एक दशकको प्रतिक्षापछि बुटवल मेडिकल कलेजकाे पूर्वाधार निर्माण काम थालिँदै

एक दशकको प्रतिक्षापछि बुटवल मेडिकल कलेजकाे पूर्वाधार निर्माण काम थालिँदै

बुटवल : करिब एक दशक लामो प्रतीक्षा र अनेकौं प्रक्रियागत अड्चनहरूलाई पार गर्दै रुपन्देहीको तिलोत्तमामा प्रस्तावित बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य अन्ततः यसै आर्थिक वर्षदेखि शुरू हुने भएको छ।

सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’ को महत्वाकांक्षी योजना अन्तर्गत स्थापना हुन लागेको यो आयोजनाले गति लिन थालेसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ युगको शुरूवात हुने अपेक्षा गरिएको छ। आयोजना कार्यालयका अनुसार, निर्माणको पहिलो चरणको तयारी स्वरूप रुख कटानको प्रक्रिया अघि बढाइएको छ।

बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाका शाखा अधिकृत चुरामणि मरासिनीका अनुसार, चालु आर्थिक वर्षका लागि सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेटलाई प्रारम्भिक पूर्वाधार निर्माणमा केन्द्रित गरिनेछ।

‘हामीले यसै वर्षदेखि काम शुरू गर्ने गरी तयारी थालेका छौं,’ मरासिनीले भने, ’यो बजेटबाट आयोजनाले भोगाधिकार पाएको ५० बिघा क्षेत्रफलमा सिमाना पर्खाल (बाउन्ड्री वाल) लगाउने र एउटा प्रशासनिक भवन निर्माण गर्नेछौं।’

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार, निर्माण स्थलमा रहेका कुल ११ हजार २३० रुखहरू काट्नुपर्ने देखिएको छ। पहिलो चरणमा ८५४ वटा रुख छपान (चिन्हांकन) गर्ने कार्य सम्पन्न भइसकेको र कटानको अन्तिम आदेश आउनासाथ टेन्डर प्रक्रियामा जाने आयोजनाले जनाएको छ।

आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत घोषणा भएको यो राष्ट्रिय गौरवको आयोजनाले जग्गा प्राप्तिमा भएको ढिलाइका कारण लामो समयसम्म प्रगति गर्न सकेको थिएन।

मन्त्रिपरिषद्को २०७८ जेठ ३१ गतेको बैठकले तिलोत्तमा नगरपालिका-१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको जग्गा दिने निर्णय गरे पनि स्थानीय सामुदायिक वन उपभोक्ता समूहको असहमतिका कारण काम अघि बढ्न सकेको थिएन।

लामो संवाद र प्रयासपछि गत चैत २४ गते शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले मेडिकल कलेजका लागि ५० बिघा जग्गा उपलब्ध गराउने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि निर्माणको बाटो खुलेको हो।

‘जग्गा प्राप्ति नै हाम्रो मुख्य चुनौती थियो, त्यो समाधान भएसँगै कामले तीव्रता पाएको छ’, अधिकृत मरासिनीले भने।

यो मेडिकल कलेजको गुरुयोजना निकै महत्वाकांक्षी छ। डीपीआर अनुसार, कुल २०० बिघा क्षेत्रफलमा १,००० शय्याको अत्याधुनिक अस्पताल, कलेज भवन, डाक्टर तथा नर्सका लागि आवासीय क्वार्टर, विद्यार्थी होस्टल, प्राइमरी स्कुल, सामुदायिक हल, हेलिप्याड, बैंक, सपिङ कम्प्लेक्स र खेलकुदका लागि स्विमिङ पुलसहितका संरचना बनाउने लक्ष्य छ।

यद्यपि, हाल ५० बिघा जमिन मात्र प्राप्त भएकाले पहिलो चरणमा ६०० शय्याको अस्पताल निर्माण गर्ने गरी काम शुरू गरिनेछ। आयोजनाले भविष्यमा मुटु र क्यान्सर जस्ता विशिष्टीकृत उपचारका लागि छुट्टै अस्पताल बनाउने योजना समेत राखेको छ।

१९ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनाका लागि नियमित र पर्याप्त बजेट उपलब्ध भएमा ६ वर्षभित्र सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न हुने विश्वास गरिएको छ।

बुटवल मेडिकल कलेजको निर्माणले रुपन्देहीलाई देशकै प्रमुख ‘मेडिकल हब’ का रूपमा स्थापित गर्नेछ। हाल बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजना अन्तर्गत १,२०० शय्यामा स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ।

यसका साथै, निजी क्षेत्रबाट सञ्चालित युनिभर्सल मेडिकल कलेज (भैरहवा) र देवदह मेडिकल कलेजले पनि विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। जिल्लामा थप दुईवटा क्यान्सर अस्पताल निर्माणको प्रक्रियामा छन् भने दर्जनौं निजी अस्पताल सञ्चालनमा छन्।

यो सरकारी मेडिकल कलेज पूर्ण रूपमा सञ्चालनमा आएपछि गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ हुनेछ। यसले लुम्बिनी प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका छिमेकी जिल्ला र सीमावर्ती भारतीय नागरिकलाई समेत आकर्षित गर्नेछ।

पूर्ण सरकारी लगानीमा बन्ने भएकाले उपचार शुल्क सस्तो हुने र विशेषज्ञ सेवाका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।

असोज १३, २०८२ सोमबार ०८:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।