प्रायोजक ‘नासा सेक्युरिटिज’सँग कुनै विवाद छैन : सन्दीप लामिछाने

प्रायोजक ‘नासा सेक्युरिटिज’सँग कुनै विवाद छैन : सन्दीप लामिछाने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो जर्सी प्रायोजक ‘नासा सेक्युरिटिज’ सँग कुनै पनि प्रकारको विवाद नरहेको स्पष्ट पारेका छन्।

एक सञ्चारमाध्यमले प्रायोजकको लोगो लगाउन अस्वीकार गरेको भन्दै समाचार प्रकाशन गरेपछि सन्दीपले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गर्दै प्रमाणसहित तथ्य प्रस्तुत गर्न चुनौती दिएका छन्।

सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लामिछानेले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताए। उनले आफूले अस्ट्रेलिया भ्रमणदेखि नेपालमा भएका खेलहरूसम्म निरन्तर ‘नासा सेक्युरिटिज’ को लोगो अंकित जर्सी लगाइरहेको तथ्य प्रस्तुत गरे।

आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘नासा सेक्युरिटिज लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।’

कान्तिपुर टेलिभिजनको अनलाइन संस्करणमा आइतबार प्रकाशित एक समाचारमा सन्दीपले प्रायोजकको लोगोका कारण खेल्न आनाकानी गरेको आशयको विषय उल्लेख थियो। सोही समाचारप्रति आक्रोशित हुँदै सन्दीपले प्रमाणबिना ‘हावामा’ समाचार नलेख्न आग्रह गरेका हुन्।

उनले नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो सम्बन्धलाई पनि व्यक्तिगत भन्दै त्यसलाई अनावश्यक रूपमा समाचारको विषय नबनाउन सुझाएका छन्।

सन्दीपको प्रतिक्रियापछि कान्तिपुर टेलिभिजनले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको छ। टेलिभिजनले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै समाचारमा उल्लेखित विषय आधिकारिक स्रोतबाट पुष्टि हुन नसकेको स्वीकार गरेको छ।

‘हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं’, कान्तिपुरले भनेको छ। कान्तिपुरले उक्त पुष्टि हुन नसकेको समाचारलाई आफ्नो वेबसाइटबाट हटाएको समेत जानकारी दिएको छ।

असोज १३, २०८२ सोमबार ०९:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।