तीन वर्षपछि पुनरागमन गरेका आदिलको शानदार प्रदर्शन, भने- ‘टोलीमा फर्किन चौतर्फी प्रदर्शन सुधारेँ’

काठमाडौं : तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका अलराउन्डर मोहमद आदिल आलमले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई पुनः एकपटक प्रमाणित गरेका छन्।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उनले लामो समयको प्रतीक्षा, आफ्नो तयारी र टोलीमा आफ्नो भूमिकाबारे खुलेर कुरा गरे। लामो समयपछि टोलीमा फर्कँदा एकदमै खुसी लागेको उनले बताए।
‘तीन वर्ष लामो समय हो। पुनरागमन गरेर देशको जितमा योगदान दिन पाउँदा निकै खुसी छु’, आदिलले भने।
खेलमा ४ विकेट लिएका आदिलले आफ्नो सफलताको श्रेय योजनाबद्ध बलिङलाई दिए। उनले वेस्ट इन्डिजका ब्याट्सम्यानहरूलाई राम्ररी अध्ययन गरेर आफ्नो बलियो पक्ष, विशेषगरी स्लोअर बल र योर्करको प्रभावकारी प्रयोग गरेको बताए।
‘हामीले वेस्ट इन्डिजका ब्याट्सम्यानहरूको खेल हेरिरहेका थियौं। आजको खेलमा स्लोअर बल र योर्कर प्रभावकारी हुन्छ भन्ने योजना थियो, त्यही अनुसार बलिङ गर्दा सफल भएँ’, उनले आफ्नो रणनीतिबारे बताए।
आफ्नो ब्याटिङ भूमिकाबारे प्रस्ट्याउँदै उनले आफूलाई 'फिनिसर' को रूपमा तयार राखेको बताए।
‘मेरो जिम्मेवारी नै अन्त्यतिर गएर ठूला शट खेल्ने हो। आज ५ बल खेल्न पाएँ र बाउन्ड्री हान्ने प्रयास गरेँ। आशा छ, आगामी खेलमा मेरो ब्याटिङको पालो नआओस्, तर आवश्यक परे म तयार छु’, उनले टोलीलाई प्राथमिकतामा राख्दै भने।
आदिलले आफ्नो पुनरागमनमा नेपाल ‘ए’ टोलीको भूमिका महत्वपूर्ण रहेको बताए। प्रतिबन्ध फुकुवा भएपछि घरेलु क्रिकेट नभएको अवस्थामा नेपाल ‘ए’ टोलीबाट खेल्ने अवसरले राष्ट्रिय टोलीको ढोका खोलेको उनको भनाइ थियो।
‘नेपाल एबाट खेल्न पाएर धेरै फाइदा भयो। त्यहाँको प्रदर्शनकै आधारमा सिनियर टोलीमा पुनरागमन गर्न पाएको हुँ’, उनले भने।
तीन वर्षको अवधिमा आफूले हार्ड-हिटिङमा मात्र नभई आफ्नो समग्र खेलमा सुधार गर्न मिहिनेत गरेको उनले बताए।
‘टोलीमा फर्किन हार्ड-हिटिङले मात्र पुग्दैन भन्ने थाहा थियो। त्यसैले मैले ब्याटिङ र बलिङ दुवैमा सुधार गर्न निरन्तर प्रयास गरिरहेँ’, उनले थपे।
असोज १४, २०८२ मंगलबार ०८:४८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।