लागि जिप (टाटासुमो) भाडा २ हजार रुपैयाँ तोकिए पनि व्यवसायीहरूले २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँसम्म असुल गरेका छन्। त्यस्तै दिक्तेल–धरान र धरान–दिक्तेलको लागि २ हजार १०० कायम गरिएको भए पनि कार्यान्वयन नभएको यात्रुहरूको गुनासो छ।
प्रहरी कारबाहीको डरले टिकट नदिई यात्रा गराउने गरेको यात्रुहरूले बताएका छन्। धेरैजसो व्यवसायीले ‘रिजर्भ’को नाममा मनपरी भाडा असुलेको यात्रुहरूको अनुभव छ।
तुवाचुङ मारती, पब्लिक मध्यपहाडी, सगरमाथा लगायतका यातायात प्रालिमा आबद्ध व्यवसायीहरू बढी भाडा असुल्ने सूचीमा परेका छन्। यात्रुहरूले गन्तव्यसम्म नपुर्याई बीचमै झार्ने र पुनः अर्को गाडी चढ्न बाध्य पार्ने गरेको आरोप पनि लगाएका छन्। खार्मी जाने भनेर धरानबाट चढेकी ज्ञानकुमारी राईले दिक्तेलमै झारिएको अनुभव सुनाउँदै थप ७०० तिरेर अर्को गाडी चढ्नुपरेको बताइन्।
त्यस्तै बाक्सिला–काठमाडौँ मार्गमा तोकिएको २ हजार ८०० को सट्टा ३ हजार ५०० तिरेर यात्रा गर्नुपरेको इन्द्र साम्पाङ राईले गुनासो गरे। यात्रुहरूले प्रमाणसहित उजुरी गर्दा पनि प्रहरी प्रशासनले चासो नदिएको आरोप लगाएका छन्।
यता जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले भने अहिलेसम्म औपचारिक गुनासो नआएको प्रतिक्रिया दिए। “ठगीमा परेको प्रमाण आए कारबाही हुन्छ,” उनले बताए।
तर, यात्रुहरूले सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाइने गरेको उजुरी पनि गरेका छन्। खोटाङ यातायात प्रालिका प्रतिनिधि अमिर अधिकारीले भने आफ्ना सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा नलिएको दाबी गर्दै प्रमाणसहित मात्र गुनासो मान्य हुने बताएका छन्।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वमा यात्रुको सहजता र सुरक्षा सुनिश्चित गर्न कडाइ गर्ने निर्णय गरेको भए पनि कार्यान्वयनमा कमजोरी देखिएको यात्रुहरूको भनाइ छ।
असोज १४, २०८२ मंगलबार १५:१२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।