मनसुनी वायु सक्रिय : देशका अधिकांश स्थानमा वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय : देशका अधिकांश स्थानमा वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी र स्थानीय वायुको प्रभावले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै, तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।

आज राति कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, देशका अन्य भू-भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

असोज १४, २०८२ मंगलबार ०७:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।