काष्ठमण्डप नजिकै भीषण आगलागी हुँदा तीन घर र एक मन्दिरमा क्षति, नियन्त्रणको प्रयास जारी

काठमाडौं : काठमाडौंको विश्व सम्पदा क्षेत्रमा सूचीकृत काष्ठमण्डप नजिकै भीमसेनस्थानमा आज बिहानै भीषण आगलागी भएको छ।
कपडा गोदामबाट शुरू भएको आगो फैलिँदा तीनवटा घर र एक मन्दिरमा क्षति पुगेको छ। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।
जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार, काठमाडौं महानगरपालिका-२२ भीमसेनस्थानस्थित मोहन शाहको दुईतले घरमा रहेको कपडा गोदामबाट बिहान करिब ३:३० बजे आगो शुरू भएको हो।
गोदामबाट फैलिएको आगोले नजिकैका अन्य दुई घर र एउटा मन्दिरलाई समेत आफ्नो चपेटामा लिएको थियो।
‘आगोको ठूलो हिस्सा नियन्त्रणमा आइसकेको छ, तर केही स्थानमा अझै बलिरहेको छ। पूर्ण रूपमा निभाउने प्रयास जारी छ’, डीएसपी चन्दले जानकारी दिए।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली बिहानैदेखि खटिएको छ।
काठमाडौं र भक्तपुरबाट ल्याइएका ९ वटा दमकल र तीनवटा पानी ट्याङ्करको मद्दतले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आगो कपडा गोदामबाटै शुरू भएको देखिए पनि आगलागीको कारण भने अझै खुल्न सकेको छैन। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १३, २०८२ सोमबार ०९:१५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।