यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

कमजोर अवस्थामा रहेको मनसुनी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार, दिउँसो देशभरका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका भू-भागमा मौसम आंशिक बदली रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी इलाकाका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राती गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश पहाडी भू-भागमा मौसम साधारणतया बदली रहनेछ।

गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र खोलानालामा पानीको सतह बढ्न सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

असोज १३, २०८२ सोमबार ०७:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।