नेपालमा हत्याको योजना, बदलामा हतियारले भरिएको प्लेन; रअ एजेन्टको निर्देशन- ‘भेट्ने बित्तिकै मार्, मौका फेरि आउँदैन’

नेपालमा हत्याको योजना, बदलामा हतियारले भरिएको प्लेन; रअ एजेन्टको निर्देशन- ‘भेट्ने बित्तिकै मार्, मौका फेरि आउँदैन’

न्युयोर्क : भारतको एक जासुसले अमेरिका, नेपाल र पाकिस्तानमा आफ्ना विरोधीहरूको हत्या गराउन एक भारतीय व्यक्तिलाई सुपारी दिएको र बदलामा हतियारले भरिएको पूरै प्लेन दिने वाचा गरेको सनसनीपूर्ण खुलासा भएको छ।

यो घटना अमेरिकाको एक अदालतमा पेश गरिएका कागजातहरूबाट बाहिर आएको पाकिस्तानी समाचार संस्था डाउनले जनाएको छ।

अभियुक्त निखिल गुप्तामाथि पैसाको अवैध कारोबार, ठगी, लागुऔषध र हतियारको तस्करीका साथै नेपाल वा पाकिस्तानमा एक व्यक्तिको हत्या प्रयास गरेको समेत आरोप लगाइएको छ।

अमेरिकी सरकारी वकिलहरूका अनुसार, भारतको खुफिया एजेन्सी ‘रअ’का एक पूर्व अधिकारी विकाश यादवले निखिल गुप्तालाई हत्या गर्न अह्राएका थिए। अमेरिकामा बस्ने एक सिख नेताको हत्या गर्नु उनीहरूको मुख्य योजना थियो।

यादवले गुप्तालाई काम सकेपछि अत्याधुकिन अत्याधुनिक राइफल र पिस्तोलहरू दिने र आश्वयक परे हतियारले भरिएको प्लेन नै पठाइदिने वाचा गरेका थिए।

यादवले भनेका थिए, ‘तिमीले यो काम फत्ते गरेपछि म तिमीलाई अत्याधुनिक राइफल र पिस्तोलहरू दिन्छु। आवश्यक परे भारतबाट हतियारले भरिएको प्लेन नै पठाइदिन्छु।’

उनीहरू ह्वाट्सएपमा हतियारलाई ‘खेलौना’ जस्ता कोड शब्द प्रयोग गरेर कुरा गर्थे। यादवले भनेका थिए, ‘पहिले अमेरिकाको काम सक, त्यसपछि खेलौना पाउँछौ।’

नेपाल पनि थियो निशानामा
यो षड्यन्त्र अमेरिकामा मात्र सीमित थिएन। यादवले गुप्तालाई नेपाल वा पाकिस्तानमा रहेका अर्का एक व्यक्तिको पनि हत्या गर्न निर्देशन दिएका थिए।

गुप्ताले यादवलाई जानकारी दिएअनुसार, उनका मानिसहरू (जसलाई उनले ‘लडाकु’ भनेका थिए)ले नेपाल पुगेर निशानामा रहेको व्यक्तिको खोजी गरिरहेका थिए।

यादवले गुप्तालाई भनेका थिए, ‘यो काम तुरुन्तै हुनुपर्छ। यदि तिम्रा मान्छेले उसलाई समातेका छन् भने, मारिहाल्नु। नत्र फेरि मौका मिल्दैन।’

५३ वर्षीय निखिल गुप्तालाई गत वर्ष युरोपेली देश चेक रिपब्लिकमा पक्राउ गरिएको थियो।

गुप्ताले जसलाई भाडाको हत्यारा (हिटम्यान) भनेर काम दिएका थिए, ऊ वास्तवमा अमेरिकी प्रहरीको एक गुप्तचर अधिकारी निस्कियो। त्यहीँबाट यो सबै षड्यन्त्रको पर्दाफास भयो। हालै उनलाई चेक रिपब्लिकले अमेरिकासामु सुपुर्दगी गरेको छ, जहाँ उनीमाथि मुद्दा चलिरहेको छ।

अमेरिकी अधिकारीहरूले यस घटनालाई गम्भीर रूपमा लिएका छन् र अमेरिकाको भूमिमा अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने यस्ता कुनै पनि प्रयास सहन नसकिने बताएका छन्।

यसअघि क्यानडामा अर्का सिख नेता हरदीप सिंह निज्जरको हत्या भएको थियो। गुप्ताले आफूले भाडामा लिएको गुप्तचर अधिकारीलाई भनेका थिए, ‘क्यानाडामा मारिएका निज्जर पनि हाम्रै निशाना थिए।’

गुप्तालाई सुपारी हत्याको षड्यन्त्र र हत्या प्रयासको आरोप लागेको छ, जसमा उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ।

शुरूमा क्यानडाले लगाएको आरोप अस्वीकार गरेको भारतले अमेरिकाको उजुरीपछि भने एक आन्तरिक अनुसन्धान गरेको थियो। ब्लूमबर्ग रिपोर्ट अनुसार, उक्त अनुसन्धानले यो षड्यन्त्र केही ‘भड्किएका एजेन्टहरू’ले रचेको निष्कर्ष निकालेको थियो।

भारतीय विदेश मन्त्रालयले यस घटनामा संलग्न एक अधिकारीलाई सेवाबाट हटाइएको बताएको छ। यद्यपि, पछिल्लो आरोपबारे भारतले कुनै टिप्पणी गरेको छैन।

असोज १४, २०८२ मंगलबार ०८:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।