सुदनलाई भावी प्रधानमन्त्रीको रूपमा ‘ब्रान्डिङ’ गर्दै ‘हामी नेपाल’को साझेदार अलजजिरा

सुदनलाई भावी प्रधानमन्त्रीको रूपमा ‘ब्रान्डिङ’ गर्दै ‘हामी नेपाल’को साझेदार अलजजिरा

काठमाडौं : ४८ घण्टाभित्रै सरकार ढाल्न सफल ‘जेन-जी’ आन्दोलनको नेतृत्वमा एकाएक फ्रन्टलाइनमा देखिएका सुदन गुरुङलाई कतारी मिडिया नेटवर्क अल जजिराले नेपालको भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ।

आन्दोलनको नेतृत्वदायी भूमिकामा नरहेका गुरुङसँगको विशेष अन्तर्वार्तामार्फत अल जजिराले उनलाई नेपालको सबैभन्दा प्रभावशाली व्यक्ति र देशको भविष्य निर्माताका रूपमा चित्रण गरेको हो।

गुरुङ अध्यक्ष रहेको संस्था ‘हामी नेपाल’ को आधिकारिक वेबसाइटमा अल जजिरालाई प्रमुख साझेदारको रूपमा उल्लेख गरिएको छ। आफ्नै साझेदार संस्थाको प्रमुखलाई एउटा सार्वभौम देशको भावी कार्यकारी प्रमुखको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा अलजजिराले प्रस्तुत गरिरहेको छ।

अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रममा दिएको अन्तर्वार्तामा गुरुङले आफूलाई परिस्थितिले राजनीतिमा धकेलेको दाबी गरेका छन्। ‘हामी पछि हट्दैनौँ, अन्त्यसम्म लड्नेछौँ’, उनले भनेका छन्।

आन्दोलनमा मारिएका युवाहरूको रगत लागेको भन्दै आफ्नो भेस्ट देखाउँदै उनले न्याय नपाएसम्म त्यो नधुने दाबी गरे। जब पत्रकारले ‘के तपाईं व्यक्तिगत रूपमा चुनाव लड्दै हुनुहुन्छ?’ भनेर सोध्दा उनले दृढतापूर्वक ‘हो’ भन्ने जवाफ दिए।

‘यो एउटा आन्दोलन हो। मैले लड्नैपर्छ। मसँग अरू विकल्प छैन। मैले मेरो देश बचाउनैपर्छ’, उनले भने।

भ्रष्टाचारविरुद्ध उठेको जेन-जी आन्दोलनको नेतृत्व शुरूमा सबल गौतम, पुरुषोत्तम यादव र मिराज ढुंगानाजस्ता युवाले गरेका थिए। तर, जब आन्दोलन सफल भयो र सरकार ढल्यो, यी युवाहरू छायाँमा परे र एकाएक ३८ वर्षीय सुदन गुरुङ ‘नायक’ को रूपमा देखा परे। तर उमेेर र नेतृत्व दुुबैमा उनको भुुमिका छैन।

उमेरले जेन-जी पुस्तामा नपर्ने गुरुङले कसरी आन्दोलनको नेतृत्व आफ्नो हातमा लिए भन्ने विषय आफैंमा रहस्यमय छ।

उनी पानी बाँड्ने स्वयंसेवकको रूपमा आन्दोलनमा प्रवेश गरेका थिए। तर, ‘हामी नेपाल’ को ज्याकेट लगाएका कमाण्डो शैलीका स्वयंसेवकहरूले प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप छ। पाँच किलोमिटरसम्म काम गर्ने वाकिटकी सेटको प्रयोगले पनि यो आन्दोलन स्वतःस्फूर्त मात्र नभई सुनियोजित भएको आरोपलाई बल दिन्छ।

सुदन गुरुङको पृष्ठभूमि पनि उत्तिकै विवादास्पद छ। उनको संस्था ‘हामी नेपाल’ को वेबसाइटमै भारतमा रहेको ‘फ्रि तिब्बत’ अभियानसँग जोडिएको ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ सँग सहकार्य रहेको उल्लेख छ। नेपालको ‘एक चीन नीति’ विपरीत चीन विरोधी गतिविधिमा संलग्न संस्थासँगको सहकार्यले उनको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।

यति मात्र होइन, उनको संस्थाले नेपालका बदनाम बिचौलिया दीपक भट्ट र शंकर समूहका सुलभ तथा साहिल अग्रवालजस्ता विवादित व्यापारिक घरानालाई सहयोगीको रूपमा सम्मान गरेको थियो।

‘हामी नेपाल’ को ५४ करोडभन्दा बढीको आर्थिक कारोबार अपारदर्शी रहेको र दाताको विवरण गोप्य राखिएको छ। उनको टर्की, चीन र थाइल्यान्डको लामो र शंकास्पद भ्रमणले पनि उनीमाथि खुफिया एजेन्सीहरूको नजर परेको छ।

अन्तर्वार्तामा गुरुङले पुराना राजनीतिक दल र तिनका नेताहरूलाई आगामी निर्वाचनमा भाग लिनबाट रोक्ने चेतावनी दिएका छन्। ‘उनीहरूले गरेका अपराधको छानबिन गरी जेल हालिनेछ,’ उनले भने, ‘यदि जनताले फेरि उनीहरूलाई नै जिताए भने हामी पुनः सडकमा उत्रनेछौं।’

एकातिर अन्तरिम सरकार र भावी निर्वाचनको कुरा गर्ने, अर्कोतिर जनताको मतलाई अस्वीकार गर्ने उनको दोहोरो चरित्रले उनी लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको देखिन्छ।

अल जजिराले आफ्नै साझेदार संस्थाका प्रमुखलाई नेपालको भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नु सामान्य घटना होइन। गुरुङको विवादास्पद अन्तर्राष्ट्रिय सम्बन्ध, अपारदर्शी आर्थिक कारोबार र अधिनायकवादी सोचले यो आन्दोलनको पछाडि ठूलो भूराजनीतिक स्वार्थ लुकेको आशंकालाई समेत बलियो बनाएको छ।

यो अन्तर्वार्ताले सुदनलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास मात्र हो वा नेपालको भविष्यमाथि नै प्रभाव पार्ने ठूलो रणनीतिको हिस्सा हो, त्यो भने समयले नै बताउला! 

असोज १३, २०८२ सोमबार १०:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।