भारतले जित्यो एसिया कप तर पाकिस्तान क्रिकेटका अध्यक्षले होटल लिएर गए ट्रफी

भारतले जित्यो एसिया कप तर पाकिस्तान क्रिकेटका अध्यक्षले होटल लिएर गए ट्रफी

एजेन्सी : एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई हराएर उपाधि जित्यो। तर ट्रफी भने पाएन।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष मोहसिन नक्वीले विजेता टोली भारतलाई ट्रफी हस्तान्तरण गर्नुअघि नै मैदानबाट उठाएर होटल लगेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कडा आपत्ति जनाएको छ।

खेल सकिएपछि पुरस्कार वितरण समारोहको तयारी चलिरहेको थियो। भारतीय कप्तान सूर्यकुमार यादव र सम्पूर्ण टोली ट्रफी ग्रहण गर्नका लागि मञ्चमा पर्खिरहेका थिए।

तर, सबैलाई चकित पार्दै पीसीबी अध्यक्ष मोहसिन नक्वीले एक्कासी एसिया कपको ट्रफी उठाए र मैदानबाट बाहिरिएर सिधै टिम होटलतर्फ लागे।

यो दृश्यले भारतीय खेलाडी, पदाधिकारी र दर्शकहरू स्तब्ध बनेका थिए। विजेता टोलीलाई आधिकारिक रूपमा ट्रफी प्रदान गर्नुअघि आयोजक देशको क्रिकेट प्रमुखले यसरी ट्रफी लैजानुलाई खेलको गम्भीर अपमानका रूपमा लिइएको छ।

पीसीबी अध्यक्षको यो हर्कतपछि बीसीसीआई आगोबबूला भएको छ। बीसीसीआईका एक शीर्ष अधिकारीले भारतीय सञ्चारमाध्यमसँग भने, ‘यो एकदमै बचपनापूर्ण र अस्वीकार्य हर्कत हो। यसले एसिया कपजस्तो प्रतिष्ठित प्रतियोगिता, विजेता टोली र क्रिकेटको भावनाकै अपमान गरेको छ।’

अधिकारीले थपे, ‘हामीले यस विषयमा एसियाली क्रिकेट काउन्सिल (एसीसी) मा औपचारिक उजुरी दर्ता गरिसकेका छौं। यस्तो व्यवहार कुनै पनि हालतमा स्वीकार्य छैन र यसमा कडा कारबाही हुनुपर्छ।’

लामो विवाद र हस्तक्षेपपछि ट्रफी फिर्ता ल्याएर भारतीय टोलीलाई हस्तान्तरण गरिए पनि यस घटनाले खेलको उत्सवलाई फिक्का बनाएको थियो। यो घटनाले पहिलेदेखि नै तनावपूर्ण रहेको भारत-पाकिस्तान क्रिकेट सम्बन्धलाई थप बिगार्ने निश्चित छ।

अब एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यस विषयमा के कदम चाल्छ भन्ने कुरामा सबैको नजर टिकेको छ।

असोज १३, २०८२ सोमबार ०८:३५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।