'दशैंमा फिल्म रिलिज हुँदा दश वर्ष टीका लगाउन पाइनँ'

पहिले दशैंको चाडपर्वमा फिल्म चल्दैन भन्ने डर हुन्थ्यो निर्माताहरूलाई। रिलिज गर्दा पनि उपत्यका बाहिर मात्रै रिलिज गर्थे। उपत्यकाभित्र चाहिँ, बाहिर चलेर आइसकेको २-३ महिनापछि मात्र रिलिज हुन्थ्यो।
एकै समयमा कहिल्यै रिलिज हुँदैनथ्यो। किनभने त्यो समयमा उपत्यकामा बसोबास गर्ने मान्छेहरू गाउँ फर्किसकेका हुन्थे, यहाँ सुनसान हुन्छ, फिल्म नै चल्दैन भन्ने मानसिकता थियो।
हलमा फिल्म लगायो भने पनि खासै चल्दैनथ्यो। त्यतिबेला फिल्म चलेको रेकर्ड पनि खासै राम्रो छैन। हिन्दी फिल्महरू चल्थे, तर नेपाली फिल्मलाई कसैले वास्ता गर्थेनन्।
पछि पछि म आफैंले आफ्नो फिल्म दशैंमा लगाउनका लागि रिक्स लिन थालेँ। उपत्यकाभित्रको हलमा समेत दर्शक त राम्रै रहेछन् भन्ने थाहा पाएँ। 'कसले चोर्यो मेरो मन', 'अन्दाज', 'काली' लगायत थुप्रै फिल्मले उपत्यकामा नै राम्रै कमाई गरे। त्यसपछि दशैं आयो कि रेखा थापा नै भन्ने हुन्थ्यो। अरु कसैले त्यो समयमा फिल्म चलाउन मान्दैनथे। दशैं भन्यो कि रेखाको फिल्म आउँछ भन्ने चलन बन्यो। मेरो फिल्मसँग एउटा मात्रै भिड्न आउँथ्यो, तर खासै चल्दैनथ्यो। मेरो फिल्ममै दर्शकको ओइरो लाग्थ्यो। एक्लै नै रिलिज हुन्थ्यो। तनाव भनेको, दर्शकले मन पराउँछन् कि पराउँदैनन् भन्ने मात्रै हुन्थ्यो।
दर्शकको मन जित्ने तनाव
त्यतिबेला मलाई दर्शकले फिल्म मन पराउँछन् कि पराउँदैनन् भन्ने मात्रै तनाव हुन्थ्यो। यो बाहेक अरु केही पनि तनाव हुन्नथ्यो। निर्माताको हिसाबले चरम विन्दुको सफलता पाइन्थ्यो। त्यो समयमा म र मेरो टिमले दशैंमा फिल्म उपत्यकामा पनि चलाउनुपर्छ भनेर आँट नगरेको भए, अहिले पनि उस्तै हुन्थ्यो कि भन्ने लाग्छ।
एक पटक मेरो फिल्म किस्मतसँग हिन्दी फिल्म ओम शान्ति ओम भिडेको थियो। तर त्यसले पनि खासै असर गरेको थिएन। ठूला हिन्दी फिल्महरू दशैं-तिहारको समयमा रिलिज हुने भएकाले पनि होला, नेपाली निर्माताहरूले रिक्स लिन चाहँदैनथे।
मैले भने रिक्स लिएँ र सफल भएँ। त्यसपछि दशैंमा फिल्म चलाउन होडबाजी नै सुरु भयो। रिक्स लिँदा कि त डुब्छ, कि त सफल हुन्छ। मैले सफलतामै हात पारेँ। तर मेरो फिल्म राम पियारी भने दशैंमा रिलिज भएन, किनकि भूकम्प गएको थियो। त्यसपछि अरु कमेडी फिल्महरू रिलिज हुन थाले।
निन्द्राविहीन रातहरू
फिल्म हलमा चल्दा रातभर निन्द्रा लाग्दैनथ्यो। निर्देशक र निर्माताबीच झगडा हुने कुरा अहिले जस्तो थिएन। मेरो प्रतिस्पर्धा म आफैंसँग हुन्थ्यो। दर्शकलाई मन पर्छ कि पर्दैन भन्ने तनावले रातभरि सुत्न सक्दिनथेँ।
फिल्म फूलपातीमा रिलिज हुन्थ्यो, अघिल्लो दिन रातभर जाग्राम बसिन्थ्यो। साथीहरूलाई पनि भेला पारेर बस्थ्यौं। यो चिन्ता लगानी उठ्छ कि उठ्दैन भन्ने थिएन, दर्शकलाई फिल्म मन पर्छ कि पर्दैन भन्ने थियो।
दशैं नमनाएको दशक
दशैंमै फिल्म रिलिज हुँदा टीका लगाउन समय नै नमिल्ने। मैले करिब दस वर्षसम्म दशैं नमनाएको अनुभव छ। हलमा फिल्म कस्तो छ भनेर हेर्न जान्थेँ। उमेरकै रमाइलो गर्ने समय थियो, तर मैले त्यतिबेला रमाइलो गर्ने मौका पाइनँ। अहिले सम्झिँदा लाग्छ, त्यो मेरो हिम्मत थियो।
अहिलेको गन्जागोल
अहिले चाहिँ अवस्था अर्कै छ। निर्माताबीचको झगडा, नजरअन्दाज, दादागिरीमा भर परेर रिलिज हुने अवस्था देखिन्छ। दशैंमा फिल्म रिलिज गरियो भने आफू ठूलो निर्माता वा निर्देशक ठान्ने भ्रम छ। त्यो भ्रम त्याग्नुपर्छ। फिल्म भनेको जुन समयमा पनि राम्रो कन्टेन्ट छ भने चल्छ।
पहिले ठूला स्टारकै फिल्म आउँछ भन्ने हुन्थ्यो, अहिले त गन्जागोल छ। नेपालमा स्टार नै नभएको जस्तो छ। जसको पनि फिल्म जससँग आए पनि हुन्छ भन्ने स्थितिमा छ। नयाँ फिल्ममेकर आए पनि सीधा दशैंमा रिलिज गर्ने घोषणा गर्छन्, त्यो मैले बुझ्न सकेको छैन।
दशैं जस्तो प्रतिष्ठित पर्वलाई हलुका रूपमा लिनु गलत हो। फिल्म बजारलाई मिलेर विस्तार गर्नुपर्ने हो-निर्माता, निर्देशक, कलाकार सबैले। अहिले त दशैं दादागिरीको जस्तो लाग्छ। हामीले त फिल्म नचल्ने समयमा पनि हलमा लगाएर चलाएका हौँ। अहिलेको यो झगडा र गालीगलौजले दर्शक निराश हुन्छन्।
दशैंको जस्तो विजय उत्सव मनाउने बेला निर्माताबीच गालीगलौज भइरहेका देख्दा लाज लाग्छ। दर्शकले त्यस्ता झगडामै बनाएको फिल्म के मुल्याङ्कन गर्लान् भन्ने प्रश्न उठ्छ।
(भोला अधिकारीसँगको कुराकानीमा आधारित)
असोज १३, २०८२ सोमबार १६:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।