नेपालको जितपछि वेस्ट इन्डिजका कप्तानको स्वीकारोक्ति- ‘नेपाली टोली अनुभवी छ, हामीले पाठ सिक्यौँ’

नेपालको जितपछि वेस्ट इन्डिजका कप्तानको स्वीकारोक्ति- ‘नेपाली टोली अनुभवी छ, हामीले पाठ सिक्यौँ’

काठमाडौं : युनिटी कप अन्तर्गतको दोस्रो टी-२० खेलमा नेपालसँग पराजित भएपछि वेस्ट इन्डिज टोलीका कप्तान अकील हुसेनले नेपाली टोलीको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन्।

युएईको शारजाहमा भएको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको स्वीकार गरे।

‘नेपाली टोलीले आज साँच्चै राम्रो ब्याटिङ गर्यो,’ कप्तानले भने, ‘उनीहरूले राम्रो सुरुवात गर्दै मध्यक्रममा पनि लय कायम राखे र अन्त्यमा एक बलियो स्कोर खडा गरे। यो मैदानमा १५० भन्दा माथिको कुनै पनि स्कोर चुनौतीपूर्ण हुन्छ।’

आफ्नो टोलीको ब्याटिङ असफलतालाई हारको मुख्य कारण मान्दै उनले पावरप्लेमा कमजोर शुरूवातले टोलीलाई दबाबमा पारेको बताए।

‘१७५ रनको लक्ष्य पछ्याउँदा तपाईंका ब्याट्सम्यानले राम्रो खेल्नुपर्छ। तर हामीले पावरप्लेमै २ विकेट गुमाएर १६ रन मात्र बनाउन सक्यौं, जसले हामीलाई खेलमा निकै पछाडि धकेल्यो,’ उनले थपे, ’त्यसपछि हामी सधैं खेलमा फर्किने प्रयासमा मात्र रह्यौं।’

कप्तानले नेपाली टोलीको अनुभव र घरेलु मैदानको फाइदा उठाउने क्षमताको पनि प्रशंसा गरे।

‘यी खेलाडीहरू अनुभवी छन्, उनीहरूले ४-५ वर्षदेखि सँगै खेलिरहेका छन्। उनीहरूलाई यहाँको अवस्था राम्रोसँग थाहा छ र त्यसको भरपुर फाइदा उठाए’, उनले भने।

यस शृंखलामा मौका पाएका नयाँ खेलाडीहरूका लागि यो हार एक ‘वेक-अप कल’ भएको उनको भनाइ थियो।

‘अन्तर्राष्ट्रिय क्रिकेट कुनै मजाक होइन। यहाँ सफल हुन र टिकिरहन धेरै मिहिनेत गर्नुपर्छ। यो हार नयाँ खेलाडीहरू र समग्र टोलीका लागि एउटा पाठ हो’, उनले भने।

नेपालको फिल्डिङको प्रशंसा गर्दै उनले भने, ‘क्याचले म्याच जिताउँछ। आज नेपाली फिल्डरहरूले उत्कृष्ट प्रदर्शन गरे, जसले उनीहरूका बलरहरूलाई ठूलो सहयोग पुग्यो।’

लगातार दुई खेल हारेर शृंखला गुमाए पनि अन्तिम खेल जितेर भ्रमणको सुखद अन्त्य गर्नेमा उनी आशावादी देखिए।

‘शृंखला ३-० ले हार्नुभन्दा २-१ ले हार्नु राम्रो हो। हामी अन्तिम खेलका लागि पुनर्मूल्यांकन गरेर मैदानमा उत्रनेछौं र जित्ने प्रयास गर्नेछौं’, उनले भने।

असोज १४, २०८२ मंगलबार ०८:४२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।