एसिया कपको फाइनलमा पराजय भएपछि पाकिस्तानी कप्तानले भने- ‘उनीहरूले क्रिकेटको अपमान गरे’

एसिया कपको फाइनलमा पराजय भएपछि पाकिस्तानी कप्तानले भने- ‘उनीहरूले क्रिकेटको अपमान गरे’

काठमाडौं : एसिया कप २०२५ को फाइनलमा भारतसँग पराजित भएपछि पाकिस्तानी क्रिकेट टोलीका कप्तान सलमान अली आगाले पत्रकार सम्मेलनमा भारतीय टोलीमाथि गम्भीर आरोप लगाएका छन्।

उनले भारतीय खेलाडीले सार्वजनिक रूपमा हात नमिलाएर क्रिकेटकै अपमान गरेको दाबी गरेका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै आगाले भारतीय टोलीको व्यवहार निराशाजनक भएको बताए।

उनले भने, ‘उनीहरू (भारत) लाई लाग्छ कि हात नमिलाएर हाम्रो अपमान गरिरहेका छन्, तर होइन, उनीहरूले क्रिकेटको अपमान गरिरहेका छन्।’

उनले प्रतियोगिताको सुरुमा भएको पत्रकार सम्मेलनमा भारतीय पक्षले आफूसँग हात मिलाएको तर सार्वजनिक रूपमा र खेलको समयमा भने त्यसो नगरेको दाबी गरे। यद्यपि, उनले कुन खेलाडीले हात मिलाएका थिए भन्ने खुलाएनन्।

कप्तान आगाले भने, ‘जब हामी प्रतियोगिताको सुरुमा पत्रकार सम्मेलनमा थियौं, तब उनीहरूले मसँग हात मिलाएका थिए। रेफ्रीसँगको बैठकमा पनि ह्यान्डशेक भएको थियो। तर जब तपाईं दुनियाँको अगाडि आउनुहुन्छ, तब हात मिलाउनुहुन्न।’

उनले भारतीय खेलाडीहरूले कसैको निर्देशन पालना गरिरहेको हुन सक्ने संकेत गरे।

‘मलाई विश्वास छ कि उनीहरूलाई जे निर्देशन दिइएको छ, त्यसैको पालना गरिरहेका छन्,’ उनले भने, ‘प्रतियोगितामा जुन कुरा सुरु भएको छ, मलाई थाहा छैन यो कहाँ गएर रोकिन्छ।’

यसै क्रममा पाकिस्तानी कप्तान आगाले आफ्नो सम्पूर्ण टोलीले एसिया कप फाइनलको म्याच फि दान गर्ने घोषणासमेत गरेका छन्।

उनले उक्त रकम ‘भारतको हमलाबाट प्रभावित आम नागरिक र बालबालिका’ लाई प्रदान गरिने बताए।

असोज १३, २०८२ सोमबार ०८:२०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।