ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २० बुँदे योजना सार्वजनिक भएको छ। सोमबार प्रस्तुत गरिएको उक्त योजनालाई हमासले समीक्षा गरिरहेको जनाएको छ।
राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै “हमास अहिले कमजोर भएको अवस्थामा प्रस्ताव स्वीकार गर्नुबाहेक विकल्प छैन” भनेका छन्। नेतान्याहुले समेत प्रस्ताव अस्वीकार भए इजरायल आफैंले निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।
यो योजना कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत हमाससम्म पुगेको छ। हमासका वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ अध्ययन भइरहेको’ बताएका छन्।
कब्जा गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ। त्यस्तै इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहललाई प्रशंसा गरेका छन्। तर प्यालेस्टिनी राज्यको प्रश्न स्पष्ट नभएको भन्दै आलोचना पनि भइरहेको छ।
योजना अनुसार ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहितको अस्थायी प्रशासकीय समिति गठन गरिनेछ। इजरायलले योजना स्वीकृत गरेपछि ७२ घण्टाभित्र हमासले सबै बन्धक मुक्त गर्नुपर्नेछ। त्यसको बदलामा इजरायलले सयौँ प्यालेस्टिनीलाई रिहा गर्नेछ, जसमा आजीवन कारावास भोगिरहेका कैदी पनि पर्नेछन्।
ट्रम्पले योजना सफल नभए हमासविरुद्ध थप इजरायली कारबाहीमा आफ्नो “पूर्ण समर्थन” रहने स्पष्ट पारेका छन्। नेतान्याहुले पनि हालै कतारसँग सम्बन्ध सुधार्ने प्रयासस्वरूप त्यहाँ भएको इजरायली आक्रमणप्रति खेद व्यक्त गरेका छन्। कतारी प्रधानमन्त्रीले सो माफी स्वीकार गरेको ह्वाइट हाउसले जनाएको छ।
तर इजरायलका अति–दक्षिणपन्थी नेताहरूले भने कतारमा भएको सैन्य कारबाहीलाई उचित ठहर गर्दै समर्थन गरेका छन्। यसैबीच नेतान्याहु सरकारभित्रै पनि कट्टर गठबन्धन साझेदारहरूले हमासको पूर्ण उन्मूलनको माग गरिरहेका छन्।
योजनामा बन्धक मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्वमा प्रतिबद्ध हमास सदस्यलाई माफी दिने र गाजा छोड्न चाहनेलाई सुरक्षित मार्ग उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।
हाल इजरायलले ४८ जना बन्धक रहेको बताएको छ, जसमा करिब २० जना जीवित रहेको विश्वास गरिएको छ। हमासले भने शासनबाट पछि हट्न तयार भए पनि विगतमा निःशस्त्रीकरण अस्वीकार गर्दै आएको छ।
गत हप्ताको संयुक्त राष्ट्र महासभा साइडलाइनमा ट्रम्पले विभिन्न अरब तथा इस्लामिक नेतासँग छलफल गरेका थिए। उनले यो सम्झौताले “मध्यपूर्वमा स्थायी शान्ति र समृद्धिको नयाँ युग” सुरु गर्न सक्ने दाबी गरेका थिए।
“म प्यालेस्टिनीहरूलाई आफ्नो भविष्यको जिम्मेवारी लिन चुनौती दिन्छु। अहिले हामीले उनीहरूलाई त्यो अवसर दिइरहेका छौं,” राष्ट्रपति ट्रम्पले भनेका छन्।
असोज १४, २०८२ मंगलबार १३:५८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।