‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने
File Photo

काठमाडौं : सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले वर्गीकरणपछि घाइतेलाई उचित राहत उपलब्ध गराइने बताए ।

निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएकाको पहिचान गृह मन्त्रालयमार्फत गरिनेछ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फलोअपका लागि अस्पताल तोक्नेछ। ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने र उपचारका लागि निःशुल्क आवतजावत सुविधा दिलाइने पनि सरकारले जनाएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले हटलाइन सेवा र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।

बैठकले मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म हालको राजमार्गसँग समानान्तर थप सडक निर्माणका लागि रेखाङ्कन स्वीकृत गरेको छ। नयाँ सडकको मापदण्ड ३० मिटर (दायाँबायाँ १५-१५ मिटर) हुने बताइएको छ।

यस्तै, आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई सहभागिताको स्वीकृति दिनुका साथै मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ।

असोज १२, २०८२ आइतबार १९:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।