दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा ४० जनाको मृत्यु

दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा ४० जनाको मृत्यु

एजेन्सी : दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखर (विजय)को र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको ज्यान गएको छ। घटनापछि उनका तीन नजिकका सहयोगीविरुद्ध आपराधिक हत्या र लापरवाहीको मुद्दा दर्ता गरिएको भारतीय प्रहरीले जनाएको छ।

शनिबार तमिलनाडुको करुर जिल्लामा विजयलाई देख्न करिब २७ हजार मानिस भेला भएका थिए। अपेक्षा गरिएकोभन्दा झण्डै तीन गुणा बढी भीड आउँदा त्रास फैलियो र दुर्घटना भयो। अपर्याप्त प्रहरी, घण्टौँ लामो पर्खाइ र दर्शक चढेका रूखबाट केही व्यक्ति खसेपछि भगदड सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनमाथि मुद्दा दर्ता गरेको छ। वरिष्ठ प्रहरी अधिकारी एस. डेभिडसन देवसिरवथमका अनुसार अनुसन्धानले संलग्न सबैलाई पहिचान गर्नेछ।

वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको संख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन्। विजयले विज्ञप्ति जारी गर्दै पीडित परिवारप्रति दुःख व्यक्त गर्दै प्रत्येकलाई २० लाख रुपैयाँ (करिब २२ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा विजयले आतङ्क फैलिनुअघि समर्थकलाई पानीको बोतल बाँडिरहेको देखिन्छ। भीड अनियन्त्रित भएपछि उनले आफ्नो भाषण रोक्नु परेको थियो।

राज्य प्रहरी प्रमुख जी. वेङ्कटरमनका अनुसार भीड बिहान ११ बजेदेखि जम्मा हुन थालेको थियो, तर विजय साँझ ७ः४० मा मात्र कार्यक्रममा पुगेका थिए। “मानिसहरूलाई तातो घाममा खाना र पानीबिना लामो समय पर्खनु पर्यो,” उनले बताए। अनुमानित दश हजारको सट्टा झण्डै २७ हजार उपस्थित हुँदा अवस्था नियन्त्रणबाहिर गएको थियो।

बचेका १९ वर्षीय बी. कनिष्कले भने, “अचानक भीडले मलाई धकेल्यो, म बेहोस भएँ।” अन्य प्रत्यक्षदर्शीहरूले पनि कमजोर तयारी र प्रहरीको कमीले दुर्घटना बढाएको बताए।

भारतमा यस्ता दुर्घटनाको इतिहास छ। यसै वर्ष जनवरीमा उत्तर प्रदेशको धार्मिक मेलामा ३० जनाको मृत्यु भएको थियो भने गत वर्ष सोही राज्यमा हिन्दू प्रार्थना सभामा १२१ जनाको ज्यान गएको थियो। यही वर्ष जुन महिनामा बेङ्गलुरुमा भएको क्रिकेट उत्सवमा ११ जनाको मृत्यु भएको थियो।

विजयले २०२४ मा आफ्नै पार्टी स्थापना गरेका थिए। २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावलाई लक्षित गर्दै उनले आयोजना गर्ने प्रत्येक कार्यक्रममा ठूलो संख्यामा समर्थकहरू भेला हुने गरेका छन्।

असोज १२, २०८२ आइतबार २१:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।