घरायसी कामको बोझले भान्सामै कैद महिलाको दशैं

टीकापुर : गाउँघरमा मालश्री धुन गुन्जिन थालेको छ, शहरका चोकचोकमा लिङ्गे पिङ मच्चिइरहेका छन् र वर्ष दिनमा भेटिने आफन्तको प्रतीक्षामा मन रमाएको छ। दशैं, अर्थात् उत्सव, उमङ्ग र पारिवारिक पुनर्मिलनको पर्व।
रोजगारी र अध्ययनका लागि घरबाहिर रहेकाहरू धमाधम घर फर्किएका छन्, जसले हरेक आँगनमा खुसीको रौनक थपेको छ। तर, यही रमझम र चहलपहलको बीचमा एउटा यस्तो वर्ग छ, जसका लागि दशैं उत्सवभन्दा बढी कामको बोझ बनेर आउँछ- घरका महिलाहरू।
भजनी नगरपालिकाकी साधना साउँदको घरमा यतिबेला खुसीको सीमा छैन। दुई वर्षपछि विदेशमा रहेका श्रीमान् घर फर्किएका छन्। घर आफन्त र पाहुनाले भरिभराउ छ। बाहिरबाट हेर्दा सबै रमाइरहेका छन्, तर साधनाको भने भोक र निद्रा नै हराएको छ।
‘दुई वर्षपछि श्रीमान्सँग भेट हुँदा खुसी त छु, तर यो खुसी साट्ने फुर्सद कहाँ छ र?’ उनी भन्छिन्, ‘यसपालि श्रीमान्सँग कतै घुम्न जाने कति योजना थियो, तर बिहान ४ बजेदेखि राति ११ बजेसम्म भान्सा र आँगनबाट बाहिर निस्किन पाएको छैन। घरमा सबै रमाउनेहरू मात्रै छन्, काम जति सबै मेरै जिम्मामा छ।’
साधनाको यो अनुभव प्रतिनिधि मात्र हो। नेपाली समाजमा चाडपर्वको समयमा महिलाहरू घरको सरसफाइ, मरमसलाको तयारी, पाहुनाको सत्कार र भान्साको व्यवस्थापनमा यसरी व्यस्त हुन्छन् कि उनीहरूका लागि पर्व केवल थपिएको जिम्मेवारी बन्न पुग्छ।
टीकापुरकी द्रोपती तिमिल्सिना समाजको यो यथार्थलाई नजिकबाट नियालिरहेका छन्।
‘चाडपर्वको बिदामा पुरुषहरू तास खेलेर, गफ गरेर वा घुमघाम गरेर फुर्सदिला देखिन्छन्, तर महिलाहरू भान्साको धुवाँ र पाहुनाको स्वागतमा हराइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘महिलाले पनि त यो समयमा नयाँ ठाउँ घुम्ने, किताब पढ्ने वा आफ्ना लागि केही समय छुट्याउन पाउनुपर्ने हो नि!’
तर, द्रोपतीको आफ्नै परिवार भने केही फरक छ। उनका श्रीमान् निकै सहयोगी छन्। उनीहरू मिलेर घरायसी काम गर्छन् र चाडपर्वको खर्चदेखि नयाँ योजना बनाउँदासम्म सँगै सल्लाह गर्छन्। यो सानो अभ्यासले पनि उनीहरूको परिवारमा पर्वको खुसी दुवैले बराबर महसुस गर्न पाएका छन्।
घरायसी कामको बोझ सधैँ नै महिलाको काँधमा हुने समाजमा चाडपर्वले थप जिम्मेवारीको भारी बोकाउँछ। त्यसमाथि पनि कामकाजी महिलाहरूलाई यो समय झनै कठिन हुने जानकी कुँवर बताउँछन्।
‘कार्यालयको कामबाट छुट्टी मिले पनि घरको कामबाट कहिल्यै छुट्टी मिल्दैन। चाडपर्वमा त झन् दोहोरो जिम्मेवारीले थिच्छ,’ उनी भन्छिन्, ‘यस्तो बेला परिवारका सबै सदस्य सहयोगी बन्नुपर्छ। उत्सवको खुसी सबैको साझा अधिकार हो, र परिवार भनेको सामूहिक खुसी हो भन्ने भावना सबैमा हुनु जरुरी छ।’
अधिकारकर्मी चन्द्रावती शर्माका अनुसार, चाडपर्वमा पुरुषहरू रमाइलोका नाममा जाँडरक्सी खाने, जुवातास खेल्ने जस्ता गलत अभ्यासमा लाग्दा त्यसले पारिवारिक कलह र हिंसालाई बढावा दिइरहेको छ।
‘एकातिर महिलाहरू रातदिन घरको काममा व्यस्त हुने, अर्कोतिर पुरुषहरू जुवातास र मदिरामा रमाउने गर्दा परिवारमा तनाव बढ्छ,’ उनी भन्छिन्, ‘यदि परिवारका सबै सदस्य मिलेर काम गर्ने र सँगै बसेर रमाइलो गर्ने हो भने मात्र चाडपर्व साँच्चै उत्सव बन्छ। तर, हाम्रो समाजमा यस्तो अभ्यास अझै निकै कम छ।’
यो समस्याको जड पितृसत्तात्मक सामाजिक संरचनामा रहेको महिला अधिकारकर्मी कौशल्या खनाल बताउँछिन्।
‘हामीले छोरा र छोरीलाई हुर्काउँदा नै कामको विभेद गर्यौँ। छोरीलाई भान्साको काम सिकायौँ, छोरालाई बाहिरी काम। त्यसैको परिणाम आज महिलाहरूले भोगिरहेका छन्,’ उनी भन्छिन्, ‘अबका आमाहरू सचेत हुनुपर्छ। छोराछोरी दुवैलाई बराबरी काम सिकाउनुपर्छ। छोरालाई सानैदेखि घरायसी काममा सहभागी गराए मात्र भोलिको पुस्तामा यो समस्या कम हुँदै जान्छ।’
चाडपर्वको व्यस्ततामा महिलाहरूले आफ्नो स्वास्थ्यलाई बेवास्ता गरिरहेका हुन्छन्। स्वास्थ्यकर्मी हेमा ज्ञवाली महिलाहरूलाई कामको तनाव नलिन र आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिन्छिन्।
‘चाडपर्व सबैका लागि हो। मीठो खाने, राम्रो लगाउने र रमाउने अधिकार सबैको हुन्छ,’ उनी भन्छिन्, ‘परिवारमा कामको बाँडफाँड गर्ने, अनावश्यक खर्च नगर्ने र एकअर्काको भावनाको कदर गर्ने हो भने महिला र पुरुष दुवै खुसी हुन्छन्। जब परिवारका सदस्य खुसी हुन्छन्, तब मात्र समाजमा शान्ति छाउँछ।’
दशैंको सार्थकता महँगा लत्ताकपडा र थरीथरीका परिकारमा मात्र होइन, परिवारका हरेक सदस्यको अनुहारमा देखिने बराबरको खुसीमा निहित हुन्छ। जबसम्म भान्सामा एक जना पसिना बगाइरहन्छ र आँगनमा अरू मात्र रमाइरहन्छन्, तबसम्म पर्व पूर्ण रूपमा उत्सव बन्न सक्दैन।
दुर्गा देवकोटा / रासस
असोज १४, २०८२ मंगलबार ०७:३६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।