सिरिज ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छौँ : सन्दीप जोरा

सिरिज ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छौँ : सन्दीप जोरा

काठमाडौं : वेस्ट इन्डिजविरुद्धको टी-२० शृंखलामा ऐतिहासिक जित हासिल गरेपछि नेपाली क्रिकेट टोलीका ब्याटर सन्दीप जोराले अब टोलीको लक्ष्य शृंखला ‘क्लिन स्विप’ गर्नु रहेको बताएका छन्।

मंगलबारको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो ऐतिहासिक जितले टोलीको मनोबल उच्च भएको र आउँदो विश्वकप छनोटका लागि थप प्रेरणा मिलेको बताए।

‘दुई पटकको विश्व च्याम्पियन टोलीलाई शृंखलामा हराउनु ऐतिहासिक हो। हामी सबै एकदमै खुसी छौं,’ जोराले भने, ‘यो जितले हामीलाई आगामी विश्वकप छनोटका लागि थप उत्प्रेरणा दिएको छ।’

खेलमा आफ्नो ब्याटिङ भूमिकाबारे प्रस्ट्याउँदै जोराले प्रशिक्षकबाट आफूलाई स्पष्ट जिम्मेवारी दिइएको बताए।

‘मेरो ब्याटिङ पोजिसनबारे प्रशिक्षकले स्पष्ट योजना दिनुभएको थियो। यदि १० ओभरभित्र ३ विकेट गयो भने म ब्याटिङमा जाने भन्ने थियो,’ उनले भने, ‘क्रिजमा जाँदा आसिफ (शेख)सँग साझेदारी गर्ने, स्ट्राइक रोटेट गर्ने र खराब बलमा प्रहार गर्ने सामान्य योजना थियो।’

एक महिनाअघिसम्म टोलीबाहिर रहेका जोराले नेपाल ‘ए’ टोलीको प्रदर्शनले आफूलाई राष्ट्रिय टोलीमा फर्किन मद्दत गरेको बताए। उनले यस्ता ‘ए’ टोलीका शृंखलाहरूले राष्ट्रिय टोलीका लागि बेन्च स्ट्रेन्थ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

‘नेपाल ‘ए’ सिनियर टोलीको बेन्च स्ट्रेन्थ बनाउनका लागि हो। यस्ता खेलहरू नियमित हुनुपर्छ, जसले टोलीबाहिर रहेका खेलाडीलाई पनि खेल एक्सपोजर र पुनरागमन गर्ने अवसर दिन्छ’, उनले भने।

अब टोलीको ध्यान शृंखला ३-० ले जित्नेमा केन्द्रित रहेको उनले बताए।

एक पत्रकारको प्रश्नमा उनले भने, ‘पहिले वेस्ट इन्डिजलाई ३-० ले हराउने कुरा सपना जस्तो लाग्थ्यो होला, तर अब यो सम्भव देखिन्छ। हामी आफ्नो क्षमता अनुसार खेल्यौं भने जित्न सक्छौँ।’

उनले टोलीको जितमा कुनै एक खेलाडीको नभई ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको सामूहिक प्रयास रहेको बताए।

‘यो कुनै एक व्यक्तिको प्रयासले भएको होइन, यो पूरै टिमको प्रयास हो। सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरेका छन्’, उनले भने।

असोज १४, २०८२ मंगलबार ०८:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।