घट्यो भेडाच्याङ्ग्राको मूल्य

घट्यो भेडाच्याङ्ग्राको मूल्य

म्याग्दी : दशैं पर्वका लागि हिमाली जिल्ला मुस्ताङबाट बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य यस वर्ष घटेको छ।

गत वर्षको तुलनामा प्रतिगोटा मूल्य करिब  पाँच हजार रुपैयाँसम्म सस्तिएको व्यापारी तथा उपभोक्ताले बताएका छन्। जिउँदो भेडाच्याङ्ग्राको प्रतिकिलो मूल्यमा पनि ५० देखि एक सय रुपैयाँसम्म गिरावट आएको छ।

बेनीका उपभोक्ता भरत रकालले गत वर्ष ४० हजार रुपैयाँ तिरेको च्याङ्ग्रा यसपटक ५ हजारमै पाएको बताए।

‘मूल्य सस्तिएपछि लेकाली भेडाच्याङ्ग्राको मासु खाएर दशैं मनाउने मध्यमवर्गीय उपभोक्ताको रहर पूरा गर्न सहज भएको छ’, उनले भने।

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार, मुस्ताङका साथै डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट समेत च्याङ्ग्रा आउनु, मुस्ताङमा व्यावसायिक पालन बढ्नु र देशको असहज परिस्थितिका कारण खपत घट्ने डरले मूल्यमा कमी आएको हो।

श्रेष्ठको समूहले मात्रै पछिल्लो १० दिनमा मुस्ताङबाट २५ सय च्याङ्ग्रा काठमाडौं पुर्याएको छ। उनका अनुसार, गत वर्ष काठमाडौंमा प्रतिकिलो १३ सय रुपैयाँमा बिक्री भएको जिउँदो च्याङ्ग्रा यसपटक १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङका अनुसार यस वर्ष दशैंका लागि कुल १४ हजार ६६८ भेडाच्याङ्ग्रा बाहिरिएका छन्, जसबाट रु. ३५ करोडभन्दा बढीको कारोबार भएको छ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार, तीमध्ये ७,६६८ मुस्ताङका र ६,८६८ डोल्पा, मुगु र जुम्लाबाट ल्याइएका थिए। सबै चौपायाको स्वास्थ्य परीक्षण गरी बजार पठाउन अनुमति दिइएको उनले बताए। किसानले एउटा च्याङ्ग्रा अधिकतम ३५ हजार रुपैयाँ र भेडा २८ हजार रुपैयाँसम्ममा बिक्री गरेका छन्।

मुस्ताङी भेडाच्याङ्ग्राको सबैभन्दा ठूलो बजार पोखरा हो। यसबाहेक काठमाडौं, म्याग्दी, बागलुङ, पर्वत, चितवन र बुटवलमा पनि खपत उच्च हुने गर्छ। जडीबुटीयुक्त बुकीमा चरेका हुनाले हिमाली च्याङ्ग्राको मासु पोषिलो, स्वास्थ्यवर्द्धक र स्वादिलो मानिन्छ।

यद्यपि, च्याङ्ग्रापालक किसानका चुनौतीहरू पनि धेरै छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट जोगाउनु मुख्य चुनौती हो।

यसैगरी, जलवायु परिवर्तनका कारण कहिले पर्याप्त हिउँ नपरेर चरन क्षेत्र सुक्ने त कहिले अत्यधिक हिउँ परेर आहाराको अभावमा भेडाच्याङ्ग्रा मर्ने समस्याले किसानहरू पीडित छन्। उपल्लो मुस्ताङका अधिकांश कृषकको मुख्य आयस्रोत नै च्याङ्ग्रापालन हो।

असोज १३, २०८२ सोमबार ०७:४६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।