पोस्ट म्याचमा इयान बिशपले आफूलाई रोक्नै सकेनन्, रोहितसँग हात मिलाउँदै भने- ‘तिमी असाधारण युवा कप्तान हौ’

काठमाडौं : नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० शृंखला जितेपछि विश्व क्रिकेटका प्रसिद्ध खेलाडी तथा कमेन्टेटर इयान बिशपले नेपाली टोली र विशेषगरी कप्तान रोहित पौडेलको नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका छन्।
शारजाहमा भएको दोस्रो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले हराउँदै शृंखला आफ्नो नाममा पारेपछि आयोजित ‘पोस्ट-म्याच प्रिजेन्टेसन’ समारोहमा बिशपले आफ्नो परम्परा तोड्दै रोहितको प्रशंसामा भावुक शब्दहरू व्यक्त गरे।
‘म सामान्यतया यस्तो गर्दिनँ, तर मलाई थाहा छ यो जित देशलाई चाहिएको थियो, टोलीलाई चाहिएको थियो,’ बिशपले कप्तान रोहितलाई सम्बोधन गर्दै भने, ‘रोहित! तिमीले साँच्चै राम्रो गर्यौ। एक युवा खेलाडीका रूपमा तिमी एक असाधारण कप्तान हौ।’
बिशप जस्ता विश्व क्रिकेटका दिग्गज व्यक्तित्वबाट यस्तो व्यक्तिगत प्रशंसा पाउनु नेपाली क्रिकेट र कप्तान रोहित पौडेलका लागि ठूलो सम्मानको विषय हो। उनको यो भनाइले नेपालको जितले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पारेको सकारात्मक प्रभावलाई समेत देखाएको छ।
सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा आफ्नो पूर्ण प्रभुत्व जमाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख (६८*) र सन्दीप जोरा (६३) को कीर्तिमानी शतकीय साझेदारीको मद्दतले १ सय ७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो।
जवाफमा, नेपाली बलरहरूको अनुशासित प्रदर्शन र फिल्डरहरूको अद्भूत चुस्ततासामु वेस्ट इन्डिजको टोली निरीह देखियो। तीन वर्षपछि टोलीमा पुनरागमन गरेका आदिल आलमले ४ विकेट लिएर आफ्नो आगमनलाई स्मरणीय बनाए भने कुशल भुर्तेलले ३ विकेट लिए। वेस्ट इन्डिजको सम्पूर्ण टोली मात्र ८३ रनमा समेटिएपछि नेपालले एक खेल अगावै शृंखला जितेको हो।
यो जित केवल एक शृंखला विजय मात्र नभई, टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो टी-२० शृंखला उपाधि पनि हो। आसन्न टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीका लागि यो जित र इयान बिशप जस्ता हस्तीबाट प्राप्त प्रशंसाले ठूलो मनोवैज्ञानिक ऊर्जा प्रदान गरेको छ।
अब नेपालको लक्ष्य मंगलबार हुने अन्तिम खेल जितेर शृंखला ‘क्लिन स्विप’ गर्नु र यही उच्च मनोबलका साथ विश्वकप यात्रा तय गर्नु हुनेछ।
असोज १४, २०८२ मंगलबार १०:०५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।